सांस्कृतिक बिचौलियामाथि आक्रमण किन जरुरी ?

सांस्कृतिक बिचौलियामाथि आक्रमण किन जरुरी ?


  • डिल्लीराम अम्माई

मानवीय जीवनयात्रा सबैले बुझ्न, पढ्न र व्याख्या गर्न सक्ने त्यति सहज वा सरल विषय होइन । यो कहिल्यै सरल रेखाबाट हिँड्दैन । यसको उत्पत्ति र अन्त्यबारे सही अनुमान गर्न पनि सकिँदैन । इतिहासको समीक्षाबाट अमूर्त निष्कर्ष निकाल्न सकिएला, समाजविज्ञानको विगतको व्याख्या गर्न सकिएला । तर, मानवीय सभ्यताबारे भविष्यको चित्र कोर्ने कुरा कठिन कार्य हो । तर, वर्तमानका राजनीतिक खोलभित्र खेलिँदै गरेका छद्म खेलहरू हेरेर परिणामबारे हाम्रो मुलुक कता जाँदै छ थोरै आकलन गर्न सकिन्छ ।

सुकरातजस्ता दार्शनिकहरूले जीवनको बाटो उन्मुक्त, निर्भय र सहज बनाउन राज्यले भूमिका खेल्नुपर्छ भने । न्यायप्रणालीको शुद्धता, सामाजिक सहजताको लागि समानता र जनउत्तरदायी प्रतिनिधिको प्रजातान्त्रिक छनोटमा सुकरातले जोड दिए । उनले मानवीय सभ्यताको उत्तरदायी विकासमा अवरोध पुऱ्याउने सबै अन्धविश्वासलाई अस्वीकार गरे । उनले भविष्यमा मानव समाज यसरी जाँदा राम्रो हुन्छ भनेर एउटा अमूर्त चित्र कोरे । तर, उनको आदर्शवादी समाज विकास उनले व्याख्या गरेअनुसार नभए पनि उनले निकालेका सारहरू पश्चिमा सभ्यताको गोरेटो बनिरहे । समाज विकास आफ्नै गतिले चल्दै गयो । कालान्तरमा धेरै राज्य दास युगमा प्रवेश गरे । विभिन्न स्वार्थहरूबीच सम्झौता, सङ्घर्ष र रूपान्तरणको भौतिक नियमअनुसार समाजले राज्य, साम्राज्य र संघको आकार ग्रहण गर्दै गयो । पुराना राज्यका नक्सा भत्किए र नयाँ बने । पुन ती उदयमान राज्यहरू पनि भत्किए । नयाँ–नयाँ स्वरूपमा राज्यहरू जन्मिने र भत्किने क्रम निरन्तर जारी रहेको छ । यो कहिल्यै नरोकिने प्रक्रिया हो ।

समाज विज्ञानको विकासलाई भौतिक प्रगतिका तन्तुहरूले तीव्र रूपमा प्रभाव पार्दछ । त्यसमा ऐतिहासिक निष्कर्ष, अभौतिक सार, धार्मिक, सांस्कृतिक र स्थानीय मान्यताहरूको प्रभाव पनि त्यत्तिकै परेको हुन्छ । त्यसैले मानवीय जीवन–पद्धतिलाई बुझ्न राज्यले अङ्गीकार गरेको पद्धति, समाज बनोट, सामाजिक मान्याताहरू र भौगोलिक अवस्थालाई बुझ्नु अनिवार्य हुन्छ ।

‘समाज विकासमा आउने प्रमुख अवरोधक चुनौती वर्गीय विभेद हो, त्यस विभेदले मानिसलाई मानिसहरूबाट नै थिचोमिचो पार्दछ । तात्कालिक समाजको सन्तुलनलाई बिगार्ने र विद्रोहको आधारभूमि तयार गर्ने कारक मुख्यतया वर्गीय असन्तुलन हो । जसलाई सङ्घर्ष वा विद्रोहको माध्यमले विस्थापित गर्दै नयाँ समानतासहितको समाज स्थापना गर्न सकिन्छ ।’ यो धारणा दार्शनिक माक्र्सले हेगेल र फेउरबाखजस्ता दार्शनिकहरूबाट संश्लेषण गरे । उनले अभौतिक मनोविज्ञान र त्यसले पार्ने प्रभावलाई बेवास्ता गरे भन्ने केही समाजशास्त्रीहरूको तर्क रहेको छ । उनीहरूको तर्कअनुसार व्यक्तिगत स्वतन्त्रता समाज वा राज्यको अधीनस्त हुनुहुँदैन वा बनाइनुहुँदैन, बरु राज्य संरक्षक बन्नुपर्छ र जनतालाई कानुनी यन्त्रभित्र अलमल्याई रहनुपर्छ भन्ने नै हो ।

सांस्कृतिक पतनले देशलाई कसरी विघटन गर्छ यसतर्फको बहसलाई सांस्कृतिक साम्राज्यवादीहरू रुचाउँदैनन् । त्यस हिसाबले संस्कृतिलाई व्यक्तिको निजी अधिकारमा खुम्च्याएर सामाजिक वा राज्यको दायित्वबाट पन्छाउने सूत्र साम्राज्यवादीहरूले आश्रित देशहरूलाई बेच्दै आएका हुन् । तर, त्यो सूत्र उनीहरूले आफै प्रयोग गर्दैनन् । व्यक्तिगत स्वतन्त्रता मौलिक संस्कृतिसहित सामाजिक हितहरूको अधीनमा रहनुपर्छ वा व्यक्तिगत स्वतन्त्रताको परिधिमा राज्यले मौलिक संस्कृतिप्रति असंलग्न बनेर नीति निर्माण गर्नुपर्छ भन्ने द्वन्द्व नै आधुनिक मानव समाजको मुख्य द्वन्द्व हो भन्ने देखिन्छ ।

त्यो द्वन्द्वले पनि सामाज विकासलाई बहुआयामिक रूपमा प्रभावित पारिरहेको छ । तिनै विपरीत विचारहरूको द्वन्द्वले आधुनिक राजनीतिलाई दुई ध्रुवमा बाँडेको छ । जुन कुराले छद्म रूपमा मौलिकतालाई बचाउने वा मार्नेबारे निर्क्योल गर्दछ ।

त्यसप्रकारका सोचहरूबीचको सङ्घर्षले सामाज रूपान्तरणमा ठूलो प्रभाव पारे पनि भविष्यमा समाज कस्तो हुने भन्नेबारे निचोड दिन सकेको देखिँदैन । जसरी एउटा जीवनभरिको गतिबारे हामीले बुझ्न सकिँदैन । उसको जन्म, जीवनको आरोह–अवरोहबारे भविष्यवाणी गर्न सकिँदैन, त्यस्तै समाज विकासमा पनि धेरै आरोह-अवरोहहरू हुन्छन् । समाज विकासको अदृश्य गति हुन्छ । त्यसलाई प्रभावित बनाइरहने तन्तुहरू हुन्छन् । त्यसको सूक्ष्म अध्ययनबाट विगतका अनुभवबारे बताउन सकिए पनि भविष्यमा समाज कता जाँदै छ भनेर ठोक्न मुस्किल हुन्छ ।

भ्रष्टाचारीहरू सकिन्छन् र उनीहरूको राज्य पनि सकिन्छ भन्ने सरल भनाइ छ । तर, त्यसको अर्को पाटो पनि छ । भ्रष्ट मुलुक विद्रोह र विनाशतर्फ जाँदै गर्दा रूपान्तरणको आशालाई पनि बोकेर हिँडेको हुन्छ । त्यहाँ परिवर्तनको सम्भावनाका तन्तुहरू पनि समाहित हुन्छन् । देश बचाउने प्रतिरोधी शक्तिहरू पनि राष्ट्रियताको स्वास्थ्य बिग्रँदा सशक्त हुन्छन् । अतः त्यो अवस्थामा देशभक्तहरू सङ्गठित हुँदै प्रतिरोध युद्ध सञ्चालन गर्दछन् । अन्ततः राष्ट्रियता सशक्त मात्र होइन इतिहासमै सबैभन्दा शक्तिशाली बनेर उदाउँछ । संसारको इतिहास यस्तै छ । कुनै देशको अनन्त विकास वा विनाशको कल्पनालाई इतिहासका अनुभवहरूले गलत साबित गरिदिएका छन् ।

अब अलिकता नेपालतर्फ जाऊँ । नेपाली समाजको बहुआयामिक अध्ययन गर्न त्योभित्र पसेर छाम्नुपर्ने हुन्छ । हाम्रो देशको राष्ट्रियता अहिले सुगौली सन्धिपछिकै कमजोर अवस्थामा पुऱ्याइएको छ । यसका केही आन्तरिक र बाह्य कारणहरू छन् ।

गाउँ–शहरको प्रवृत्तिगत यथार्थ :

हाम्रो समाजको बनोट सहरमा एउटा फरक खालको अवस्थाबाट गुज्रिरहेको देखिन्छ भने गाउँमा नितान्त भिन्न प्रकारको छ । गाउँमा सामूहिकताको भावना हाबी रहेको पाइयो । त्यहाँ झैझगडा अत्यन्त न्यून हुन्छ । समाजको स्वाभिमान, विवेक, नैतिक मूल्यमान्यता, त्यहाँको पुरानो पुस्ताले हस्तान्तरण गरेका संस्कृति र चालचलनसँग जोडिएको देखिन्छ । ती मूल्यमान्यताप्रतिको विश्वास अगाध रहेको छ । अदृश्य सहकारिताको भावना छ । तर, सहरमा त्यसको विपरीत देखियो । शहरमा मौलिक संस्कृति समाप्तितर्फ गइरहेको छ । व्यक्तिवाद, बिचौलिया र ठग प्रवृत्ति त्यहाँको संस्कृति बन्ने क्रममा देखिन्छ । कृत्रिम सामूहिक सहभागिता त भट्टी र हलमा भइरहेको गोष्ठीमा मात्र देखिन्छ । कार्य पद्धतिमा एकले अर्कोलाई लुट्नु सभ्यताजस्तै भएको छ । आफन्त वा साथीले स्वार्थवश मात्रै अर्कोलाई खोज्ने हो ।

त्यसैले नेपाल अचेल शहरमा भेटिँदैन । त्यहाँ नेपाली गीत, बाँसुरी, मादल र सारङ्गी बज्छ वा बज्दैन थाहा हुन छाडेको छ । तैपनि मानिस शहरकै लागि मरिहत्ते गर्दै छ । विकसित समाजमा मान्छेले गाउँ रुचाउँछ, तर अविकसित मुलुकमा शहर । त्यसको प्रमुख कारण रोटी र अवसरको खोजी हो । मान्छे बाँच्न चाहन्छ किनकि मानिसलाई आफ्नो जीवन सबैभन्दा प्रिय हुन्छ ।

भिन्न पारिवारिक संरचनाबीचको मनोविज्ञान :

सामूहिक परिवारका सदस्यहरूको मनोदशा एकल परिवारको भन्दा बढी न्यायिक, संस्कृति प्रेमी, सहिष्णु, सामूहिकतामा विश्वासिलो र समुदायप्रति निष्ठावान हुन्छ । तर, एकल परिवार अपवादबाहेक ठीक त्यसको विपरीत । त्यसैले हुन सक्छ व्यक्तिबादी सोचभन्दा सामूहिक समाजवादी सोच उच्च हो र नेतृत्व विकासमा सामूहिक त्यागको सोच भएको व्यक्ति नेता हुनुपर्छ । राज्यको पद्धति सामूहिकतावादी र चरित्रवान हुनुपर्छ भन्ने राजनीतिक धार अहिले संसारमा हाबी छ । नेपालमा बीपी, पुष्पलालहरूको धार त्यही थियो । उनीहरूले गाउँमा मात्र सांस्कृतिक बिरासत किन देखे, सामूहिक भावना किन देखे ? त्यसको कारण खोज्न गाउँमै पुग्नु जरुरी हुन्छ ।

गाउँमा सामूहिक परिवारको सङ्घ विशाल हुन्छ । शहरमा भन्दा गाउँमा राष्ट्रियता बलियो छ, गाउँमा अदृश्य सहकारितासहितको बलियो देश छ भन्ने निचोडमा नपुगेको भए उनीहरू समाजवादी सिद्धान्त मुलुकका लागि हितकर छ भन्ने निचोडमा पुग्ने थिएनन् । तर, विगत २४ वर्षका राजनीतिक नेतृत्वहरूबाट शब्दमा सामूहिकता र सहकारितालाई उच्च प्राथमिकता दिइएकोजस्तो देखिए पनि संस्कृतिमाथिका चुनौतीको दीर्घकालीन असरबारे राज्य बेखबरजस्तै देखिएका छन् ।

आन्तरिक र बाह्य आक्रमण :

मानिसको मुलुकबाट विदेश र शहर पलायन क्रमशः तीव्र बनेको छ । उनीहरूले पनि जान–अञ्जानमा बाह्य संस्कृतिको अन्धानुकरण र आयात गरिरहेका छन् । त्यसको दीर्घकालिक असरबारे जनचेतना आवश्यक देखिन्छ । त्यस्तै आर्थिक लाभ र अवसर पाइने लोभको कारण धर्मान्तरण देशभरि मौलाइरहेको छ । क्रमशः मौलिक संस्कृतिमाथिको आन्तरिकसँगै बाह्य आक्रमण पनि तीव्र पारिएको छ । अखण्डित जातीय सहिष्णुतामा विष घोलिएको छ । खालि जमिन माफियाको कब्जामा पुऱ्याई टुक्र्याइँदै छ । जताततै मौलिकतातर्फ आक्रमण मात्र छ । संस्थागत रूपमा व्यक्तिगत लुट मौलाउँदो छ । राज्य निरीह छ । नेपाली मौलिक संस्कृतिमाथिको आक्रमण भनेको सावभौमसत्ताको विलयतर्फको यात्रा हो । देशभक्तहरू बेलैमा सजक हुनु जरुरी छ ।

सरकारले चाहे रोक्न सक्छ सांस्कृतिक अतिक्रमण ?

हाम्रो शहरकेन्द्रित भावनालाई भत्काउने भनेको राज्यले हो । राज्यले चाह्यो भने गाउँलाई सुविधासम्पन्न बनाउन सक्छ । जीविकोपार्जनको अवसरले परिपूर्ण बनाउन सक्छ । त्यसपछि मानिसको शहरकेन्द्रित सोचमा परिवर्तन आउन थाल्छ र गाउँबाट मानिसको पलायन रोकिन्छ । गाउँबाट मानवीय पलायनता रोकिनु भनेको बगेको संस्कृति र राष्ट्रियता रोकिनु हो । ऊ गाउँमै कर्मशील बन्दा गाउँ हराभरा हुन्छ । पाखामा हिजोका जस्तै मारुनी र देउडा घन्किन थाल्छन् । मलामीको अनिकाल पर्दैन । देश गाउँको सञ्जालमा नयाँ पुस्ताबाट जोडिन पुग्छ । उसले विदेशबाट आयात गरेका ‘झ्याप’ संस्कृतिका ¥यापका टुसाहरू निमोठिन थाल्छन् । त्यसपछि हाम्रो मौलिक संस्कृति बौरिन थाल्छ ।

अन्त्यमा, मानवीय पलायनता र पश्चिमा सांस्कृतिक आक्रमणले हाम्रो मौलिक संस्कृति, सामूहिक भावना, सामाजिक आस्था सबै सकिरहेको छ । त्यो भनेको मुलुकको विनाशतर्फको यात्रा हो । सबै मौलिकता सकिएको खोक्रो मानवले देश बचाउन सक्दैन । नैतिकता नभएको नेतृत्वले घरपरिवार बचाउन नसकेजस्तै संस्कृति बचाउन नसक्ने राज्यले स्वयम्लाई बचाउन पनि गाह्रो पर्छ । अतः राज्य वा सरकारले मानवीय जीवन, सामूहिक भावना, इतिहासको बिरासत र संस्कृतिमाथि कतै राज्यको नीति–निर्माणको तहबाट कसैलाई भाडामा लिएर नियोजित रूपमै प्रहार गर्न लगाइएको त छैन । सोच्नु जरुरी छ । अर्को विकल्प भनेको नागरिक तहबाट गरिने सांस्कृतिक जोगाउने आन्दोलन हो । सचेत नागरिकहरूले अब विदेशीको छारो खान पल्केका सत्ताका मालिक, धार्मिक, सांस्कृतिक बिचौलियाहरूलाई सशक्त खबरदारी गर्न ढिला गर्नुहुँदैन । त्यस्तै, नेपाली मौलिकतामाथि वैधानिक आक्रमण गर्न खेताला लगाउने आईएनजीओलाई देशबाट लखेट्न अझै पनि ढिला गर्नु भनेको मातृहत्यासरह हुनेछ ।