विश्व पौडी च्याम्पियनसिपमा गौरिका र सोफिया छनोट

विश्व पौडी च्याम्पियनसिपमा गौरिका र सोफिया छनोट


दक्षिण कोरियाको ग्वाङ्जु सहरमा आयोजना हुने १८औँ फिना विश्व पौडी च्याम्पियनसिपमा सहभागी हुने खेलाडी नेपाल पौडी सङ्घले छनोट गरेको छ ।

नेपाल पौडी सङ्घले विज्ञप्ति जारी गरी विश्व च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीको छनोट भएको जानकारी गराएको हो । उक्त च्याम्पियनसिपमा महिलातर्फ गौरिका सिंह र सोफिया गादेगाद शाह तथा पुरुषतर्फ शुभम श्रेष्ठ र एलेक्सजेन्डर गादेगाद शाहले सहभागिता जनाउनेछन् ।

आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत सम्पन्न २१औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा खेलाडीहरूले प्राप्त गरेको उत्कृष्ट समयका साथ फिना अङ्कलाई आधार मानी खेलाडी छनोट गरिएको पौडी सङ्घले जनाएको छ ।

उक्त प्रतियोगितामा खेलाडीहरूले प्राप्त गरेको समयलाई फिना अङ्कमा परिवर्तन गर्दा गौरिका सिंहले २०० मिटर फ्रिस्टायलमा २ मिनेट ९ः१९ सेकेन्ड समयका साथ ६२४ फिना अङ्क प्राप्त गर्न सफल भएकी थिइन् । यस्तै, सोफियाले सय मिटर फ्रिस्टायलमा १ मिनेट २ः५९ सेकेन्डका साथ ५१७ फिना अङ्क प्राप्त गर्दै विश्व च्यामिपयनसिपका लागि छनोट हुन सफल भएकी हुन् ।

महिलातर्फ वैकल्पिक खेलाडीका रूपमा टिसा शाक्य रहेकी छिन् । शाक्यले सय मिटर फ्रिस्टायलमा १ मिनेट ३ः५६ सेकेन्डका साथ ४९४ अङ्क प्राप्त गरेकी थिइन् । डुवाना लामाले ४०० मिटर फ्रिस्टायलमा ४ मिनेट ५०ः४७ सेकेन्डमा दूरी पार गर्दै ५२६ अङ्क प्राप्त गरे तापनि फिनाको नियमानुसार च्याम्पियनसिपमा सहभागी हुन १४ वर्ष उमेर पूरा हुनुपर्नेमा उनको उमेर १३ वर्ष ५ महिना १७ दिन मात्र भएकोले उमेरका आधारमा च्याम्पियनसिपमा सहभागी हुन नसकेको सङ्घले जनाएको छ ।

यस्तै, पुरुषतर्फ शुभमले १०० मिटर ब्रेस्ट स्ट्रोक्समा १ मिनेट ८ः१५ सेकेन्डमा साथ ५४३ फिना अङ्क र एलेक्सजेन्डरले सय मिटर फ्रिस्टायलमा ५५ः३८ सेकेन्डका साथ ५३४ फिना अङ्क हात पार्दै च्याम्पियनसिपका लागि छनोट भएका हुन् । वैकल्पिक खेलाडीको रूपमा रहेका शयद हम्जा शाहले सय मिटर ब्रेस्ट स्ट्रोकमा १ मिनेट ८ः८७ सेकेन्डका साथ ५२६ अङ्क हात पारेका थिए ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भएको २१औँ राष्ट्रिय पौडी प्रतियोगितामा सेनाको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेकी गौरिका सिंहले ६ राष्ट्रिय कीर्तिमानका साथै आफूले सहभागिता जनाएको सबै विधामा स्वर्ण हात पारेकी थिइन् ।