सुपर गोर्खेको वर्ल्ड प्रिमियर अष्ट्रेलियाको ब्रिजबेनबाट शुरू

सुपर गोर्खेको वर्ल्ड प्रिमियर अष्ट्रेलियाको ब्रिजबेनबाट शुरू


  • राजन घिमिरे, अष्ट्रेलिया

पछिल्लो पटक प्रवासमा नेपाली चलचित्रहरूले राम्रो बजार पाइरहेका छन् । पुराना या बासी चलचित्रहरू हेर्न बाध्य प्रवासी नेपालीहरूले नेपाल र नेपालवाहिर एकैदिन चलचित्र रिलिज हुन थालेपछि प्रवासको बसाईमा समेत नयाँ–नयाँ चलचित्र हेर्ने अवसर पाएका छन् ।

यस मामिलामा अष्ट्रेलिया अग्रपङ्क्तिमा परेको छ । नेपाल र अष्ट्रेलियामा एकसाथ चलचित्र रिलिज हुन थालेको लामो समय भइसकेको छ । तर चलचित्र ‘सुपर गोर्खे’ले भने नेपालबाट नभएर अष्ट्रेलियाबाट रिलिजको शुरूवात गर्ने भएको छ ।

चलचित्र सुपर गोर्खेको शनिबार (४ जेठ, १८ मे) अष्ट्रेलियाको ब्रिजबेनबाट प्रदर्शनको शुरूवात हुने भएको छ । ‘नेपालबाहिरबाट चलचित्र रिलिज गरेर नयाँ अभ्यास आरम्भ गर्न लागेका छौँ । प्रवासमा रहनुहुने नेपाली चलचित्रप्रेमीहरूका निम्ति यो नवीन कोसेली हुने छ’, चलचित्र सुपर गोर्खेका निर्देशक राज थापाले भने ।

चलचित्र सुपर गोर्खे शनिबार साँझ ६ बजे ब्रिजबेनको न्यू फाम सिनेमा हलमा प्रदर्शन हुने भएको छ । अष्ट्रेलियाको ब्रिजबेनबाट वर्ड प्रिमियरहुँदै आफनो यात्रा शुरू गर्न लागेको यो चलचित्र जुन १५ का दिन भने सिड्नीको हर्सभिलमा रहेको सिभिक थिएटरमा लाग्ने भएको छ । यसैगरी अष्ट्रेलियाका अन्य शहरहरूमा पनि हामी ‘सुपर गोर्खे’ लिएर आउने छौँ– निर्देशक थापाले जानकारी दिए ।

अष्ट्रेलियापछि यूरोप, हङकङ, जापान र अमेरिकामा रहेका नेपालीहरू माझ पनि यो चलचित्र पुग्ने बताइएको छ भने नेपालमा चाँडै एक विशेष कार्यक्रमबीच प्रदर्शन गर्ने तयारी भइरहेको जानकारी प्राप्त भएको छ ।

कमेडी एक्सन शैलीमा तैयार भएको यस चलचित्रमा ताराप्रकाश लिम्बुले संगीत दिएका छन् । इश्वरीसिंह ठकुरी, रामकृण्ण जैसवाल र सुदीपजंग थापाको लगानीमा तैयार भएको चलचित्र सुपर गोर्खेमा ऋचासिंह ठकुरी, सुरजसिंह ठकुरी, निराजन लुईंटेल, भूपेन्द्र क्षेत्री, राज थापा, कामना भूजेल, डेबिट बिष्ट, उत्तम बिष्ट लगायत कलाकारहरूको अभिनय हेर्न पाइने छ ।