डिल्लीबजार मालपोत कार्यालयका प्रमुखलाई पाँच हजार जरिवाना

डिल्लीबजार मालपोत कार्यालयका प्रमुखलाई पाँच हजार जरिवाना


डिल्लीबजार मालपोत कार्यालयका प्रमुख विश्व मरासिनीलाई उच्च अदालत पाटनले पाँच हजार जरिवाना गर्ने आदेश जारी गरेको छ ।

उच्च अदालतका न्यायाधीशद्वय मुहम्मद साविर हुसैन र टेकनारायण कुँवरको बुधबार (जेठ १)को इजलासले अदालतको आदेश पाँच पटकसम्म अवज्ञा गरेको हुँदा सो जरिवाना गरेको र सो जरिवाना अदालतमा आफै उपस्थित भएर सात दिनभित्र बुझाउन भनेको छ ।

मुद्दासम्बन्धी फाइल पटक-पटक पत्रचार गर्दासमेत उपलब्ध नगराएपछि अदालतको आदेश अटेर गरेर अवहेलना गरेको ठहर गर्दै जरिवाना गर्ने आदेश आदेशमा उल्लेख छ ।

आदेशमा पाँच वटा फाइल पटक-पटक माग गर्दासमेत मालपोत कार्यालयले बेवास्ता गरेको हुँदा न्याय प्रशासन ऐनअनुसार मालपोत कार्यालयका प्रमुख मरासिनीलाई जरिवाना गर्ने निर्णय उच्च अदालतले गरेको राससले जनाएको छ ।

अदालतले विसं २०७५ को जेठ ६, असार ८, साउन १९, माघ ३, चैत ३ गरी पाँच पटक अदालतको आदेश कार्यान्वयनका लागि पत्र लेखेको तर आदेश कार्यान्वयनामा ध्यान नदिएपछि कारवाही गर्ने निर्णय गरेको आदेशमा उल्लेख छ ।