सेनेटरी प्याड झिक्न स्मार्ट कार्ड

सेनेटरी प्याड झिक्न स्मार्ट कार्ड


डडेल्धुराको भागेश्वर गाउँपालिकाले स्मार्ट कार्ड प्रयोग गरी मेसिनबाट सेनेटरी प्याड झिक्ने मेसिन सञ्चालनमा ल्याएको छ । छात्रालाई सेनेटरी प्याड आवश्यक परेको बेला झिक्न सहज होस् भनेर स्मार्ट कार्ड वितरण गरिएको र यो सेवा जिल्लामै पहिलो भएको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले जानकारी दिइन् ।

ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा छात्राको महिनावारी स्वच्छता व्यवस्थापनका लागि सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको हो ।

भागेश्वर गाउँपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालय बगरकोटमा सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको जानकारी दिँदै भट्टले भनिन्– ‘अब छात्राले प्याड बोकिरहुनु पर्दैन, आवश्यक परेका बेला प्याड झिक्न स्मार्ट कार्ड उपलब्ध गराएका छौँ ।’

उनका अनुसार एक सय १० स्मार्ट कार्ड वितरण गरिएको छ । अब अन्य विद्यालयमा पनि सेनेटरी प्याड निकाल्न मिल्ने मेसिन राख्ने योजना छ । मेसिन राखे महिनावारीका कारण छात्रा तीन÷चार दिनसम्म विद्यालय नआउने, आइहाले पनि सेनेटरी प्याड प्रयोग गर्न नपाउने र कक्षा छाडेर बाहिर निस्कनुपर्ने बाध्यता अब हट्ने विद्यालयकी शिक्षिका भुवनेश्वरी शाहीले बताइन् ।

pic: rss