‘अबको बजेट समाजवादोन्मुख र समृद्धिको दिशातिर केन्द्रित हुनेछ’

‘अबको बजेट समाजवादोन्मुख र समृद्धिको दिशातिर केन्द्रित हुनेछ’


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का फ्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले घोषणा गरेको नीति तथा कार्यत्रम सामाजवादोन्मुख भएको बताएका छन् । नेपाल प्रेस सङ्गठन गोरखाले बुधबार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले गएको एक वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रुपमा लिएको भन्दै त्यो सफल भएको उल्लेख गरे ।

‘भर्खरै सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम समाजवादोन्मुख छ’, उनले भने, ‘अब आउने बजेट पनि समाजवादोन्मुख र समृद्धिको दिशातिर केन्द्रित भएको हुनेछ ।’ आउँदो जेठ १५ गते आउने बजेटले नेपाली जनताका तत्कालीन समस्या समाधान गर्ने प्रवक्ता श्रेष्ठले बताए । ‘सरकार पक्ष मात्र होइन, प्रतिपक्षलाई समेत समेट्ने गरी बजेट आउँछ’, उनले भने ।

उनले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकार समृद्ध नेपाल निर्माणको अभियानमा जुटेको बताउँदै निर्वाचनका बेला जनतासँग गरेका सबै खालका प्रतिबद्धता नयाँ बजेटमा समावेश गर्ने उल्लेख गरे । हामीले चुनावी घोषणापत्रमा गरेको प्रतिबद्धताअनुसार यो पटक वृद्धभत्ता बढाउने तयारी गरेका छौँ’, प्रवक्ता श्रेष्ठले भने, ‘बजेटका सैद्धान्तिक पक्षका बारेमा अर्थमन्त्रीले प्रिबजेट छलफलमा सबै कुरा प्रस्तुत गरिसक्नुभएको छ ।’

उनले सरकारले ल्याउने बजेट पार्टीको घोषणापत्रलाई केन्द्रविन्दुमा राखेर नै अगाडि बढाउने बताए ।