मिडिया काउन्सिल विधेयक लहडमा ल्याइएको होइन : प्रधानमन्त्री

मिडिया काउन्सिल विधेयक लहडमा ल्याइएको होइन : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक लहड, ख्यालख्याल र कसैको उक्साहटमा नल्याएको प्रष्ट पारे । भियतनाम र कम्बोडिया भ्रमण पुरा गरी बुधबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विदेयकको बचाउ गर्दै यस्तो बताएका हुन् ।

नेपाली समाजलाई सभ्य बनाउन विधेयक ल्याएको उनको भनाई थियो । प्रधानमन्त्री ओलीले संसद भन्दा अगाडि सरेर लोकतन्त्रको बद्नाम नगर्न सबैलाई सचेत पारेका छन् । सरकारले हालै राष्ट्रियसभामा दर्ता गराएको मिडिया काउन्सिल विधेयकबारे नेपाल पत्रकार महासङ्घले विरोध गर्दै आएको छ ।

संसद्मा हालै दर्ता भएका केही विधेयकमा उठेका प्रश्नबारे प्रधानमन्त्री ओलीले नेपाली समाजलाई आधुनिक, विकसित र सभ्य बनाउन समाजले कानूनको आफैँ परिपालना गर्ने अभ्यासमा जानुपर्नेमा जोड दिँदै उनले सरकारले अघि सारेका विधेयकमा संसद्मा छलफल हुनुपूर्व बाहिर फरक रुपमा व्याख्या वा दस्तावेज च्यात्ने कार्य ठीक नभएको जनाए । ती विधेयकलाई संसद्ले यथोचित रुपमा पारित गर्ने विश्वास उनले व्यक्त गरे । प्रधानमन्त्री ओलीले भने, ‘असभ्यतालाई बहादुरी ठान्नु समाजका लागि चुनौती हो । विधेयकहरुमा छलफल र परिमार्जन गर्न सकिन्छ । आवेग र उत्तेजनामा आउन आवश्यक छैन । सरकारले कुनै पनि कानून हचुवाका भरमा ल्याउँदैन । आक्रोशपूर्ण, निराधार र अनुचित कुराहरुले समाजलाई विकृतितर्फ लैजान्छ ।’ वर्तमान सरकार जननिर्वा्चित सरकार भएकाले यसलाई कोष्ठभित्रको ‘कम्युनिष्ट’ सरकार भनेर कुटिल व्याख्या नगर्न पनि उनले आग्रह गरे ।

साँसदका उत्ताउला र असंसदीय शब्द हटाइएको हो
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आफूले गैह्रसंसदीय शब्द प्रयोग नगरेको बरु अरुले प्रयोग गरेका उत्ताउला, अमर्या्दित र असंसदीय शब्द सभामुखले अभिलेखबाट हटाउनुभएको बताएका छन् । भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्केपछि आयोजित पत्रकार भेटघाटमा एक प्रश्नको उत्तर दिँदै उनले संसद् मर्यादित थलो भएकाले यसको मर्यादा राख्नुपर्छ भन्नेमा आफू स्पष्ट रहेको जनाउँदै भने, ‘विगतमा सामन्ती संस्था हुँदा त्यसको मर्यादा राख्नुपर्छ, त्यसको मर्यादा राख्नुपर्छ भन्नेहरु अहिले गणतन्त्रका आधारभूत संस्था र राज्यका सर्वाेच्च निकायमाथि अपमान हुँदा चुप लागेका छन् । मुलुकको सर्वाेच्च संस्थालाई अपमान गरेर बहादुरी ठान्ने प्रवृत्ति गणतन्त्रमाथिको हमला हो । यो अनाहक र अनुचित ढङ्गले आएको छ ।’
सरकारको आर्थिक वर्ष २०७६÷७७ को नीति कार्यक्रममाथि सांसद्ले उठाएको प्रश्नमाथि प्रतिनिधिसभामा जवाफ दिने क्रममा गत वैशाख २४ मा प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी सांसद्बीच दोहोरी चलेको थियो । सभामुख कृष्णबहादुर महराले वैशाख २७ गतेको बैठकमा सो क्रममा प्रयोग भएका सबै असंसदीय अभिव्यक्ति अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २० गते नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रयोग भएको ‘मेरो सरकार’ शब्दावलीप्रति कतिपय विपक्षी सांसद्ले व्यङ्ग्य गरेकामा प्रधानमन्त्री ओलीले त्यसो गरिनु अशोभनीय भएको बताएका थिए ।

भ्रमण उपलब्धिमूलक
स्वदेश फर्केपछि प्रधानमन्त्रीबाट ओलीबाट जारी विज्ञप्तिमा ती मुलुकबीचको द्विपक्षीय सम्बन्ध थप विस्तार भएको र नेपालको छवि अन्तरराष्ट्रिय जगत्मा थप उज्यालो भएको प्रधानमन्त्री ओलीले बताए । उनि समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा गत वैशाख २६ देखि ३० सम्म भियतनाम र त्यसपछि कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडिया भ्रमण सकी बुधबार स्वदेश फर्किएका हुन् । भियतनामसँग हवाई सम्झौता, आर्थिक, व्यापार र लगानी, पर्यटनका क्षेत्रमा सहकार्यका लागि गहन छलफल र सम्झौता भएको जानकारी उनले दिए । उनले आफूले भ्रमणका क्रममा गौतम बुद्धको जन्मस्थल र बौद्ध दर्शनको उद्गमस्थल नेपाल भएकाले लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन आयोजनाका लागि प्रस्ताव गरिएको पनि बताए ।