प्रचण्डविरुद्ध युरोपमा चासो

प्रचण्डविरुद्ध युरोपमा चासो


माओवादी हिंसात्मक युद्धका क्रममा बालसेनाका रूपमा प्रयोग भएका लेनिन विष्टलाई युरोपेली मुलुकहरूले उच्च महत्व दिएका छन् । नेदरल्यान्ड सरकारको विशेष निमन्त्रणामा युरोप पुगेका लेनिनसँग युरोपेली मुलुकका मन्त्री, सांसद तथा अन्तर्राष्ट्रिय महत्वका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले भेटेर छलफल गरेका छन् । उनीहरूले नेपालमा माओवादीले बालबालिकाहरूलाई युद्धमा कसरी दुरुपयोग गरेको थियो र अहिले तात्कालिक बालसेनाको अवस्था कस्तो छ भन्ने विषयमा गम्भीर चासो प्रकट गरेका छन् ।

जेठ २ गते लेनिनसँग जर्मनीको परराष्ट्र मन्त्रालयका एसिया मामिला प्रमुखले भेटी छलफल गर्ने कार्यक्रम तय भएको छ । जर्मनीका सांसदहरूसँग पनि लेनिनको छलफल हुने बुझिएको छ । वैशाख ३१ गते जर्मनीका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूसँग पनि लेनिनको छलफल भएको थियो । जेठ ३ गते नेदरल्यान्डको राजधानी आम्स्टर्डममा पूर्वन्यायाधीश तथा कानुन व्यवसायीहरूसँग लेनिनको छलफल हुने भएको छ ।

यसअघि लेनिनसँग नेदरल्यान्डकी राजकुमारी लाउरेन्टीनले सँगै खाना खाएर कुराकानी गरेकी थिइन् । उक्त कुराकानीका क्रममा राजकुमारीले नेपालको वस्तुस्थिति, माओवादीको क्रियाकलाप र युद्धको समयमा बालबालिकाको दुरुपयोगबारे चासो राखेकी थिइन् । त्यसअघि हेगस्थित अन्तर्राष्ट्रिय अपराध अदालतमा आयोजित कार्यक्रममा पनि लेनिन सहभागी भएका थिए । विभिन्न कलेजका विद्यार्थी तथा प्राध्यापकहरूसँगको छलफलका क्रममा लेनिनले नेपालको माओवादी हिंसात्मक आन्दोलन र बालसेनाको प्रयोगबारे जानकारी गराएका थिए । उनले स्वीटजरल्यान्डको जेनेभास्थित मानवअधिकार कार्यालयमा मानवअधिकारकर्मीसँग पनि भेटेका थिए र हिंसात्मक कालखण्डमा मानवअधिकार उल्लङ्घनका घटना र बालबालिकाको प्रयोगबारे जानकारी गराएका थिए ।

अहिलेसम्म लेनिनले प्रचण्ड र कुनै पनि माओवादी नेताविरुद्ध उजुरी दिएका छैनन् । तर, युरोपेली मुलुकमा लेनिनका कुराहरू जुन महत्वका साथ सुनिएको छ, त्यसले भविष्यमा युद्ध–अपराधमा संलग्नहरूलाई कारबाहीको दायरामा लैजाने पूर्ण आधार तयार गरिदिएको छ । लेनिनले अझै केही साता युरोपमा बिताउनेछन् । त्यस क्रममा के–कस्ता ‘समझदारी’हरू बन्ने हुन्, प्रतीक्षाको विषय बनेको छ ।