गोरुले हानेर मृत्यु

गोरुले हानेर मृत्यु


आफ्नै घरमा पालेको गोरुले हानेर झापाको मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार हिजो (मंगलबार) साँझ ६ बजे उक्त घटना भएको हो । चरनमा पगाहा लगाइएको बिउ गोरुलाई घरतर्फ ल्याउँदै गर्दा हडियाखोलाको किनारमा श्रेष्ठलाई गोरुले आक्रमण गरेको थियो । एकान्त स्थानमा गोरुले आक्रमण गरेका कारण तत्काल कसैले थाहा नपाउँदा घटनास्थलमै श्रेष्ठको मृत्यु भएको हो ।

अबेरसम्म छोरा नफर्किएपछि खोज्दै जाँदा मृतकका बुबाले मृत्यु भइसकेको अवस्थामा श्रेष्ठलाई फेला पारेका थिए । उनले मृत छोरालाई देखेपछि तत्काल गाउँले र प्रहरीलाई खबर गरेपछि घटनास्थलमा प्रहरीसहित स्थानीयवासी पुगेका थिए । मृतकको शव परीक्षणका लागि राति नै भद्रपुरस्थित मेची अञ्चल अस्पताल लगिएको छ ।