लघु चलचित्र प्रतियोगिता २०७५ सम्पन्न, सर्जकहरु पुरस्कृत

लघु चलचित्र प्रतियोगिता २०७५ सम्पन्न, सर्जकहरु पुरस्कृत


नेपाली सेनाद्वारा आयोजित ‘लघु चलचित्र प्रतियोगिता-२०७५’का उत्कृष्ट लघु चलचित्र तथा ‘सिपाही वार्षिक र द शिवपुरी जर्नल’का उत्कृष्ट लेखकहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डास्थित सभामण्डपमा आयोजित एक विशेष समारोहका बीच सम्मान प्रदान गर्नुभएको छ ।

प्रधानसेनापति थापाले ‘लघु चलचित्र प्रतियोगिता-२०७५’मा प्रथम हुने कृष्ण कुमार महतोको ‘अप्पनु, द्वितीय हुने गगन कुमार श्रेष्ठको ‘चाहना’र तृतीय हुने प्रद्युम्न मिश्रको ‘हातेमालो’लाई क्रमश रु. २,००,०००/-, रु. १,५०,०००/- र रु.१,००,०००/- नगद पुरस्कार र प्रशंसापत्र प्रदान गर्नुभएको थियो भने प्रतियोगितामा चौथो हुने महेश्वर सम्बाहाम्फे र गणेशजंग रावलको ‘त्याग’र पाचौं हुने शम्भु थापाको ‘साहसलाई सान्त्वना पुरस्कार स्वरुप जनही रु. २५,०००/- का दरले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभएको थियो । साथै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईबाट उक्त प्रतियोगिताका सम्पूर्ण प्रतियोगीहरुलाई जनही रु. २५,०००/-का साथै प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रमकै सिलसिलामा प्रधानसेनापति थापाले नेपाली सेनासम्बन्धी विभिन्न जानकारीमूलक मोबाईल एप्सको समेत शुभारम्भ गर्नुभयो ।

मंगलबार साँझ आयोजित सोही अवसरमा बलाधिकृत रथी शरदकुमार गिरीले सैनिक रेडियो कार्यक्रम प्रशारण गर्ने ६ वटा रेडियो तथा एफएम स्टेशनहरुलाई कदरपत्र प्रदान गर्नुको साथै नेपाली सेनाको वार्षिक प्रकाशन ‘सिपाही वार्षिक-२०७५’तथा ‘द शिवपुरी जर्नल–२०१९’मा प्रकाशित लेख रचनाहरु मध्ये सातजना लेखकलाई सान्त्वना पुरस्कार जनही रु. १०,०००/- प्रदान गर्नुभएको थियो भने प्रधानसेनापति थापाले “सिपाही वार्षिक-२०७५’तथा ‘द शिवपुरी जर्नल–२०१९’मा प्रकाशित लेख रचनाहरु मध्ये प्रथम हुने महा सेनानी रञ्जीत थापा, द्वितीय हुने प्रमुख सेनानी शिवराज पन्त र तृतीय हुने चिरञ्जीवी भण्डारीलाई क्रमशः रु. ५०,०००/-, रु. ३५,०००/- र रु।२५,०००/- नगद पुरस्कार र कदरपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रमको दौरानमा प्रधानसेनापति थापाले ‘नेपाली सेना सम्बन्धी बृहत् प्रदर्शनी २०७५’ मा प्रथम हुने टुमु कोतखाना डिपो, द्धितिय हुने प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालय र तृतिया हुने श्री राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयलगायत लघु चलचित्रका मुल्याङ्कन समिति, स्क्रिप्ट राईटर मुल्याङ्कन, सैनिक तथा गैर सैनिक तर्फका निर्णायक मण्डल र सिपाही वार्षिक तथा शिवपुरी जर्नलमा प्रकाशित लेख रचनाहरुको मुल्याङ्कनकर्ताहरुलाई प्रशंसापत्र समेत प्रदान गर्नुभयो ।

कार्यक्रमको आरम्भमा सिनेविज्ञ लोकेन्द्र पराजुली (कपिल)बाट लघु चलचित्र प्रतियोगितामा सहभागी लघु चलचित्र मुल्याङ्कन विधिको बारेमा प्रकाश पार्नुभएको थियो । प्रत्येक वर्ष नेपाली सेनाले आयोजना गर्दै आएको लघु चलचित्र प्रतियोगितामा विभिन्न विषयवस्तु समावेश गरी चलचित्र क्षेत्रका सफल व्यक्तित्व र विज्ञहरुद्वारा मुल्याङ्कन समिति गठन गरी उत्कृष्ट लघु चलचित्रहरुलाई पुरस्कृत गर्दै आइरहेको छ । यस किसिमको प्रतियोगिताले राष्ट्रप्रति जिम्मेवार र कर्तव्यनिष्ठ रही सन्देशमूलक लघु चलचित्रहरु उत्पादन गर्नमा उल्लेखनीय भूमिका खेल्ने एवं नेपाली चलचित्र क्षेत्रमा अग्रसर, स्थापित तथा नवप्रवेशी कलाकार र चलचित्र निर्माताहरुलाई चलचित्र निर्माण गर्न प्रोत्साहित गर्नुको साथै नेपालको कला, संस्कृति र पहिचानलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाइएको छ ।