दुई जुडो खेलाडी प्रतिबन्धित

दुई जुडो खेलाडी प्रतिबन्धित


नेपाल जुडो संघले जुडो खेलाडी फुपुलामु खत्री र प्रशिक्षक रमेश मगरलाई प्रतिबन्ध लगाएको छ । नेपाल जुडो संघको ०७५ फागुन १० गते बसेको बैठकले खत्री र ०७६ वैशाख २० गते बसेको बैठकले मगरलाई कारवाही गरेको संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी दिएका छन् ।

संघले जारी गरेको विज्ञप्तिमा आइओसी सोलिडाइरिटी कार्यक्रमअन्तर्गत प्रशिक्षणको निम्ति जापानमा रहेकी जुडो खेलाडी फुपुलामु खत्री समयावधि अगावै जापानको कुनै पनि निकायलाई सूचना नगरी बीचैमा प्रशिक्षण छोडेर स्वदेश फर्केको उल्लेख गरेको छ ।

त्यस्तै कार्यक्रम अवधिभर जापानमा प्रशिक्षणमा रहेको बेलाको रिपोर्टको आधार र जापान ओलम्पिक कमिटीले उक्त कार्यक्रम बन्द गरेको पत्र र संघको स्वीकृति उद्देश्य र हितविपरीत कार्य गरेकोले खत्रीलाई टोकियो ओलम्पिक २०२० सम्मको लागि प्रतिबन्ध लगाएको छ । सो अवधिसम्म खत्रीले जुडोसम्बन्धी कुनै कार्यक्रममा सहभागिता जनाउन नपाउने पनि जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी आइजेएफ एकेडेमी लेबल १ को ११ हप्ते सैद्धान्तिक परीक्षामा सहभागी भई उत्तीर्ण भएका प्रशिक्षक रमेश मगर व्यवहारिक परीक्षामा सहभागी हुन सन् २०१९ मा हंगेरी प्रस्थान गरेका थिए । तर मगर उक्त परिक्षामा सहभागि नभई विदेश पलायन भएपछि संघले जुडो खेलको प्रतिष्ठामा राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा आँच पुगेको भन्दै मगरलाई १०वर्षे प्रतिबन्ध लगाएको विज्ञप्तीमा जनाइएको छ ।

खत्रीले १२औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण र मगरले काश्य जितेका थिए ।