दाजुले ल्याए ‘टाँकीका फूलहरू’

दाजुले ल्याए ‘टाँकीका फूलहरू’


करिव दुई दशकदेखि हङकङलाई कर्मथलो बनाएर साहित्य सिर्जना गर्दै आएका सङ्खुवासभाका स्रष्टा दाजु गुरुङ कथा–सङ्ग्रह ‘टाँकीका फूलहरू’ लिएर आएका छन् ।

आफ्नै गृहजिल्लाको एक क्याम्पसमा प्राध्यापन गर्दागर्दै हङकङ पुगेका स्रष्टा गुरुङ उत्तिकै राम्रा कविता पनि लेख्छन् । डायास्पोरिक स्वाद मिसिएका उनका कथाहरूको सङ्ग्रह ‘टाँकीका फूलहरू’ एक महिनाभित्रै तेस्रो संस्करण आएको छ । संभवतः डायास्पोराबाट प्रकाशित कृतिमध्ये यो पहिलो कृति हो, जो एक महिनाभित्रै तेस्रो संस्करण आउन सफल भएको छ ।

पुस्तकमा हङकङेली नेपालीका सुख–दुःख, अनुभव र भोगाइ समेटिएका आरम्भ, मेरो छिमेकी र रोक्सी, हराएको मान्छे, मोनिका, बिर्सिएको साँझ, मिलेनियम, ब्याज, मुन्ना चौधरी, सतासी मामा, सुनाखरी ओइलाएपछि, चोइ–साम, मङ्की हिल, मौइसी, सरी, मर्निङ वाल्क, बाटो बिराएको मान्छे गरी १७ वटा कथा समाविष्ट छन् ।

कथामा उनले नेपालीले हङकङमा पुगेर त्यहाँको अत्याधुनिक समाजमा गरेको सङ्घर्ष र मानसिक उत्तारचढाव एवम् मनोविज्ञानलाई मिहिन ढङ्गले बुनेका छन् । उनका कथामा मौलिक स्वाद पाइन्छ । भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको पुस्तकको मूल्य २ सय ५० रुपैयाँ छ ।