१३औँ सागको प्रतीक चिह्न र मस्कट सार्वजनिक

१३औँ सागको प्रतीक चिह्न र मस्कट सार्वजनिक


आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को प्रतीक चिह्न लोगो सार्वजनिक गरिएको छ । उक्त प्रतीक चिह्न युवा तथा खेलकुद मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । प्रतीक चिह्नको युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) अनावरण गरेका हुन् ।

प्रस्तुत प्रतीक चिह्नमा राखिएको परेवाको आकृति एवं त्यसमा प्रयुक्त रङले शान्ति दर्शाउने र त्यसको पृष्ठभूमिमा रहेको सोही रङको रेखाले द्वैध बोकेको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताए । जसले स्वच्छन्न रूपमा उँभोतर्फ उडिरहेको परेवाको पखेटा र नेपालको प्रतिनिधित्व गराउने निश्चल हिमाललाई सम्बोधन गरेको श्रेष्ठले बताए ।

त्यस्तै देब्रेतर्फ राखिएको प्वाँखाकृतिले परेवारूपी आकृतिलाई माथितिर उड्ने गति प्रदान गरेको र प्वाँखरूपी साता आकृतिले सात सदस्य राष्ट्रको प्रतिनिधित्व गरेको, सात प्वाँखले रंगशालाको ट्र्याक, त्यसमा प्रत्युक्त रङले सम्बन्धित राष्ट्रको झन्डा प्रतिनिधित्व गर्ने श्रेष्ठले बताए ।

त्यस्तै प्रतीक चिह्नमा राखिएका अक्षर र अंकले सागको १३औँ संस्करण, सागको पूर्ण नाम, वर्ष र स्थान जनाउँछ । समिष्ट रूपमा यस प्रतीक चिह्नले सार्क राष्ट्रबीच आपसी एकता, भाइचारा र स्वतन्त्र रूपमा उच्च लक्ष्य प्राप्तिका लागि चाहना आदि दर्शाउने कुरा कलाकार रमेश खनालले बताएको श्रेष्ठले जानकारी गराए ।

त्यस्तै, सो कार्यक्रममा १३औँ सागको मस्कट ‘कृष्णसार’को पनि सार्वजनिक गरिएको थियो । नेपालको सुदूरपश्चिमा पाइने कृष्णसारलाई विश्वमै दुर्लभ जन्तुको रूपमा चिनिन्छ । यही कुरालाई आत्मसात् गर्दै कृष्णसारलाई १३औँको मस्कट बनाइएको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले १३औँ साग आयोजनासम्बन्धी महत्वपूर्ण कुराबारे पत्रकारहरूलाई जानकारी गराएका थिए ।