अफगानिस्तानमा दिनदहाडै महिला पत्रकारको हत्या

अफगानिस्तानमा दिनदहाडै महिला पत्रकारको हत्या


अफगानिस्तानका एकजना चर्चित महिला पत्रकार तथा राजनीतिक सल्लाहकार मिना मङ्गलको हत्या भएको छ । उनको गोली हानी हत्या गरिएको एएफपीले जनाएको छ ।

अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले यस हत्याको कडा शब्दमा निन्दा गर्दै हत्यारालाई कारबाहीको माग गरेका छन् ।

विगतमा टेलिभिजन प्रस्तोता रहेकी मिनालाई राजधानी काबुलमा शनिबार दिउँसो गोली हानी हत्या गरिएको बताइएको छ । आन्तरिक मामिला मन्त्रालयले अफगान संसद्को सांस्कृतिक मामिला आयोगको सल्लाहकारका रूपमा कार्यरत रहेकै बेलामा मङ्गललाई शनिबार गोली हानिएको थियो ।

अफगानिस्तानमा महिला अधिकारका क्षेत्रमा कार्यरत संघ संस्था, सर्वोच्च अदालत, महिलाविरुद्धका हिंसासम्बन्धी आयोग र नागरिक समाजका प्रतिनिधिहरुले यस हत्याबारे गम्भीर रुपमा अनुसन्धान गर्न माग गरेका छन् ।

अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले उनका हत्यारालाई पक्राउ गरी कानूनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अफगान प्रहरीले अनुसन्धान थालेको बताएको छ, तर उनको हत्यामा संलग्न को हुन् भन्ने बारेमा भने अझै प्रस्ट भइसकेको छैन ।