भारतमा छैटौँ चरणको मतदान जारी

भारतमा छैटौँ चरणको मतदान जारी


भारतमा भइरहेको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज (आइतबार) छैटौँ चरणको मतदान भइरहेको छ ।

आइतबार ५९ सिटका लागि भइरहेको निर्वाचनमा ७ सय ९७ जना उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ । यसअघि सन् २०१४ को लोकसभा निर्वाचनमा यी ५९ सिटमध्ये भारतीय जनता पार्टीले ४४ ठाउँमा जित हासिल गरेको थियो ।

यस चरणमा उत्तर प्रदेशका १४, हरियाणाका दश, मध्यप्रदेश, बिहार र पश्चिम बंगालका आठ–आठ, नयाँदिल्लीका सात र झारखण्डका चार निर्वाचन क्षेत्रमा मतदान भइरहेको हो । आजको निर्वाचनमा केन्द्रीय मन्त्री मेनका गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, कांग्रेस नेता दिग्विजय सिंह र भारतीय जनता पार्टी (भाजपा)का प्रज्ञा सिंह ठाकुरलगायतका नेता पनि चुनावी मैदानमा रहेका छन् ।

भारतमा गत अप्रिल ११ देखि यसपटकको लोकसभा निर्वाचन भइरहेको छ । सात चरणमा हुने केन्द्रीय निर्वाचनको अन्तिम चरण यही मे १९ मा सम्पन्न हुनेछ । यसअघि अप्रिल १८ मा दोस्रो चरणको, अप्रिल २३ मा तेस्रो चरणको, अप्रिल २९ मा चौथो चरणको र यही मे ६ तारिखका दिन पाँचौँ चरणको निर्वाचन भएको छ ।

पाँचौँ चरणको निर्वाचनमा सात राज्यका ५१ स्थानका लागि मतदान भएको थियो । त्यस चरणमा उत्तर प्रदेशबाट गृहमन्त्री राजनाथ सिंह, भारतीय राष्ट्रिय कंग्रेसकी नेत्री सोनिया गान्धी, कंग्रेस अध्यक्ष राहुल गान्धी तथा मन्त्री स्मृति इरानी उम्मेदवार बनेका थिए ।

यसअघि सन् २०१४ को चुनावमा यी क्षेत्रका कुल ५१ स्थानमध्ये भाजपाले ४० स्थान जितेको थियो भने कंगे्रसले दुई स्थान मात्र जितेको थियो । कंग्रेसले रायबरेली र अमेठीमा मात्र विजय हासिल गरेको थियो ।

भारतमा आगामी मे १९ तारिखका सातौँ तथा अन्तिम चरणको निर्वाचन हुनेछ । चुनाव सम्पन्न भएको चार दिनपछि अर्थात् आगामी मे २३ मा मतगणना हुनेछ ।