राष्ट्रिय फुलकन्ट्याक्ट करातेमा सनी च्याम्पियन

राष्ट्रिय फुलकन्ट्याक्ट करातेमा सनी च्याम्पियन


नेपाल आर्मीका सनीसिंह सुनार राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष खुला तौलसमूहमा च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको फाइनलमा सनीले आर्मीका विकास गुरुङलाई पराजित गरे । केन्द्रीय डोजोका महेश भुजेल तेस्रो भए । पहिलो हुनेले ३० हजार, दोस्रोले १५ हजार र तेस्रोले ७ हजार ५ सय नगद पुरस्कार जिते ।

नेपाल क्योकुसिन कराते डो संघ बज्रद्वारा आयोजित प्रतियोगिताको महिला खुलामा आर्मीकी मन्जु विकले फाइनलमा आर्मीकै शान्ति थापा मगरलाई हराउँदै स्वर्ण जितिन् । लुम्बिनीकी सिर्जना थापा मगर तेस्रो भइन् ।

महिला ५५ केजीमुनि आर्मीकी अनुपा नेपाली पहिलो भइन् । फाइनलमा अनुपामाले केन्द्रीय डोजोकी झलकुमारी महतोलाई पाखा लगाइन् । भकुण्डेबेसीकी प्रीति तामाङ तेस्रो स्थानमा रहिन् । महिलाको दुवै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार पाए । दुईदिने प्रतियोगितामा ६३ खेलाडीले विभिन्न ३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।