एकताको सन्देश दिन समाजवादी पार्टीले मुख्य शहरमा आमसभा गर्ने

एकताको सन्देश दिन समाजवादी पार्टीले मुख्य शहरमा आमसभा गर्ने


नवगठित समाजवादी पार्टीले एकताको सन्देश दिन सातवटै प्रदेशका मुख्य शहरमा आमसभा गर्ने भएको छ ।

पार्टी एकताको सन्देशका साथै अगुवा कार्यकर्तालाई अभिमुखीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार विराटनगर, पोखरा, जनकपुर वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढीमा गरिने कार्यक्रमलाई पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले सम्बोधन गर्ने गरी कार्यक्रम तय गरिएको छ ।

कार्यक्रम तालिकाअनुसार आगामी जेठ ११ गते विराटनगर, १२ गते जनकपुर, १३ गते वीरगञ्ज, १७ गते भैरहवा, १८ गते नेपालगञ्ज, १९ गते सुर्खेत, २१ गते धनगढी र २५ गते पोखरामा सम्बोधन गर्ने कार्यक्रम छ । काठमाडौँमा भने पार्टी एकीकरणको दिनलाई नै आधार मानिने सहअध्यक्ष श्रेष्ठले बताए ।

पार्टी एकीकरणपछि भएको पहिलो पदाधिकारी बैठकले काठमाडौँसहित देशका आठ शहरमा कार्यक्रम गर्ने निर्णय गरेको थियो । यही वैशाख २३ गते सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच पार्टी एकीकरण भई नयाँ समाजवादी पार्टी घोषणा गरिएको थियो ।

सहअध्यक्ष श्रेष्ठले प्रदेश र जिल्ला तहमा जनसङ्गठन एकीकरणलाई प्रभावकारी रुपमा अघि बढाइने बताए । समाजवादी पार्टीको प्रदेश नं ६ र ७ बाहेक सबै प्रदेशमा सङगठन रहेको पनि उनले जानकरी दिए । समाजवादी पार्टीका १९ सांसद छन् ।

राजपासँग वार्ता पहल

समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सँग पार्टी एकीकरणका लागि पहल थालेको छ । पार्टीका सहअध्यक्ष श्रेष्ठको संयोजकत्वमा गठित पाँच सदस्यीय वार्ता टोलीले आवश्यक छलफल शुरु गरेको सो पार्टीले जनाएको छ ।

राजपासहित विचार र सिद्धान्त मिल्ने दल एवं सङ्गठनलाई एकताका लागि अपिल गरिएको संयोजक श्रेष्ठले उल्लेख गरे । वार्ता समितिमा पर्शुराम खापुङ, नवराज सुवेदी, डम्बर खतिवडा र रामसहाय यादव सदस्य रहेका छन् ।