१३ औं साग प्रतियोगिताको तयारीमा सरकार जुटिसक्यो : मन्त्री विश्वकर्मा

१३ औं साग प्रतियोगिताको तयारीमा सरकार जुटिसक्यो : मन्त्री विश्वकर्मा


युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले १३ औं सागको तयारीमा सरकार जुटिरहेको स्पष्ट पारेका छन् । आगामी डिसेम्बर १ देखि १० तारिखसम्म हुने उक्त प्रतियोगिता भव्य रुपमा आयोजना र सफल रुपमा सम्पन्न गर्नेगरि सरकार तयारीमा जुटिरहेको मन्त्री विश्वकर्माले विश्वास दिलाए । मन्त्री विश्वकर्माले अब साग प्रतियोगितको मितिमा कुनै द्धिविधा नभएको पनि स्पष्ट पारे ।

मन्त्री विश्वकर्माले सरकारको आर्थिक वर्ष २०७६/७७ सालको नीति तथा कार्यक्रममा पनि सन् २०१९ भित्रै अन्तर्राष्ट्रिय महत्वको १३ औं साग प्रतियोगिता आयोजना गर्ने कुरा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधनको क्रममा भनिसकेको र कार्यक्रम पनि पारित भैसकेको जनाए । केहीदिन अघिमात्रै आफ्नै अध्यक्षतामा उक्त प्रतियोगिता तयारी तथा व्यवस्थापन समिति गठन भएको उनले जानकारी दिए । उनले भने,‘हिजो बसेको समितिको बैठकले महत्वपूर्ण निर्णय गरेको छ । अब हामीले छिट्टै लोगो र मस्कट सार्वजनिक गर्छौं ।’ त्यतिमात्रै नभए उक्त प्रतियोगितामा सहभागी राष्ट्रहरुलाई औपचारिक रुपमै आमन्त्रण गर्ने पनि निर्णय भएको उनले जनाए ।

मन्त्री विश्वकर्माले १३ औं साग आफूहरुको लागि गौरवको विषय पनि भएकोले भव्यताका साथ सम्पन्न गर्नेतर्फ तयारीमा जुटिसकेको बताए । उनले भने,‘हामीले तेस्रो पटक सागको आयोजना गर्दैछौं । यो प्रतियोगिताको विगतलाई हेर्दापनि हाम्रो गर्विलो इतिहास छ । १९९९ मा नेपालले दोस्रो स्थान हाँसिल गरेको थियो । १८ औं एशियन गेममा पनि नेपालले ३३ औं स्थान हासिल गरेको थियो । नेपालले २० वर्षपछि रजतपदक हाँसिल गरेका थियो ।’

प्रतियोगितमा नेपालले आफ्नो इतिहास कायम गर्नुपर्ने अभिभारा
मन्त्री विश्वकर्माले सिमित स्रोत र साधनको बावजुदपनि नेपालले खेलकुद क्षेत्रमा प्रगति गरिरहेको स्पष्ट पारे । उनले भने,‘हाम्रो उत्साहजनक र गौरव गर्नसक्ने इतिहास छ । र, अझै गौरव गर्नलायकको अवस्था बनिरहेको छ ।’ १३ औं साग प्रतियोगितमा नेपालले आफ्नो इतिहास कायम र रक्षा गर्ने अभिभारा आफूहरुसँग रहेको पनि मन्त्रीले विश्वकर्माले सुनाए । उनले यो प्रतियोगितमा धेरैभन्दा धेरै पदक जित्ने आफूहरुको लक्ष्य र विश्वास रहेको पनि दाबी गरे । उनले भने,‘हामी उच्च मनोबल र ठूलो लक्ष्य राखेर अघि बढिरहेको छ ।’ त्यस्तै, तयारी तथा व्यवस्थापन समितिले राष्ट्रिय टिम घोषणा गर्नेदेखि लिएर खेलाडी छनौट गर्नेपनि उनले जनाए । उनले भने,‘खेलाडी छनौट गरिसकेपछि हामी बन्द शिविरमा राखेर आवश्यक प्रशिक्षण दिन्छौं । जेठसम्म सबै काम सम्पन्न गरिसक्छौं ।’ प्रतियोगितामा २७ वटा खेलको आयोजना गरिने पनि उनले स्पष्ट पारे ।

पूर्वाधार निर्माणका काम तिव्र गतिमा
त्यस्तै, प्रतियोगितालाई लक्षित गरेर पूर्वाधार निर्माणका काम तिव्र गतिमा भैरहेको पनि उनले जनाए । उनले भने,‘भुकम्पपछि भत्किएको दशरथ रंगशालाको पूर्ननिर्माणको काम पनि तिव्र गतिमा भैरहेको छ । अब अन्तिम चरणमा पुगेको छ । सातदोबाटो पौडी पोखरीको पनि निर्माण कार्य सम्पन्न भैसकेको छ । सातदोवाटोकै तेक्वाक्दो र कराँतेको हलपनि निर्माण भैसकेको छ ।’ पोखरा रंगशाला निर्माण तिव्र गतिमा भैरहेको पनि उनले सुनाए । असार मसान्तसम्म सबै संरचनाको निर्माण कार्य सम्पन्न भैसक्ने मन्त्री विश्वकर्माको दाबी छ ।

मन्त्री विश्वकर्माले साग प्रतियोगिता आयोजना तथा सञ्चालनसम्बन्धी कार्यविधिपनि आउने हप्ता मन्त्रिपरिषद बैठकमा पेश हुने जनाए । उनले भने,‘कार्यविधि पेश भएपछि हामी मसिनो ढंगले तयारीमा लाग्छौं । आन्तरिक प्रतियोगिता सञ्चालन गर्नपन िआधुनिक रंगशाला निर्माण गर्नुपर्ने भएकोले सोही अनुसार आफूहरु निर्माण प्रक्रियामा लागिरहेको पनि मन्त्री विश्वकर्माले जनाए । उनले भने,‘अहिले हामीले पूर्वाधारको अभाव र महशुस गरेका छौं ।’

७ वटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको आधुनिक रंगशाला बनाउने
काठमाडौं उपत्यकाभित्र खेलकुद भौतिक संरचना बनाउनको लागि जग्गा प्राप्तिको प्रक्रिया समेत सरकारले सुरु गरिसकेको उनको भनाई छ । त्यस्तै, ७ वटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको आधुनिक रंगशाला बनाउने र ७५३ वटै स्थानीय निकायमा एउटा एउटा खेलग्राम बनाउने पनि उनले जनाए । त्यसको लागि आगामी बजेटमै सबै कुराको उचित व्यवस्था गरिने पनि उनले स्पष्ट पारे ।

त्यस्तै, उनले भएका खेलकुद संरचनाको स्तरोन्नती तथा मर्मतसम्भार गर्नेपनि बताए । हालै सम्पन्न आँठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पनि आफूहरु गम्भिर समिक्षा गरिसकेको र सो सँगै नवौं प्रतियोगिताको तयारीमा जुटिकसकेको उनले जनाए । साग प्रतियोगितामा कति नेपाली खेलाडी सहभागी हुन्छन् भन्ने कुरा निर्धारण भैनसकेको उनले स्पष्ट पारे ।