यस्तो कथा म लेख्न सक्दिनँ

यस्तो कथा म लेख्न सक्दिनँ


  • बबिता बस्नेत

तिम्रो कथा सेक्सी भएन,’ पुल्चोकस्थित राष्ट्रसंघ भवनअघिल्तिरको रेस्टुरेन्टको टेबुलमा पेनड्राइभ राख्दै उसले भन्यो ।

‘दुःखको कथा कहाँ त्यस्तो हुन्छ त ?’ आफूसामुन्नेको कुर्सीमा बस्न इशारा गर्दै उसले भनी ।

‘सुख कसलाई छ र ? तिमी–हामी जसलाई सुखी ठानि रा’छौँ नि तिनीहरू हामीभन्दा दुःखी छन् । हीराको फुलीका आसपास आँसुले भरिएका आँखा, ब्रान्डेड कपडाबीच थाकेको शरीर या दुखेको मन, जिन्दगीका भोगाइहरू अनेक हुन सक्छन्, ती सबैलाई समेटेर तिमी सेक्सी कथा लेख्न सक्छ्यौ, आकर्षक, पढुँ–पढुँ लाग्ने…’ भन्दै उसले टेबुलमा आइपुगेको तातो कफीमा चिनी राखेर निकैबेर चलाइरह्यो ।

जीवनमा अनेक किसिमका मान्छे भेटिन्छन् । शहरको चर्चित ठूलै बैंकको जागिरे ऊ धेरै किताब पढ्ने मानिसमध्ये एक हो । विशेषगरी कथामा उसलाई रुचि छ । साथीहरूसँगकै भेटघाटमा उनीहरूको परिचय भएको थियो । उसले लेखेका कथाहरूको चर्चा गर्दागर्दै उनीहरू एक–अर्काका राम्रा साथी भएका थिए । कतिपय मानिस केटा र केटीको ‘फ्रेन्डसीप’मा त्यति विश्वास गर्दैनन् । तर, उनीहरू भने अहिलेसम्म टिकिरहेकै छन् ।

‘साँच्ची… केटीहरू केटाका बारेमा के कुरा गर्छन् हँ ?’ कुरैकुरामा उसले भन्यो ।

‘जे–जे गरे पनि तिमीहरूजस्तो शरीरको कुरा गर्दैनन्, कुन केटी अगाडि आउँदै गर्दा राम्रो र कुन केटी पछाडि जाँदै गर्दा राम्रो भनेर विश्लेषण गर्दैनन्,’ अर्को टेबुलमा देखिएको एक परिचितलाई हाईको इशारा गर्दै उसले भनी, ‘बोलीचाली, आफ्नोपनको आभाष, केयरिङजस्ता कुराले केटीहरूको जीवनमा ठूलो अर्थ राख्छ ।’

एक हातमा मेनु राखेर वेटरलाई आफूतर्फ आउन संकेत गर्दै प्रशान्तले भन्यो, ‘छोडिदेऊ त्यस्ता कुरा, हामीलाई पनि थाहा छ, राम्री देखिएकी छ्यौ भनेर कतिबेला भन्ला भनेर प्रसंशा ढुकेर बस्छन् केटीहरू ।’

‘यता आऊ, तिमी यसको कथा लेख,’ मोबाइलमा कसैको फोटो खोज्दै उसले भन्यो । उसको मोबाइलमा फोटो हेर्न कुर्सीबाट उठ्दै गर्दा पल्लो टेबुलमा रहेको मानिसले सिगरेटको धुँवा उडाउँदै आफ्नो साथीसँग भनेको सुनियो, ‘संसारमा चुरोट र रक्सी नहुँदो हो त धेरै मानिसले आत्महत्या गर्ने थिए भनेर कतै पढेको थिएँ, मलाई हिजोआज त्यो कुरा साँच्चीकै हो कि जस्तो लाग्छ ।’

‘सुन्यौ यो मान्छेको कुरा ?’ मोबाइलबाट ध्यान अन्त खिच्दै उसले भन्यो, ‘हेर यो मान्छे ३३ लाखको गाडी चढेर हिँड्छ, अघि बाहिर सडकमा गाडी पार्क गर्दै गरेको बेला मैले देखेको थिएँ । उसलाई अहिले लागिरहेको छ कि चुरोट नभएको भए शायद उसले आत्महत्या गर्ने थियो, अनि तिमी कसलाई सुखी भन्छ्यौ ? हेर शून्यता, अरूले देख्ने र आफूले भोग्नेबीचको दूरी जीवनमा निकै ठूलो हुन्छ जुन तिमीले पनि बुझेकै छ्यौ । लेऊ यो फोटो हेर…’ भन्दै उसले मोबाइल हातमा राखिदियो ।

मोबाइलमा तिलचामले कपाल र कालोकालो अनुहारको त्यो अधबैंसे मानिसलाई देखेपछि उसका हातखुट्टा गलेझैँ भए । मंसिरको अन्तिम हप्ताको चिसो काठमाडौंमा उसलाई चिटचिट पसिना आएझैँ भयो ।

‘अहिले ऊ कहाँ छ ?’ उसले सोधी ।

‘ऊ को हो भनेर सोध न…कहाँ छ भन्ने त पछिको कुरा..’ उसले भन्यो ।

‘सरी…को हो ऊ ?’

‘कुनै बेला यो मान्छेका एकैपल्ट तीनजना गर्लफ्रेन्ड हुन्थे, बाबुआमाको एक्लो छोरो, पैसा प्रसस्त थियो, तीनवटा विवाह भए, तर अहिले ऊ एक्लै छ ।’

‘लागूपदार्थ दुव्र्यसनी होला…’, आफूलाई छुपाउने कोसिस गर्दै उसले सहजतापूर्वक भनिदिई ।

‘होइन, जाँड–रक्सी, चुरोट–बिँडी केही पनि खाँदैन यसले ।’

यो आमलोग्नेमान्छेको कथा होइन भन्दै प्रशान्तले भन्यो, ‘ऊ र म सँगै पढेका हौँ, केही समय हामीले सँगै काम पनि ग¥यौँ । उसको पहिलो विवाह एक अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने समाजशास्त्रमा पीएचडी गरेकी युवतीसँग भएको थियो । ती डा.सा’ब तीन महिनाजति पनि सँगै बसिनन् । त्यसपछि उसका प्रेमका शृंखलाहरू शुरु भए । नर्स, पत्रकार, वकिल, इन्जिनियर, सरकारी कर्मचारी, शिक्षक…ओहो…कुरै नगरूँ उसका पे्रमिकाहरू…एकपछि अर्को ‘कोभन्दा को कम’का केटीहरूसँग उसको सम्बन्ध भयो । अचम्म त के भने जो–जो केटीहरू उसको संगतमा आए ती सबै नै कुनै न कुनै पेसा–व्यवसायसँग जोडिएका थिए । जीवनमा केटीलाई भ्रम दिने र नजिक्याउने काम कति सजिलो कुरा रहेछ भन्ने पनि मैले उसबाटै थाहा पाएको हुँ । एकपटक हामी यही ठाउँमा यसैगरी कफी खाएर बसेका थियौँ, ऊ त्यो (इशारा गर्दै) टेबुलमा दुईजना केटीहरू केही खाँदै थिए । उसलाई तीमध्ये एउटी केटी मन पऱ्यो, म यसलाई पट्याइदिऊँ भन्यो, केटी असाध्यै भलाद्मी देखिन्थी, मैले सीधै यसलाई चाहिँ सक्दैनस् भनिदिएँ । हामीले बाजी राख्यौँ, त्यसको तीन दिनपछि यही ठाउँमा ‘ऊ मान्यता, इन्जिनियर हुन्, मेरी साथी’ भन्दै चिनाउन ल्यायो । केटी दङ्ग थिई, भलाद्मी परेकी… यसो मुख छोपेर हाँस्ने, मलाई कस्तो नरमाइलो लाग्यो ।’

धेरै केटीहरू हेरेर होला दोस्रो विवाह ठीकै केटीसँग भयो, व्यवहार कस्तो थियो थाहा भएन, तर अनुहार राम्रो थिएन । दुई–चार महिना संसारै पाएँझैँ गरेर त्यही केटीलाई मात्र लिएर हिँड्यो । तर, ऊ पनि एक वर्षभन्दा बढी बसिन । तेस्री श्रीमतीले आत्महत्या गरी, कारण थाहा भएन, माइतीले हत्या भयो भनेर मुद्दा हालेका थिए, तर खासै केही भएन । ‘कारण नखुलेका त्यस्ता गुमनाम आत्महत्या त यो मुलुकमा कति स्वास्नीमान्छेहरूले गरे गरे’ प्रशान्त बोल्दै गर्दा उसको मनले भनिरहेको थियो ।

टेबुलमा आइपुगेको खानेकुरा खान इशारा गर्दै उसले भन्यो, एक दिन अकस्मात् उसले फोन ग¥यो र घरमा बोलायो । म घरमा पुग्दा बाहिर कोही थिएन । सरासर कोठाभित्र गएँ, कुनामा उभिएर हात समाइरहेको उसको हत्केलामाथिको नाडीबाट भलभली रगत बगिरहेको थियो । के गरेको ? प्रश्न नसकिँदै उसले भन्यो, अब मलाई जिन्दगी पुग्यो प्रशान्त, म बाँच्न चाहन्नँ । पछिल्ली श्रीमतीले आत्महत्या गरेपछि फैलाएको फ्रस्ट्रेसनले डिप्रेसनको रूप लिइसकेको रहेछ । त्यसअघिको भेटमा डा. उपाशनाको कुरा गर्दै उसले भनेको थियो, मैले त उसलाई तिमी कसैसँग सम्पर्क राखेर एउटा बच्चा जन्माऊ, हामी उसलाई सन्तानका रूपमा हुर्काऔँ, तिमी क्षणिक रूपमा जोसँग खुसी हुन्छ्यौ जाऊ तर मलाई नछोडसम्म भनेको थिएँ । वास्तवमा ऊ किन त्यति धेरै केटी फेर्दै हिँड्थ्यो भन्ने कुरा मैले पनि त्यस दिन पहिलोपल्ट थाहा पाएको थिएँ । जीवनमा अदृश्य अभावको असन्तुष्टिपूर्ण अनुभूतिलाई उसले अरूले हेर्दा एउटा इश्र्यालाग्दो परिवेशमा बदल्न खोजिरहेको हुन्थ्यो । उसको जिन्दगीमा छाएको दीर्घकालीन असन्तुष्टिको परिणामस्वरूप धेरै युवतीले जीवनमा कहिल्यै नसोचेको धोखा महसुस गर्नुपऱ्यो जुन उसले अपनाएको गलत बाटो थियो । दोस्री श्रीमतीबारे थाहा भएन, तर तेस्रीलाई उसैले मानसिक यातना दियो । ऊ एउटा फाइनान्स कम्पनीमा काम गर्थी, काम परेको बेला अबेलासम्म पनि बस्नुपथ्र्यो । ऊमाथि अनेक शङ्का–उपशङ्काका साथ गालीगलौज गरेर आफ्नो शारीरिक कमजोरीलाई ढाकछोप गर्ने कोसिस गथ्र्यो ऊ । मलाई केही चाहिँदैन तिम्रो माया भए पुग्छ, मलाई यसो नगर भन्दै ऊ रुन्थी भनेर आत्महत्यापछि छिमेकीहरूले सुनाएका थिए ।

त्यसबीचमा पल्लो टेबुलमा दुईपटक मानिसहरू फेरिइसकेका थिए । अबचाहिँ कालो कफी खाऊँ– लामो सास फेर्दै शून्यताले कफी मगाई । प्रशान्तको कुराले उसको पूरै शरीर चिसो भएको थियो र हातका औँलाहरू थरथर काँपिरहेका थिए । आँखावरिपरि उही तिलचामले आकृतिले ठाउँ लिइरहेको थियो । सम्झिई, उसले औँलाले खेलाउँदा ती कपाल कालै थिए । अहिले आमअनुहार लागेको त्यो आकृति कुनै बेला उसका लागि सबैभन्दा राम्रो उसको जीवनमा अकस्मातै आइपुगेको राजकुमारझैँ लागेको थियो । उसलाई ऊ यति धेरै माया गर्थी कि उसले पढेका स्कुल, कलेज, उनीहरू हिँडेका बाटाहरू, आफन्त र नाताहरू सबै नै उसलाई आफ्नोझैँ लाग्थे । वृद्धावस्थामा दाँत झर्दा या कपाल फुलेर सेतै हुँदा कस्तो देखिएला भनेर दुवैजनाले ऐना हेर्दै कुरा गर्दा ऊबाहेक अरूसँगै जीवन बिताउने काम त के कल्पनासम्म पनि उसले गर्ला जस्तो शून्यतालाई लागेको थिएन । एक दिन बाहिर असाध्यै हुरी–बताससहितको पानी परिरहेको थियो । अनायसै आएको आँधीबाट बच्न ऊ आफूले आफूलाई भन्दा बढी माया गरेको सोही मान्छेकहाँ ओत लाग्न पुगेकी थिई । जोमाथि उसलाई जीवनमा कहिल्यै नभएको भरोसा थियो । केही क्षणको ढकढकाइपछि खुलेको ढोकाबाट उसको ओछ्यानमा जे–जस्तो दृश्य देखियो त्यसको सामना कसरी गरी भन्ने कुरा अहिले उसलाई सम्झदा मात्र पनि जिउ सिरिङ्ग हुन्छ । शहरमा नयाँझैँ लाग्ने एउटी केटीसँग बडो आत्मीय भावका साथ बसेको थियो ऊ । केही क्षणपछि बाहिर हुरी रोकियो, तर सोही दिनदेखि उसको मनभित्र फैलिएको आँधी भने कायमै थियो । सिनेमामा झैँ घरी न घरी आँखा वरिपरि आइरहने त्यो दृश्य आँखाबाट हटाउन अहिलेसम्म पनि उसले सकिरहेकी थिइनँ ।

केटीको मामिलामा धोकेवाज आफ्नो एउटा साथीको मानवीय पक्षलाई समेटेर कथा लेखिदिए हुन्थ्यो भन्ने प्रशान्तको चाहनालाई पूरा गर्न सक्छु जस्तो उसलाई लागेन । ‘यो त प्लेन स्टोरी हो बुझ्यौ, यसभित्रका मसलाहरू प्रसस्त छन्,’ अलिअलि मुस्कुराउँदै उसले भन्यो । मनमनमा लाग्यो, त्यो मसलाभित्रको एउटा पाटो कुनै दिन म आफैँ पनि थिएँ भनेर तिमीलाई कसरी बताऊँ ? उसको बारेमा अझ बढी सुन्नु नपरोस् भनेर उसले भनी– प्रशान्त भयो अब यो मान्छेको बारेमा धेरै कुरा नगरौँ । यस्ता मान्छेका बारेमा म तिमीले सोचेजस्तो सेक्सी कथा लेख्न सक्दिनँ ।

[email protected]