बुलबुलका लागि स्वस्तिमा सिड्नीमा

बुलबुलका लागि स्वस्तिमा सिड्नीमा


  • राजन घिमिरे, अष्ट्रेलिया

नेपालपछि नेपाली चलचित्रको राम्रो बजार मानिएको मुलुक हो अष्ट्रेलिया । त्यसो त अष्ट्रेलियाका विभिन्न शहरमा रहेका नेपालीहरूले नेपाली चलचित्र हेर्न निकै चासो र महत्व दर्शाउँदै आएका छन् । अष्ट्रेलियाका चलेका शहरहरूमा नेपाली चलचित्रको प्रदर्शनले प्रभाव जमाइरहेको समयमा अष्ट्रेलियामा रहेका युवाहरू नेपाली चलचित्रको प्रदर्शनका निम्ति नयाँ शहर खोज्न पनि सफल भएका छन् ।

‘सिड्नीबाट ११७ किलोमिटर टाढा रहेको न्यू कासल भन्ने शहरमा पनि नेपाली चलचित्रको पहुँच पुग्ने भएको छु, चलचित्र बुलबुललाई यो शहरमा प्रस्तुत गरेको बाबा एजुकेशन कन्सल्टेन्सी र आरकेएस अष्ट्रेलियाका रविन्द्रकुमार शर्माले जानकारी दिए, ‘हामीले नेपाली चलचित्रलाई सिमीत शहर मात्र होइन, नयाँनयाँ बजार खोज्नुपर्ने समय आएको छ ।’

सिड्नीमा भएको शोमा दर्शकहरूको मन जितिसकेपछि चलचित्र बुलबुलको न्यू कासलमा शो गर्न लागिएको हो । यो शोमा सहभागी हुनका लागि चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्का शुक्रबार (१० मे) सिड्नी आइपुगेकी छिन् । शनिबार न्यू कासलमा हुने शो सकिएपछि अभिनेत्री स्वस्तिमा आइतबार सिड्नीको हर्सभिलमा रहेको सिभिक थिएटरमा इनरिज ऐजुकेसन कन्सल्टेन्सीले प्रस्तुत गर्ने शोमा सहभागी हुने जानकारी चलचित्रकर्मी मनोज अधिकारीले दिए ।

‘यसपटक हामीले न्यू कासलमा नेपाली चलचित्र चलाएर नेपाली सिनेमाको नयां बजार खोज्न थालेको छौँ । यसमा सफल भयौँ भने समग्र नेपाली सिनेमा क्षेत्रको लागि राम्रो हुन्छ’, अधिकारीले थपे ।