कमनवेल्थ बैंकको जागिर छोडेर मिस नेपालको ताज !

कमनवेल्थ बैंकको जागिर छोडेर मिस नेपालको ताज !


  • राजन घिमिरे, अष्ट्रेलिया

स्वदेशको कुनै उपाधि जित्न स्वदेशमै बसिरहनु पर्छ भन्ने अवस्था रहेन । प्रवासमा रहेर पनि आफ्नो उद्देश्यमा सफल हुन सकिन्छ । यसका लागि चाहिन्छ त केवल धैर्यता, लगन अनि आत्मविश्वास । यसको ज्वलन्त उदाहरण बनेकी छिन् मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ ।

उच्चशिक्षा अध्ययन गर्न अष्ट्रेलिया हानिएकी नेपाली चेली अनुष्काले मिस नेपाल २०१९ को ताज जितेरै छाडिन् । पाँच वर्षअघि मात्र उच्चशिक्षाका लागि अष्ट्रेलिया आएकी थिइन् । अध्ययनको क्रममा पनि अष्ट्रेलियामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउंने अनुष्का युएनई अष्ट्रेलियाले आयोजना गरेको मिस नेपाल ओसिनियाको समेत विजेता हुन् ।

‘यसपटकको मिस नेपालको ताज अनुष्काले जित्ने कुरामा हामी ढुक्क थियौँ । किनकि अनुष्कामा देखिएको लगनशिलता र मिहेनत गजबकै थियो’, युनाइटेड नेप्लिज आटर्स एण्ड इन्टरटेनमेन्ट (युएनई) अष्ट्रेलियाकी प्रमुख भुमा लिम्बुले बताइन् ।

युएनईले अष्ट्रेलियामा रहेका युवायुवतीहरूको क्षमता अभिवृद्धि हुने विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । हरेक वर्ष मिस नेपाल ओसिनियाको आयोजना गर्दै आइरहेको युएनईकी प्रमुख भूमा भन्छिन्, ‘हामीले अष्ट्रेलियाबाट पठाएको प्रतिनिधि हुन् आयुष्मा । उनको सफलताप्रति हामी गौरवान्वित छौँ ।’

यतिबेला अष्ट्रेलियाको सत्तारूढ दल लिबरल पार्टीबाट संसदको टिकट पाएका पहिलो नेपाली प्रमेज श्रेष्ठ पनि यसै संस्थाले आयोजना गरेको मिस्टर नेपाल ओसिनिया २०१६ का बिजेता हुन् ।

अनुष्का अष्ट्रेलियाको नम्बर एक बैंक मानिने कमनवेल्थ बैंकको जागिर छोडेर मिस नेपाल प्रतियोगितामा भाग लिन पुगेकी थिइन् । ‘त्यतिबेला उनलाई यस्तो राम्रो काम नछोड, फेरि पछि पाइन्न । यस्तो बैंकमा काम पाउनु भनेको सपना हो भन्दै धेरैले सुझाव पनि दिएका थिए, तर आफ्नो उद्देश्यमा थोरै पनि नडग्मगाउने अनुष्काको स्वभावले जित्यो’- सिड्नीमा भेटिएका अनुष्काकी सहपाठीहरूको भनाई छ । अनुष्काकी आमा मुक्ता श्रेष्ठ पनि ढाकाको डिजाईन क्षेत्रमा चलेको नाम हो ।

अष्ट्रेलियन क्याथोलिक यूनिर्भसिटीकी २३ वर्षीया असल विद्यार्थी अनुष्काले अब डिसेम्बर ७ मा आयोजना हुने मिस वर्ल्ड प्रतियागितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउन पाउने भएकी छिन् ।