पाथीभरा राष्ट्रिय पुरुष भलिबलमा पुलिस च्याम्पियन

पाथीभरा राष्ट्रिय पुरुष भलिबलमा पुलिस च्याम्पियन


त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले तेस्रोे पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । मैवाखोला गाउँपालिकास्थित साँघुमा वैशाख २६ गते बिहीबार भएको फाइनल खेलमा आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले लगातार दोस्रोपटक उपाधि जितेको हो ।

नारायणी माविको खेलमैदानमा भएको उपाधि भिडन्तमा पुलिसले आर्मीमाथि २५–१७, २५–१३ र २५–१९ को सहज जित निकाल्यो । उपाधिसँगै पुलिसले नगद तीन लाख ५१ हजार पाँच सय प्राप्त गरेको छ । उपविजेता आर्मीले एक लाख ७६ हजार २ सय ५१ प्राप्त गरेको छ । त्यस्तै प्रतियोगिताको सेमिफाइनल पुगेका दुई टोली एपीएफ र गण्डकी प्रदेशले समान ५०–५० हजार प्राप्त गरेका थिए ।

पुलिसका ओपन स्पाइकर कुलबहादुर थापाले (हरि) उत्कृष्ट खेलाडीको उपाधि जिते । कुलबहादुरले १५ हजार प्राप्त गरेका छन् । प्रतियोगिताको विधागततर्फको उपाधिमा पुलिसकै खेलाडीको वर्चश्व रह्यो । उत्कृष्ट सर्भरमा पुलिसका विशाल विक, सेटरमा कप्तान इमबहादुर राना, डिफेन्डरमा भीम गाहा, ब्लकरमा दीपकराज जोशी र उत्कृष्ट प्रशिक्षक पुलिसकै सरोज श्रेष्ठ चुनिए ।

उपविजेताको टिमको तर्फबाट उत्कृष्ट स्पाइकरको उपाधि धनबहादुर भट्टले जितेका थिए । उत्कृष्टको उपाधि विजेताहरूले जनही नगद ७–७ हजार प्राप्त गरेका थिए । विजेता खेलाडीलाई प्रमुख अतिथि तथा प्रदेश सदस्य टंक आङबुहाङ, प्रदेश सदस्य बलबहादुर साम्सोहाङ र प्रदेश सदस्य होमकुमारी साँवालगायतले पुरस्कृत गरे । मैवाखोला गाउँपालिकाको व्यवस्थापन तथा जलजले युवा क्लब, न्यु पाथिभरा क्लब र मैवाखोला क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन भएको थियो ।