सागको तयारीका लागि खेलाडीलाई जेठ पहिलो साताबाट बन्द प्रशिक्षणमा राखिने

सागको तयारीका लागि खेलाडीलाई जेठ पहिलो साताबाट बन्द प्रशिक्षणमा राखिने


राष्ट्रिय खेलकुद परिषद (राखेप)ले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)लाई लक्षित गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भएको छ ।

नेपालमा आयोजना हुने १३औँ संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीका लागि हालै सम्पन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समावेश गरी बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको राखेपले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुने खेलाडीलाई जेठ पहिलो साताबाट बन्द प्रशिक्षणमा राखिनेछ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा संयोजक रहेकोे प्रतियोगिता तयारी तथा व्यवस्थापन मूल समारोह समितिको बैठकले नेपाली खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण गर्ने निर्णय गरेको हो । सागमा नेपालबाट ६ सय २५ जना खेलाडीले प्रतिस्पर्धा गर्ने तय भएको छ ।

यसअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बारम्बार सर्दा सागको भविष्य अन्योलमा पर्दै आएको थियो । गएको फागुन–चैतमा नेपालले आयोजना गर्ने गरी निर्णय भएको १३औँ साग आठौँ राष्ट्रिय खेलकुद र पूर्वाधार पुनर्निर्माणमा भएको ढिलाइले गर्दा ६ महिना पर आगामी मंसिर दोस्रो साता हुने तय भएको छ । तेह्रौँ साग नेपालले आगामी मंसिर १५ देखि २४ गतेसम्म आयोजना गर्नेछ ।

उक्त बैठकले प्रतियोगिताको मस्कट र लोगोसमेत पारित गरेको छ । मस्कट र लोगोलाई केही दिनमा सार्वजनिक गर्ने तयारी रहेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । यस्तै बैठकले प्रतियोगितामा सहभागिता जनाउने देशलाई परराष्ट्र मन्त्रालयमार्फत निमन्त्रणा पठाउने निर्णय गरेको छ ।