‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठलाई

‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठलाई


अनुष्का श्रेष्ठले ‘मिस नेपाल २०१९’ को उपाधि हात पारेकी छन् । प्रतिस्पर्धामा सहभागी अन्तिम २४ सुन्दरीलाई पछि पार्दै अनुष्काले मिस नेपालको उपाधि जितेकी हुन् । उनी मिस नेपालमा सहभागी हुन अस्ट्रेलियाको बैँकबाट राजीनामा दिएर आएकी थिइन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपाल प्रतियोगिताको यो संस्करण २५ औं हो ।

अनुष्कालाई मिस नेपाल २०१८ की शृंखला खतिवडाले ताज पहिराएकी थिइन् । अनुष्काले अब मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । मिस नेपालमा सहभागी हुन नेपाल आउनुअघि उनी अस्ट्रेलियाको कमनवेल्थ बैँकमा अडिट एडमिनिस्ट्रेटर थिइन् ।

प्रमुख निर्णायक इला शर्माले अन्तिम सातमा पुगेका प्रतियोगीलाई अधिकार र स्वतन्त्रताको माग गर्नुअघि काम र जिम्मेवारी पूरा गरेमा हामी संसारलाई अझै राम्रो बनाउन सक्छौं । तपाईं के सोच्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै अनुष्काले उपाधि जितेकी हुन् । अनुष्काले अधिकार र कर्तव्य एक सिक्काका दुई पाटा भएको बताउँदै नागरिक, व्यक्ति, साथी र जीवनसाथीले आफ्नो जिम्मेवारीको महसुस गरेमा मात्र अधिकारको भागीदार हुने जबाफ दिएकी थिइन् ।

‘मिस नेपाल यूनिभर्स’ प्रदिप्ता अधिकारी, ‘मिस नेपाल अर्थ’ रिया बस्नेत र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले जितेका छन् भने ‘मिस फ्यासिनो ‘अनुष्का श्रेष्ठ, ‘मिस कन्फिडेन्स’ निशा पाठक र ‘ब्युटी विथ प्रपोज’को उपाधि निकिता कर्माचार्यले हात पारेका छन् ।

सहभागी २५ सुन्दरीमध्ये टप ७ मा पुगेकामध्ये ५ जनालाई यी उपाधि दिइएको थियो । २५ प्रतिस्पर्धीमध्ये १५ हुँदै अन्तिममा ७ जना छानिएका थिए । यस्तै, उत्कृष्ट सातमा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदीप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मीरा कक्षपति पुगेका थिए ।