सुफी मस्जिदमा भएको आक्रमण ‘हिजबुल अहरर समूह’बाट

सुफी मस्जिदमा भएको आक्रमण ‘हिजबुल अहरर समूह’बाट


पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटको जिम्मा हिजबुल अहरर समूहले लिएको छ । सो समूह पाकिस्तानी तालिबानबाट फुटेर बनेको हो ।

लाहोरको एक मस्जिदमा भएको ऊक्त विस्फोटमा परी कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै अन्य दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए । यस बिस्फोटको अनुसन्धान भइरहेको पाकिस्तानी सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

मस्जिदभित्र महिला प्रवेश गर्ने मूलद्वार नजिकै बुधबार बिस्फोट भएको थियो । सो मस्जिदमा सन् २०१० मा पनि आक्रमण भएको थियो । त्यस समयको उक्त आक्रमणमा परी कम्तीमा पनि ४० जनाको ज्यान गएको बताइएको थियो ।

इस्लामिक लडाकूले पाकिस्तानमा प्रायः सुफी सम्प्रदायका व्यक्तिमाथि आक्रमण गर्ने गरेका छन् । पटकपटक आक्रमण हुन थालेपछि पाकिस्तान सरकारले यस मस्जिदमा सुरक्षा व्यवस्था कडा बनाएको थियो ।

तर, कडा सुरक्षाकाबीच पनि हिंसात्मक हमला जारी रहेका छन् र थुप्रै नागरिकको ज्यान गइरहेको छ ।