विचलित बाबुराम !





  • यादव शर्मा

कुनै समय थियो– एसएलसी परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्नु अर्थात् ‘बोर्डफस्ट’ हुनु भनेको देशकै उम्दा नागरिक भएको प्रमाणित हुनु । आफूले पढेका विषयको परीक्षामा सर्वाधिक अङ्क प्राप्त गरेर उत्तीर्ण हुनु निश्चय नै एउटा सुन्दरतम् सफलता हो । पढाइमा राम्रा व्यक्तिसँग सामान्य मानिसमा भन्दा केही बढी क्षमता हुन्छ र त्यस्ता व्यक्तिलाई क्षमतावान् भएको स्वीकार पनि गर्नुपर्दछ । तर, हामीकहाँ मानिसको योग्यता र क्षमताको आधार केवल शैक्षिक योग्यताको प्रमाणपत्रमा प्राप्त गरेको अङ्कलाई मात्र मान्ने गरिएको छ ।

यसै क्रममा कुन्नि कति सालका ‘एसएलसी टपर’ बाबुराम भट्टराई सर्वज्ञाता र सर्वाधिक योग्य व्यक्तिका रूपमा स्थापित हुन पुगे । पढन्तेहरू राजनीतिक कर्ममा प्रायः संलग्न नहुने समयमा बाबुराम पढाइसँगै राजनीतिक क्रियाकलापमा पनि सामेल हुन पुगे । उनको तुलना राजनीतिमा क्रियाशील अन्य त्यस्ता व्यक्तिसँग हुन थाल्यो, जो एसएलसी परीक्षामा कहिल्यै सामेल नै भएका थिएनन् या सामेल भएर पनि उत्तीर्ण हुन नसकेका र उत्तीर्ण भइहाले पनि न्यूनतम अङ्क मात्र ल्याउनेहरू थिए–छन् ।

कलेजजीवन प्रारम्भ भएपछि सुरुमा नेपाली काङ्ग्रेसप्रति आकर्षित भएका बाबुराम भट्टराई ऋषिकेश शाहको सिफारिसमा छात्रवृत्ति पाएर इन्जिनियरिङ विषयको अध्ययन गर्न भारत पुगेपछि वामपन्थी बने । मोहनविक्रम सिंह र निर्मल लामा नेतृत्वको नेकपा (चौथो महाधिवेशन) मा आबद्ध भएर उनले आफ्नो राजनीतिक यात्रा अघि बढाएका हुन् । बाबुराम यस्तो समयमा कम्युनिस्ट बने जतिबेलाका शासकहरू कम्युनिस्टभन्दा काङ्ग्रेससँग दूरीको व्यवहार गर्ने गर्दथे ।

०४० सालमा नेकपा (चौम) विभाजन हुँदा उनी निर्मल लामातिर नलागेर मोहनविक्रम सिंहको समर्थनमा देखापरे । त्यसबेला निर्मल लामा र उनको समर्थन गर्नेहरूलाई दक्षिणपन्थी धारमा पुगेको आरोप लगाइनुको अर्थ मोहनविक्रम सिंहहरूचाहिँ उग्र क्रान्तिकारी लाइनमा भएको स्वतः बुझिन्छ । नेकपा (चौम) विभाजित भएर नेकपा मशाल बनेको तीन वर्ष नपुग्दै मशाल पनि विभाजित हुन पुग्यो । मोहनविक्रम सिंह नेकपा (मसाल) को नेता बने भने मोहन वैद्य किरणचाहिँ नेकपा (मशाल) को । अचेल भाषाको क्षेत्रमा पैदा भएको अराजकताले ‘श’ र ‘स’बीच भिन्नता देख्दैन । एकताका त्यही मसालको ‘स’ र ‘श’ ले दुई राजनीतिक दलबीचको भिन्नता बुझाउँथ्यो ।

कम्युनिस्ट पार्टीका विभाजनहरू महत्वाकाङ्क्षी मानिसका निम्ति चाँडै नेता हुने सुन्दर अवसर बनेर आउँथे र, कम्युनिस्ट आन्दोलनका कनिष्ट सदस्य बाबुरामले पनि पार्टी विभाजन भएर सानो हुँदै जाँदा आफूलाई चाहिँ ‘ठूलो’ बनाउँदै लगे र मोहनविक्रम सिंहसँग दाँजिने तहमा पुगे ।

यो विभाजनमा पनि बाबुराम भट्टराई मोहनविक्रम सिंहतिर उभिए । कम्युनिस्ट पार्टीका यस्ता विभाजनहरू महत्वाकाङ्क्षी मानिसका निम्ति चाँडै नेता हुने सुन्दर अवसर बनेर आउँथे र, कम्युनिस्ट आन्दोलनका कनिष्ट सदस्य बाबुरामले पनि पार्टी विभाजन भएर सानो हुँदै जाँदा आफूलाई चाहिँ ‘ठूलो’ बनाउँदै लगे र मोहनविक्रम सिंहसँग दाँजिने तहमा पुगे । तर, सिंहसँगको सहयात्रा पनि दीर्घ हुन सकेन । बाबुराम भट्टराई मोहन वैद्य नेतृत्वको नेकपा मशालसँग ‘हैसियतसहित’ जोडिन पुगे ।

सायद त्यतिबेला मसालको नेतृत्व कम्युनिस्ट आन्दोलनको अर्को कनिष्ट सदस्य प्रचण्डको हातमा पुगिसकेको थियो । प्रचण्ड नेतृत्वको मशालमा सामेल भएको दुई वर्ष बित्दा नबित्दै प्रचण्ड र बाबुरामबीच मतमतान्तर शुरु भइसकेको थियो, तर २०४६ सालमा शुरु भएको पञ्चायतविरुद्धको आन्दोलनले उनीहरूलाई अलग्गिनचाहिँ दिएन । ०४६ को राजनीतिक परिवर्तनपछि पनि नेकपा मशालले निर्वाचन आयोगमा दर्ता हुन चाहेन । बरु एउटा वैधानिक मञ्च खडा गर्ने र बाहिरी राजनीतिक गतिविधि सञ्चालन गर्ने निर्णयमा मशाल पुग्यो । मशालको यही नीतिअनुसार ‘संयुक्त जनमोर्चा नेपाल’ नामक दल निर्वाचन आयोगमा दर्ता भयो र बाबुराम भट्टराई उक्त दलका अध्यक्ष बने ।

जनमोर्चा गठनताक बाबुराम भट्टराई माओवादी थिएनन् । ‘मार्क्सवादसम्म चाहिँ भनिदिने’ वैचारिक तहमा उनी थिए । देशभक्त र प्रजातान्त्रिक शक्तिलाई समेट्ने दाबी बाबुरामले त्यसबेला गरेका थिए । तर, ०५२ सालमा मशालले हिंसात्मक सङ्घर्ष शुरु गर्ने निर्णय लिएलगत्तै मार्क्सवादी बाबुराम माओवादीमा रूपान्तरित भए । चालीस सूत्रीय मागमध्ये भारतविरुद्धका नौवटा माग प्रस्तुत गरेर भूमिगत भएका बाबुरामको अधिकांश समय भारतमै बितेको जानकारी आमनेपालीलाई भइसकेकै छ । हिंसात्मक युद्धकालमा प्रचण्ड र बाबुराम भट्टराईबीच उत्पन्न मनमुटावका विषयहरूको विस्तृत चर्चा गर्न यहाँ उपयुक्त नहोला, तर त्यसताक प्रचण्डले ‘दरबारसँग मिलेर काङ्ग्रेस–एमालेलाई सिध्याउने’ विचारको वकालत गरिरहँदा बाबुरामचाहिँ ‘भारतसँग मिलेर राजा सिध्याउनुपर्छ’ भन्ने लाइनमा भएको बुझिन्थ्यो ।

राजा वीरेन्द्रको वंशनासपछि आत्तिएका प्रचण्ड अन्ततः बाबुराममार्फत नै भारतको शरणमा परेका हुन् । १२बुँदे सम्झौता (नयाँदिल्ली) हुँदै सिंहदरबारसम्मको यात्रा तय गर्दा बाबुरामले प्रचण्डकै जस्तो कमिज र प्यान्ट पहिरिएका थिए । ०६३ सालमा यसरी एउटै रङ र ढङ्गमा प्रकट भएका बाबुराम–प्रचण्डले आफूहरू सुरक्षित भएको ठहर गरेपछि आ–आफ्नै रुचिको रङका कपडा पहिरिन थालेका हुन् ।

उपेन्द्र यादवले आफू एक ‘गतिशील हायना’ भएको छवि बनाएका छन् र, यादवको सरोकार पद र पैसाबाहेक अन्य कुनै विषयमा भएको जानकारी अहिलेसम्म मिलेको छैन ।

माओवादी हिंसात्मक सङ्घर्षको ‘महान्’ उपलब्धिका रूपमा प्रचण्ड र बाबुरामलाई पालैपालो प्रधानमन्त्री पद प्राप्त भयो । तर, माओवादी नेताका रूपमा प्रधानमन्त्रीको पद पड्काएका बाबुरामलाई त्यसपछि माओवादी कम्युनिस्ट आन्दोलनको उपादेयता समाप्त भएको अनुभूति हुन थाल्यो । माओवादी आवरणमै बसेर बाबुरामले धर्मनिरपेक्षतासहितको सङ्घीयता र गणतन्त्रलाई वैधानिकता दिनु थियो, दिए । संविधानसभा सदस्यको रूपमा रहेर देशको आवश्यकता र चाहनाविपरीत संविधान जारी गराउने निर्दिष्ट कार्य सम्पन्न गरिसकेलगत्तै बाबुरामले संविधानप्रति विरोध र असहमति जनाउन थालेका थिए ।

प्रचण्डले माओवादी पार्टीको अध्यक्ष पद हस्तान्तरण गर्न अस्वीकार गरेपछि बाबुरामले देशमा माओवादी कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त भएको निष्कर्ष निकाले । र, गैरकम्युनिस्ट पार्टी ‘नयाँ शक्ति’ भव्य तामझामका साथ गठन गरे । यसरी कम्युनिस्ट आन्दोलनको उपादेयता सकिएको घोषणा गर्दै ‘नयाँ शक्ति’ नामको पसल थाप्न पुगेका बाबुराम उक्त पसल घाटामा जान थालेपछि फेरि विचलितझैँ बन्न पुगे ।

त्यसैबीच ०७४ सालको असोजमा नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकीकरण भएर नेकपा बन्ने भएपछि बाबुरामले शायद ‘नयाँ शक्तिको औचित्य समाप्त भएको’ ठहर गरे र, कम्युनिस्टहरूको एकता प्रक्रियामा उत्साहका साथ सहभागिता जनाएका थिए । तर, केपी ओली र प्रचण्डले बाबुराम भट्टराईलाई नचाहेको पाहुना (Unwanted guest) को व्यवहार गरे । फलस्वरूप दुई हप्ता नबित्दै उनी नयाँ शक्ति नै सही पार्टी भएको निचोडमा पुगे र, नेपाली काङ्ग्रेससँग गठबन्धन बनाएर चुनावी मैदानमा ‘एक्लै जित्ने गरी’ उत्रिए । ‘नयाँ शक्ति’को कारोबार नचल्ने पहिले नै स्पष्ट भइसकेको हो, बाबुराममा फेरि पनि विचलनको अवस्था पैदा गरायो ।

निर्वाचनपछिका डेढ वर्ष बाबुरामका निम्ति बेचैनीपूर्ण रहेको महसुस हामी सबैले गरेका हौँ । एकपटक प्रधानमन्त्री बन्न उनले जेसम्म गरे, फेरि प्रधानमन्त्रीमा दोहोरिनका निम्ति ‘त्यस हदसम्म गर्ने’ मानसिकतामा उनी रहेको बुझिँदैन । तर, राजनीतिमा टिकिरहन केही न केही गर्नुपर्ने बाध्यात्मक अवस्थामा बाबुराम छन्, जतिसुकै ठूला बाध्यता भए पनि उपेन्द्र यादव नामको ‘मौसमी टहरामै आश्रय लिनुपर्ने’ गरी उनी विचलित भइसकेका होलान् भन्ने ठानिएकोचाहिँ थिएन । उपेन्द्र यादवले आफू एक ‘गतिशील हायना’ भएको छवि बनाएका छन् र, यादवको सरोकार पद र पैसाबाहेक अन्य कुनै विषयमा भएको जानकारी अहिलेसम्म मिलेको छैन ।

उपेन्द्रसँगको सहकार्यबाट बाबुरामले न राष्ट्रियताको पक्षमा रहेको पुष्टि गर्न सक्नेछन्, न प्रजातन्त्रलाई जनोपयोगी बनाउने सफलता नै उनलाई मिल्ने देखिन्छ । दुई विचारविहीन तथा सिद्धान्तहीनहरूबीचको एकताबाट एउटा पक्षलाई कुनै क्षति पुग्नेछैन र, बाबुरामलाई प्रत्यक्षतः लाभ हुने पनि देखिँदैन ।

एसएलसीका ‘बोर्ड टपर’ र ‘पीएचडी होल्डर’ बाबुराम भट्टराई यतिबेला सर्कसका कलाकार प्रतीत हुने विचारविहीन व्यक्तिसँग दाँजिन पुगेका छन् । बाबुरामको कुनै पनि निर्णय टिकाउ हुने नगरेको पृष्ठभूमिमा उपेन्द्र यादवसँग सहकार्य गर्ने निर्णय दिगो हुने विश्वास गर्न सकिँदैन । कुनै अदृश्य शक्तिले बाध्य बनाएझैँ देखिने प्रकारको ‘पार्टी एकता’ले वर्ष दिन नघायो भने त्यसलाई ‘ठूलै राजनीतिक घटना’ मान्नुपर्ने हुन्छ । यस घटनाले कोही मानिस लेखपढमा अगाडि हुँदैमा ती योग्य, बुद्धिमान, इमानदार र सिद्धान्तनिष्ट हुँदैनन् भन्ने सन्देश दिएको छ ।

बाबुराम भट्टराई नेपाली राजनीतिका समकालिक पात्रहरूमध्ये तुलनात्मक रूपले इमानदारहरूको कोटिमा पर्दछन् । तर, वैचारिक एवम् सैद्धान्तिक दृष्टिले नेपालको इतिहासका सबैभन्दा बेइमान र अस्थिर नेताको कोटिमा उनले आफूलाई पुऱ्याएका छन् । उपेन्द्रसँगको सहकार्यबाट बाबुरामले न राष्ट्रियताको पक्षमा रहेको पुष्टि गर्न सक्नेछन्, न प्रजातन्त्रलाई जनोपयोगी बनाउने सफलता नै उनलाई मिल्ने देखिन्छ । दुई विचारविहीन तथा सिद्धान्तहीनहरूबीचको एकताबाट एउटा पक्षलाई कुनै क्षति पुग्नेछैन र, बाबुरामलाई प्रत्यक्षतः लाभ हुने पनि देखिँदैन ।

जातिवाद र क्षेत्रीयतावादको जगमा खडा भएको समूहसँगको सहकार्यले बाबुरामको विद्वता र योग्यताको फेरि एकपटक पुष्टि गरिदिएको छ । अरू जे गरेको भए पनि परीक्षामा राम्रो अङ्क ल्याएको या पीएचडीको उपाधि हासिल गरेकै आधारमा सार्वजनिक जिम्मेवारीका निम्ति कसैलाई योग्य ठान्नु गल्ती हुने सन्देश बाबुराम–उपेन्द्रबीचको एकताले दिएको छ । यसबाहेक राजनीति कति अशिष्ट र अराजक खेल हो भन्ने कुराको पुष्टि पनि यस घटनाले गरेको छ । सँगै एउटा अर्को प्रश्न पनि उठेको छ, ‘के बाबुरामले यसपछि कमल थापा या सीके राउतमध्ये एकसँग पार्टी एकता गर्ने हो ?’

प्रतिक्रिया