महानगरमा बिनानक्सा दशतले भवन !

महानगरमा बिनानक्सा दशतले भवन !


  • अमित साह, पर्सा

‘सानालाई ऐन ठूलालाई चैन’ भन्ने नेपाली प्रचलित उखान हो । समाजमा यस उखानलाई चरितार्थ गर्ने अनेक घटना र सन्दर्भ भेटिन्छन्, देखिन्छन् । यस्तै एक सन्दर्भ बन्न पुगेको छ वीरगञ्ज महानगरपालिकाको एक धनाढ्य व्यवसायी क्याल परिवार । यतिबेला स्थानीयवासी भन्न थालेका छन्– वीरगञ्जका उद्योगी–व्यापारीलाई कानुनले छुँदैन, कानुन लाग्ने त मध्यमवर्ग र विपन्नलाई मात्रै रहेछ !

स्थानीयवासीमा यस्तो निराशा छाउनुको कारण क्याल परिवार नै हो । अन्यत्रजस्तै वीरगञ्ज महानगरपालिकामा पनि महानगरपालिका कार्यालयबाट नक्सापास सिफारिस लिएर मात्र नयाँ घर वा बिल्डिङ बनाउन पाउने नियम छ । तर, निरञ्जन क्याल र बाबुला क्यालले शहरमा दशतले भवन निर्माण गर्दा पनि महानगरपालिकाबाट कुनै सिफारिस लिन आवश्यक ठानेनन् ।

वीरगञ्ज महानगरपालिका आदर्शनगर र महानगरपालिकाको छेउमा अलिशान भवन निर्माण गर्दा महानगरपालिकाले गैरकानुनी भन्दै पटक–पटक ताकेता नगरेको होइन, तर नगरपालिकालाई समेत निरीह तुल्याइदिने तागत रहेछ क्याल परिवारसँग । उनको शक्ति अरू केही नभएर सत्ताधारी कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरू नै रहेको बुझिएको छ ।

क्याल परिवारका सदस्यहरूले देशकै चाबी हातमा लिएको पार्टीका शीर्षस्थ नेताहरूलाई आफ्नो ‘ब्याकबोन’ तुल्याएका र तिनै नेताहरूबाट नगरपालिकाका कार्यकारी अधिकृतलाई फोन गराई अवैध तवरले भवन निर्माण गरेको स्थानीयवासीबीच चर्चा छ । महानगरपालिकाका एक इन्जिनियरले पनि क्याल परिवारले कित्ता नम्बर ६१ मा भवनको नक्सा पास नगराई निर्माण गरेको र यो कार्य सरासर अवैधानिक रहेको पुष्टि गरेका छन् । भवन निर्माणको सन्दर्भमा तीन वर्षअघि एक सामान्य कागज लेखिदिए पनि आधिकारिक रूपमा नक्सा पास गर्न पटक–पटक ताकेता गर्दा पनि क्याल परिवारले टेरपुच्छर नलगाएको नगरपालिकाका कर्मचारीले बताए ।

हालका कार्यकारी अधिकृतले नक्सा पास किन नगराएको भन्ने सवाल गर्दा प्रधानमन्त्री केपी शर्मा र प्रचण्डसँग आफ्नो विशेष सम्बन्ध रहेको भन्दै क्यालबन्धुले उनीहरूसँगको तस्बिर देखाएका र ‘माथि’बाट फोनसमेत गराएको सम्बद्ध सूत्रले जनायो । यस मामलामा धेरै खोजीनिती गरे सरुवा गरिदिने धम्कीसमेत सम्बन्धित कर्मचारीलाई दिने गरिएको बताइन्छ ।

अझ गम्भीर कुरा त यो छ कि वीरगञ्जका मेयर विजय सराबगीलाई यस प्रकरण सम्बन्धमा सबै कुरा जानकारी छ, तर उनीले समेत आफ्नो नगरपालिकामा भएको यस अवैधानिक कार्यलाई रोक्ने हिम्मत जुटाइरहेका छैनन् । मेयरले नै आँट नदिएपछि कर्मचारी निरीह बन्न पुगेका छन् । यस विषयमा निरञ्जन क्यालसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।