सुफी मस्जिद बम विस्फोटको जिम्मा हिजबुल अहरर समूहद्वारा स्वीकार

सुफी मस्जिद बम विस्फोटको जिम्मा हिजबुल अहरर समूहद्वारा स्वीकार


पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली विस्फोटको जिम्मा हिजबुल अहरर समूहले लिएको छ ।

उक्त समूह पाकिस्तानी तालिबानबाट फुटेर बनेको हो । सोही समूहले यस विस्फोटको जिम्मा लिएको लाहोरबाट प्राप्त समाचारमा जनाइएको छ । लाहोरको एक मस्जिदमा भएको उक्त विस्फोटमा परी कम्तीमा नौजनाको मृत्यु हुनुको साथै अन्य दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए ।

यस बिस्फोटको अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरूले जनाएका छन् । यहाँको एक मस्जिदभित्र महिला प्रवेश गर्ने मूलद्वारनजिकै बिस्फोट भएको थियो । यही मस्जिदमा सन् २०१० मा पनि आक्रमण भएको थियो । त्यस समयको उक्त आक्रमणमा परी कम्तीमा पनि ४० जनाको ज्यान गएको बताइएको थियो ।

इस्लामिक लडाकुले पाकिस्तानमा प्रायः सुफी सम्प्रदायका व्यक्तिमाथि आक्रमण गर्ने गरेका छन् । पटकपटक आक्रमण हुन थालेपछि पाकिस्तान सरकारले यस मस्जिदमा सुरक्षा व्यवस्था कडा बनाएको थियो । तर, कडा सुरक्षाकाबीच पनि हिंसात्मक हमलाहरू जारी रहेका छन् । ती हमलाका कारण नागरिकको ज्यान गइरहेका समाचारहरू आइरहेका छन् ।