पाथीभरा राष्ट्रिय भलिबलको फाइनलमा पुलिस र आर्मी भिड्ने

पाथीभरा राष्ट्रिय भलिबलको फाइनलमा पुलिस र आर्मी भिड्ने


तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको फाइनलमा साविकको विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।

ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा वैशाख २५ गते बुधबार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान बनायो । नारायणी माविको खेल मैदानमा पुलिसले गण्डकीलाई २५–१५, २६–२४ र २५–१७ को सेटमा पराजित गरेको हो ।

यस्तै दोस्रो सेमिफाइनलमा आर्मीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिससँगको भेट पक्का गरेको हो । आर्मीले एपीएफलाई २५–२१, २५–२०, २०–२५ र २६–२४ को सेटमा पराजित गरेको थियो ।

मैवाखोला गाउँपालिकाको व्यवस्थापन र जलजले युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल वैशाख २६ गते बिहिबार हुनेछ । प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्ने छ । यस्तै उपविजेताले १ लाख ७६ हजार २५१ नगद प्राप्त गर्नेछ । त्यस्तैै सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०–५० हजार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार पाउने छन् । व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७–७ हजार पाउने छन् ।