काङ्ग्रेस सरकारमा जाँदा ‘मनाङ काङ्ग्रेस’ले मन्त्री पाइरहेको छ : साँसद नेपाली

काङ्ग्रेस सरकारमा जाँदा ‘मनाङ काङ्ग्रेस’ले मन्त्री पाइरहेको छ : साँसद नेपाली


राष्ट्रिय जागरण अभियानअन्तर्गत हिमालपारीको जिल्ला मनाङमा आयोजित सभामा सहभागि जिल्लास्थित नेता तथा कार्यकर्ताले जागरण अभियानले पार्टीलाई बलियो र मजबुत बन्न सहयोग मिल्ने विश्वास ब्यक्त गरेका छन् । उनिहरुले अब फुटेर नभई एक ढिक्का भएर अघि बढ्नुपर्नेमा केन्द्रीयस्तरका नेताहरुलाई सुझाव दिएका हुन् ।

बुधबार नासोँ गाउँपालिका अन्तर्गत धारापानीमा आयोजित कार्यक्रममा प्रमुुख अतिथि समेत रहेका प्रदेश नं ४ का संसदीय दलका नेता एवं साँसद कृष्णचन्द्र नेपालीले आपसी मनमुटाव त्याग्दै केन्द्रदेखि वडा तहसम्म पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिए । ‘अब हामीले विगतमा भएका गल्ती कमजोरीलाई मूल्याङ्कन गर्दै पार्टीलाई सहयोग गर्नुपर्छ ।’ उनले भने, ‘हिमाल, पहाड, तराई सबै क्षेत्रमा रहेका काङ्ग्रेसीहरु एक भएर अघि बढ्ने हो भने पार्टी बलियो हुनेछ ।’

नेता नेपालीले सरकारका काम जनअपेक्षाअनुरुप नभएको र चौतर्फी विरोध भइरहेकोले नेता तथा कार्यकर्तालाई धैर्य गर्न र सक्रिय रहन आग्रह गरे । उनले अभियानलाई जिल्लाका हरेक वडा वडामा लैजाने भन्दै यसले पार्टीलाई थप क्रियाशील बनाउने विश्वास व्यक्त गरे । फरक प्रसंगमा साँसद नेपालीले राष्ट्रिय राजनीतिमा मनाङ काङ्ग्रेसको योगदन उच्च रहेको र काङ्ग्रेस सरकारमा गएका बेला मनाङले मन्त्री पद पाइरहेको स्पष्ट पारे । उनले मनाङ काङ्ग्रेसका सभापति टेकबहादुर गुरुङले मन्त्री र साँसद रहँदा गरको विकासको प्रशंसा गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेस मनाङका संस्थापक नेता कोमल बहादुर घलेले वर्तमान सरकारको काम गर्ने शैलीका कारण जनता आत्तिएको टिप्पणी गरे । काङ्ग्रेसले विगतमा भएका कमजोरीलाई समिक्षा गर्दै अघि बढ्ने हो भने सफलता हात पार्न कुनै समस्या नभएको उनको भनाई छ । जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई सल्लाह दिदैं नेता घलेले क्रियाशिल रहेर पार्टीमा सहयोग गर्न आग्रह गरे ।

यस्तै, प्रदेश साँसद चिन्ता बहादुर घलेले नेता र कार्यकर्ताकाबीच पार्टी सुदृढीकरणका लागि विचारमा पुनःजागरणको आवश्यकता खड्केको बताए । उनले प्रजातन्त्रको सुदृढीकरण गर्नका लागि काङ्ग्रेसका कार्यकर्ता जनताको घरदैलोमा पुग्न आवश्यक रहेको चर्चा गरे ।

यस्तै, कार्यवहाक पाटी सभापति तथा जिल्ला समन्वय समिति मनाङका सभापति यज्ञप्रसाद घलेले मनाङमा अब सबै काङ्ग्रेस एक हुन आवश्यक रहेको बताए । उनले वर्तमान सरकारले गर्ने गलत कामको खुलेर विरोध गर्न र जनताका साथमा उभिनसमेत नेता जिल्लास्थित नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले आफूहरु विकास विरोधी नभएको तर सरकारले गर्ने गलत कार्यको भने भण्डाफोर गरेर सचेत पार्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

यस्तै, नासोँ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले अब फुटेर नभई जुटेर अघि बढ्ने बेला आएको बताए । काङ्ग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले जागरण अभियानले नेता तथा कार्यकर्ताहरुमा नयाँ उर्जा प्रवाह गरेको बताए । कार्यक्रममा जिल्लास्थित नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागित रहेको थियो ।