बाबुराम-उपेन्द्र एक भएपछि सीमा लागिन् ‘नेकपा’ पथमा

बाबुराम-उपेन्द्र एक भएपछि सीमा लागिन् ‘नेकपा’ पथमा


‘फोरम’को नेतृत्व गर्दै आएका उपेन्द्र यादवसँग पार्टी एकता गरेपछि बाबुराम भट्टराईको तत्कालीन नयाँ शक्ति पार्टीमा आवद्ध धेरैले वैकल्पिक गन्तव्यको रूपमा ओली–प्रचण्ड नेतृत्वको नेकपालाई अपनाउन थालेका पाइएको छ । बाबुराम कुन स्वार्थले कुन बेला कोसँग घाँटी जोड्न पुग्छन्, ती सबैसँग जोडिएर हिँड्न नसकिने प्रतिक्रियासमेत कतिपयले दिएका छन् ।

यसरी तत्कालीन नयाँ शक्तिबाट नेकपा प्रवेश गर्ने लहरमा सो पार्टीका केन्द्रिय सदस्य रहेकी सीमा विक पनि थपिएकी छिन् । उनलाई बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले टीकामाला लगाई पार्टी प्रवेश गराएका छन् ।

कुनैबेला जनमुक्ति पार्टी नामक दलकी नेतृ रहेकी सीमा सो पार्टीबाट दोस्रो संविधानसभामा सदस्य (सभासद) समेतर रहेकी थिइन् । बाबुरामले माओवादी छोडेर नयाँ शक्ति गठन गरेपछि उनी केन्द्रिय सदस्यको रूपमा क्रियाशील रहँदै आएकी थिइन् ।

बुधबार पार्टी मुख्यालय धुम्बाहारीमा सीमा बिकलगायतलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले बाँकी रहेका पार्टी एकताको काम अन्तिम चरणमा पुगेको दाबी गरे । पोलिटब्यूरो, जनवर्गीय सङ्गठनको एकता र केन्द्रीय सदस्यको कार्यविभाजनको काम केही दिनमा टुङ्ग्याएर सार्वजनिक गरिने उनले बताए ।

एउटै कम्युनिष्ट पार्टी बनाएर मुलुकलाई समृद्धितर्फ लैजान पार्टी लागिपरेको दाबी गर्दै उनले नेकपामा प्रवेश गर्नेको लहर देशव्यापी रूपमा बढेको बताए । उनले भने– ‘नेकपामा जोडिनका लागि थुप्रैसँग सम्पर्क भइरहेको छ । हामी पनि यही पार्टीमा जोडिन चाहन्छौँ भनेर देशभरबाट खबर आइरहेका छन्, केही दिनमा ठूला, साना कम्युनिष्ट पार्टी नेकपामा जोडिन आउनेछन् । पार्टीलाई अझ पूर्णता बनाउने नै हो ।’