समाजवादी पार्टी पूर्वकम्युनिस्टको अखडा

समाजवादी पार्टी पूर्वकम्युनिस्टको अखडा


यसै साता (वैशाख १३ गते) गठित समाजवादी पार्टी नेपाल संयोगवश पूर्वकम्युनिस्टहरूको अखडा बन्न पुगेको छ । पहिले एमाले र माओवादी रहिसकेका उपेन्द्र यादव मधेसी जनअधिकार फोरमको नेता बनेकोमा एमालेबाट बाहिरिएका केही नेताहरूलाई समेट्ने क्रमसँगै ‘सङ्घीय समाजवादी फोरम’ मा रूपान्तरित भएको थियो ।

नयाँ शक्ति नामक समूह गठन गरेर बसेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई समेट्ने क्रममा उक्त समूहको नाम एकपटक फेरि बदलिएर ‘समाजवादी पार्टी नेपाल’ बन्न पुगेको छ । जातीय तथा क्षेत्रीय मुद्दालाई पुनर्जीवित गराउने उद्देश्यबाट गठन भएको समाजवादी पार्टीका मुख्य सबै नेताहरू पूर्वकम्युनिस्ट छन् । पहिले एमाले र माओवादी रहेका उपेन्द्र यादव, पूर्वमाओवादी डा. बाबुराम भट्टराई, पूर्वएमालेहरू अशोक राई र राजेन्द्र श्रेष्ठ नवगठित पार्टीका प्रमुख नेताहरू हुन् । यसरी समाजवादी पार्टी पूर्वकम्युनिस्टहरूको अखडा बन्न पुगेको छ ।

त्यसो त तराईकेन्द्रित राजनीतिक दलहरूमध्ये राजपामा प्रजातान्त्रिक पृष्ठभूमिका व्यक्तिहरू समेटिएका थिए भने फोरममा अधिकांश कम्युनिस्ट पृष्ठभूमिका व्यक्तिहरू थिए । अर्कोतिर राजपालाई भारतसँग मित्रवत् सम्बन्ध रहेको दलका रूपमा लिने गरिन्छ भने उपेन्द्र यादव नेतृत्वको फोरमलाई पश्चिमानिकट समूहका रूपमा लिने गरिन्थ्यो । एकीकरणसँगै उक्त समूहले तय गरेको एजेण्डाले उनीहरू पश्चिमानिकट रहेको स्पष्ट सङ्केत दिएको छ ।