केका निम्ति काङ्ग्रेसको जागरण ?

केका निम्ति काङ्ग्रेसको जागरण ?


प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस ‘राष्ट्रिय जागरण अभियान’मा होमिएको छ । पछिल्लो निर्वाचनमा प्राप्त लज्जास्पद परिणामको स्वस्थ समीक्षा गर्ने हिम्मतसमेत नजुटाएको र उक्त चुनावी हारको रन्थनबाट अझै बौरिन नसकेको मानसिकताबीच आज (२५ वैशाख) देखि शुरु गरिएको जागरण अभियानलाई धेरैले काङ्ग्रेसको अर्को चुनावको तयारीका रूपमा लिएका छन् ।

वर्तमान राजनीतिक गतिले सन्तुलन नगुमाए अर्को निर्वाचनको लागि अझै लगभग चार वर्ष कुर्नुपर्छ । त्यत्तिका समयपछि हुने चुनावसँग जोडेर काङ्ग्रेसको जागरण अभियानलाई ‘चुनावको तयारी’ भनी अर्थ लगाउनु फितलो या सतही बुझाई ठहरिन सक्छ । तर, काङ्ग्रेसको युवापङ्क्ति एवम् जिल्ला सभापतिहरूको दबाबमा तय गरिएको भनिएको यस अभियानलाई अर्को निर्वाचनको तयारीकै रूपमा सो पार्टीका ‘चल्तापुर्जा’हरूले समेत अङ्गीकार गरेका छन् । अभियानको मुख्य उद्देश्य पार्टीलाई ब्युँझाउने र सरकारका भ्रष्ट क्रियाकलापको भण्डाफोर गर्दै राष्ट्रिय राजनीतिमा दबाब सिर्जना गर्ने भनिएबाट पनि प्रकारान्तरले यो भावी निर्वाचनको तयारी नै हो भन्न सकिन्छ ।

कुनै पनि राजनीतिक पार्टी हरदम गतिशील रहनुपर्छ, सत्तामा रहेको होस् या विपक्षमा उसले आफूलाई जनता र देशको पक्षमा सामयिक एजेण्डा उठानुका साथै सक्रिय तुल्याइरहेकै हुनुपर्छ । पार्टीको जीवनका निम्ति पनि यो आवश्यक छ । यस अर्थमा काङ्ग्रेसको जागरण अभियानलाई स्वाभाविक रूपमा लिनुपर्ने हुन्छ ।

तर, काङ्ग्रेस नेतृत्व आफैँ मस्त सुतिरहेका प्रतीत भइरहेको छ । स्थानीय निर्वाचनमा काङ्ग्रेसको शीर्ष नेतृत्वले सत्तास्वार्थका साथै व्यक्तिगत या समूहगत स्वार्थसिद्धिको दलदलमा फसेर तत्कालीन माओवादीसँग अप्राकृतिक तालमेल गरेको, तीनै तहका निर्वाचनमा मनखुसी ढङ्गले जथाभावी टिकट वितरण र बिक्रीसमेत गरेको, मुलुकमा पछिल्लो चरणमा चर्चामा आएका भयानक भ्रष्टाचारका काण्डहरूमा कुनै न कुनै प्रकारले काङ्ग्रेस नेतृत्वसमेत मुछिएको आरोप लागिरहेको छ । यस्तो परिवेशमा शुरु गरिएको जागरण अभियानको अभीष्ट के हो, एक्काइसौँ शताब्दीका सचेत जनतामा यसले कस्तो जागरण ल्याउने हो, कतै पार्टीलाई सफल तुल्याउनभन्दा पनि आफ्ना असफलतालाई ढाकछोप गर्नका निम्ति मात्र जागरण अभियानको नौटङ्की मञ्चन गरिएको त होइन, कार्यकर्तापङ्क्तिबाटै उठिरहेका यावत् सवाल छलेर कार्यकर्ता र आमजनतालाई अलमल्याउन अभियानको दुरुपयोग गरिने त होइन ? यस्ता सवाल स्वाभाविक रूपमा यतिबेला उठेका छन् ।

अकर्मण्य नेतृत्वका कारण काङ्ग्रेसको प्रजातान्त्रिक छवि, जुझारूपन, सङ्घर्षमय इतिहास, जागृत साङ्गठनिक अस्तित्व सबै–सबै खतरामा परेको छ । पार्टीप्रतिको जनवितृष्णाले इमानदार नेता–कार्यकर्ता पङ्क्तिमा निराशा र कहालीलाग्दो भाव पैदा गराएको छ ।

जागरण अभियान आरम्भ गरिएको सन्दर्भमा औँल्याउनैपर्ने पक्ष यो छ कि काङ्ग्रेसले आफ्ना महत्वपूर्ण आन्तरिक कार्य विधानसम्मत् ढङ्गले समयबद्ध रूपमा सम्पादन गर्न सकेको छैन । भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ नेतृत्वविहीन छ भने तरुण दलको अवस्था पनि त्यस्तै अस्तव्यस्त वा अधुरो छ । अन्य भ्रातृ तथा शुभेच्छुक सङ्गठन पनि अस्तित्वकै प्रश्नसँग जुझिरहेका छन् ।

महासमितिबाट विधान संशोधन गरेको महिनौँ नाघिसक्दा काङ्ग्रेसले पार्टीलाई सङ्घीय संरचनामा ढाल्न सकेको छैन । काङ्ग्रेसको संशोधित विधानअनुसार केन्द्रदेखि वडासम्म सात तहका कार्यसमिति हुनुपर्ने भए पनि यतिबेला केन्द्रीय कार्यसमिति र जिल्ला कार्यसमिति मात्र अस्तित्वमा छ । प्रदेश, प्रतिनिधिसभा क्षेत्रीय, प्रदेश सभा क्षेत्रीय, गाउँ, नगर र वडा कार्यसमिति कहिले–कसरी बन्ने हुन्– कुनै निश्चितता छैन । पार्टीको वर्तमान केन्द्रीय कार्यसमितिको चारवर्षे कार्यकाल आगामी फागुनसम्म छ । तर, काङ्ग्रेस नेतृत्व अधिवेशन पनि नगर्ने र सङ्घीय संरचनाअनुसार प्रदेश समिति बनाउन पनि नसक्ने लाचार अवस्थामा देखिँदै छ । यसरी पार्टी–संरचनाहरू नै नभएको अवस्थामा चलाइने जागरण अभियान कस्तो, कसरी र कति प्रभावकारी हुने हो– काङ्ग्रेसप्रति सहानुभूति राख्ने विश्लेषकहरू पनि ताजुव मानिरहेका छन् ।

कम्युनिस्ट एकाधिकारवाद र सरकारी स्वेच्छाचारिताका बीच काङ्ग्रेस अहिले अस्तित्वरक्षाको लडाइँमा रहेको तथ्यसँग तमाम प्रजातन्त्रवादी परिचित छन् । अकर्मण्य नेतृत्वका कारण काङ्ग्रेसको प्रजातान्त्रिक छवि, जुझारूपन, सङ्घर्षमय इतिहास, जागृत साङ्गठनिक अस्तित्व सबै–सबै खतरामा परेको छ । पार्टीप्रतिको जनवितृष्णाले इमानदार नेता–कार्यकर्ता पङ्क्तिमा निराशा र कहालीलाग्दो भाव पैदा गराएको छ । नेपाली राजनीतिमा अर्को भरपर्दो लोकतान्त्रिक शक्तिको अभावका कारण मात्र काङ्ग्रेसले पटक–पटक ‘अवसर’ पाएको तर्क अकाट्य सत्यको रूपमा स्थापित भइसकेको छ । यस्तोमा आन्तरिक लोकतन्त्रबिना चरम स्वेच्छाचारिताको अभ्यास गरेर अब पार्टीलाई फुलाउने, फलाउने या फैलाउने डिङ हाँक्नु हास्यास्पद कुरा मात्र हो ।

तसर्थ, कतै आशङ्का गरिएजस्तै पार्टीभित्रका विकृति या कमी–कमजोरी ढाकछोप गरी कार्यकर्ता अलमल्याउने र सर्वत्र उठिरहेको शीघ्र महाधिवेशनको मागलाई टार्नकै लागि मात्र ‘जागरण अभियान’ सञ्चालन गरिएको हो भने नेतृत्वको लागि यो प्रत्युत्पादक हुने निश्चित छ, किनकि कार्यकर्ता र आमजनता पनि आज निकै सचेत र जागरुक छन् । बरु जनतालाई भ्रमित तुल्याउनेतर्फ नलागी काङ्ग्रेसको वर्तमान नेतृत्व र सिङ्गै काङ्ग्रेसबारे जनता कस्तो धारणा राख्छन् भनी जागरण अभियानमार्फत बुझ्ने प्रयत्न गरिए काङ्ग्रेसको निम्ति लाभकारी सावित हुन सक्छ ।