भारत नै हो त रोलमोडल ?

भारत नै हो त रोलमोडल ?


  • बबिता बस्नेत

राष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा गत सालसम्म नेपाल सरकार भन्दै आउनुभएकोमा यसपटक ‘मेरो सरकार’ भन्नुभएपछि मुलुकमा एक किसिमको तरङ्ग छाएको छ । विगत वर्षहरूमा नेपाल सरकार या सरकार मात्र भन्दा राम्रो सुनिएको थियो कि यो वर्ष ? भनेर पहिला र अहिलेको सम्बोधनको तुलना गर्दा खै किन हो ‘मेरो सरकार’ भन्दा ‘नेपाल सरकार’ भनेकै राम्रो सुनियो ।

कुनै कुरा राम्रो लाग्यो भने अङ्ग्रेजीभाषीहरूमा ‘साउन्ड ग्रेट’ भन्ने चलन छ, मिलाएर हेर्दा विगतकै सम्बोधन ‘साउन्ड बेटर’ लाग्यो । राष्ट्रपति स्वयम्लाई कस्तो लाग्यो थाहा भएन, तर राष्ट्रपतिलाई बारम्बार विवादमा नतानिदिए हुन्थ्यो भन्ने चाहना राख्नेहरूलाई भने यसप्रकारका कतिपय कुरामा राष्ट्रपति स्वयम्को ध्यानाकर्षण भए हुन्थ्यो जस्तो लागिरहेको छ ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नै ओझेलमा पर्ने गरी चर्चा पाएको ‘मेरो सरकार’लाई लिएर प्रधानमन्त्री केपी ओली र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालको प्रतिक्रिया ‘इन्ट्रेस्टिङ’ छ । प्रधानमन्त्रीले भारतमा राष्ट्रपतिले ‘माई गभर्मेन्ट’ भन्छन्, माई गभर्मेन्ट भनेको मेरो सरकार त हो नि भन्नुभएको छ । कुरा सही हो, अङ्ग्रेजीमा ‘माई गभर्मेन्ट’को अर्थ नेपालीमा मेरो सरकार नै हो, तर संवैधानिक रूपमा भने दुई देशका राष्ट्रपतिलाई दिइएको अधिकार फरक छ ।

भारतको संविधानको धारा ५२ मा राष्ट्रपतिको व्यवस्था गरिएअनुरूप धारा ५३ मा कार्यकारी अधिकार राष्ट्रपतिलाई दिइएको उल्लेख छ । ‘राष्ट्रपति सरकारको, संसदीय प्रणालीको संवैधानिक प्रमुख हुनेछ’ भनी संविधानमै तय गरिएको छ । नेपालको संविधानको धारा ६१ मा राष्ट्रपतिको व्यवस्था गरिएको छ । जसमा ‘राष्ट्रपति राष्ट्राध्यक्ष हुनेछ, निजले यस संविधानको सङ्घीय कानुनबमोजिम आफ्नो कार्य सम्पादन गर्नेछ, राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्नेछ, संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ’ भनिएको छ ।

‘मेरो’ शब्द आफैँमा सही हो या होइन भन्दा पनि यहाँ प्रधानमन्त्री र उहाँका सल्लाहकारबाट जसरी ‘जस्टिफाई’ गर्ने कोसिस गरियो त्योचाहिँ नीति तथा कार्यक्रममा उल्लेख गरिएको ‘मेरो सरकार’भन्दा बढी असहज लाग्दो छ ।

यसरी हेर्दा नेपालको संविधानले संसदमा या कतै पनि बोल्दा राष्ट्रपतिले मेरो सरकार भनी उल्लेख गर्नुपर्ने परिकल्पना गरेको छैन । नेपालको संविधानमा राष्ट्रपतिलाई लैङ्गिक तटस्थ शब्द प्रयोग गरिएको छ । भारतीय संविधानमा भने अङ्ग्रेजीमा पुरुषार्थी शब्द ‘हिज’ प्रयोग गरिएको छ । यद्यपि भारतमा महिला राष्ट्रपति भइसकेको अवस्था छ ।

प्रतिभा पाटिल भारतकी अहिलेसम्मकी एक मात्र महिला राष्ट्रपति हुन् । संविधानले पदको मात्रै परिकल्पना गरेको, तर को कतिबेला प्रधानमन्त्री, को राष्ट्रपति हुन्छ त्यसबारे परिकल्पना नगरेका कारण हरेक राष्ट्रपतिले समान तरिकाले संविधानको पालना गर्नुपर्ने नै देखिन्छ । यो हिजो रामवरण यादव या आज विद्या भण्डारीको कुरा मात्र होइन, भोलि जो राष्ट्रपति भए पनि लागू हुने कुरा हो ।

‘मेरो’ शब्द आफैँमा सही हो या होइन भन्दा पनि यहाँ प्रधानमन्त्री र उहाँका सल्लाहकारबाट जसरी ‘जस्टिफाई’ गर्ने कोसिस गरियो त्योचाहिँ नीति तथा कार्यक्रममा उल्लेख गरिएको ‘मेरो सरकार’भन्दा बढी असहज लाग्दो छ । हामीकहाँ भारतलाई हेर्ने दृष्टिकोण गजबको छ । कुनै कुरामा जब आफूलाई अप्ठ्यारो पर्छ भारतको उदाहरण दिने, भारतमा यस्तो गरिन्छ भन्ने, अरू बेला जति भारतलाई गाली गर्न सक्यो त्यति ठूलो राष्ट्रवादी । भारत र राष्ट्रवादबीच कुनै सम्बन्ध छैन । कुनै बाह्य मुलुकलाई गाली गर्नु नभई आफ्नो देशलाई निसर्त माया गर्नु राष्ट्रवाद हो । प्रधानमन्त्रीको मेरो सरकारवाला स्पष्टीकरणले अब के भारतले जे गऱ्यो हामी त्यही गर्ने हो त ? भारतले गरेका सबै कामलाई हामी पछ्याउन सक्छौँ ? यदि भारतले जे गर्छ हामी त्यही गर्ने हो भने नेपाल अलग्गै देश हो भन्नेचाहिँ कसरी ? लगायतका प्रश्नहरू उब्जाइदिएको छ ।

राजाले ‘मेरो सरकार’ भनेका थिए भने पनि अन्य बोलीचालीमा राजा–महाराजाहरू ‘हामी’ शब्दको प्रयोग गर्थे, गर्छन् । हामीबाट यस्तो भएको छ लगायत धेरै कुरामा विगतमा राजाहरूबाट प्रयोग भएका ‘हामी’ शब्द हामीले पनि सुनेकै हौँ ।

हामीले बिर्सनै नहुने कुराचाहिँ के हो भने विश्वमा १८ वटा मुलुक स्वतन्त्र बाँकी रहँदा नेपाल एउटा थियो । प्रश्न अर्को पनि छ, ‘मेरो सरकार’ मात्रै भारतबाट सिक्ने कि जनतालाई गच्छेअनुसार धान्न सक्ने सर्वसुलभ खाद्यान्न, उद्योग–व्यवसायको सञ्चालन, आत्मनिर्भरतालगायतका अन्य सुविधा दिने कुरा पनि सिक्ने ? के भारत नै हाम्रो ‘रोलमोडल’ हो ? प्रधानमन्त्रीका सल्लाहकारले राजा र राष्ट्रपति उस्तै त हो नि भनी दिएको प्रतिक्रिया पनि आश्चर्यजनक छ । यदि उस्तै हो भने राजा किन हटाएको त ?

‘मेरो सरकार’ शब्दलाई लिएर जे–जति प्रतिक्रिया राष्ट्रपतिका नाममा आए त्यसको उत्तरदायित्व सरकारले लिनुपर्छ । नीति तथा कार्यक्रममा जे, जति र जस्ता शब्दहरू उल्लेख छन् ती सबै सरकारले तयार गरेका हुन् । नीति तथा कार्यक्रम एक–दुईजनाले बनाउने कुरा पनि होइन, मन्त्रिपरिषद्बाट पास गरेर राष्ट्रपतिसमक्ष पु¥याइने हो । राष्ट्रपतिले पढेर त्यसप्रकारका शब्दहरू राख्न मिल्ने हो या होइन भनी सुझाब दिने ठाउँ भने थियो ।

म र मेरो शब्द आफैमा निजी हुन् । प्रेरणादायी अभिव्यक्तिसमेत दिने लेखक डेभिड बुर्कुसले लेखेका छन्– यदि तिमी हाकिम हुन चाहन्छौ भने मेरो शब्द प्रयोग गर, नेता हुन चाहन्छौ, नेतृत्व लिन चाहन्छौ या नेतृत्वमा छु भन्ने महसुस गर्छौ भने हामी शब्दको प्रयोग गर । अङ्ग्रेजी शब्द आई (म) र वी (हामी) लाई लिएर विभिन्न चर्चा हुने गर्छ । नेपालीमा पनि हामी ‘मपाईं’ राम्रो होइन भनेर कुरा गरिरहेकै हुन्छौँ । शब्द चयनले मानिसको एटिच्युडको प्रतिनिधित्व गरिरहेको हुन्छ, चाहे त्यो व्यक्तिगत जीवनमा होस् या सार्वजनिक ।

म र मेरो शब्द निजी हुन् कि सार्वजनिक भन्ने विषयमा हामीकहाँ खासै चर्चा हुने गरेको छैन । मपाईं प्रवृत्ति (आई एटिच्युड) निजी र सार्वजनिक दुवै अवस्थामा राम्रो होइन । असुरक्षित महसुस गर्ने मानिसको बोलीचालीमा ‘म’ आउँछ भनिन्छ । फराकिलो सोच राख्ने मानिसले मैले गरेँ, म यस्तो, यो त मैले गर्दा भएको हो लगायतका कुराहरू गर्दैन । राम्रो नेतृत्वले टिमको कुरा गर्छ, एक्लै गरेर हुने पनि केही छैन ।

कम्युनिस्टहरूको त ‘मेरो’ भन्ने खासै केही हुँदैन भन्ने मान्यता हुन्छ जस्तो लाग्छ । मूल्य, मान्यता र व्यवहारबीच फरक आइसकेको अवस्थामा ‘हामी’बाट ‘म’ मा हुँदै गएको रूपान्तरणलाई पार्टीगत तहमा भए खासै आश्चर्य नमाने हुन्थ्यो होला, तर सरकारकै कुरा भएकाले असहज लागेको हो ।

राजाले ‘मेरो सरकार’ भनेका थिए भने पनि अन्य बोलीचालीमा राजा–महाराजाहरू ‘हामी’ शब्दको प्रयोग गर्थे, गर्छन् । हामीबाट यस्तो भएको छ लगायत धेरै कुरामा विगतमा राजाहरूबाट प्रयोग भएका ‘हामी’ शब्द हामीले पनि सुनेकै हौँ । राजभाषामा हामी शब्द बेलायतका राजा हेनरी द्वितीयले सन् ११६९ मा पहिलोपटक सार्वजनिक सम्बोधनमार्फत प्रयोगमा ल्याएका थिए भनी इतिहासमा उल्लेख छ । नेतृत्व विकासको सन्दर्भमा ‘मदेखि हामीसम्मको यात्रा’को प्रशिक्षण लिइएको र दिइएको पनि छ ।

कतिपय सन्दर्भमा हाम्रोभन्दा मेरो शब्द राम्रो सुनिन्छ । जस्तै, मेरो देश भन्दा देशभक्ति र मेरो पार्टी भन्दा आफ्नोपन महसुस हुन्छ । तर, मेरो पार्टी भनेर नेपाली काङ्ग्रेसमा वर्षौंदेखि जय नेपाल भन्दै हिँडिरहेका कुनै काङ्ग्रेस कार्यकर्ताले भन्दा जति राम्रो सुनिन्छ, सभापति शेरबहादुर देउवाले भन्दा अर्कै अर्थ लाग्छ । नेतृत्वले बोल्दा, शब्द प्रयोग गर्दा बढी सचेत हुनुपर्ने हुन्छ । ‘म’बाट हामीमा जाँदा सर्वसाधारणबाट राजा भइने होइन अवधारणा बदलिने हो भनी कहीँ कतै पढेको थिएँ । तर, यहाँ त राजाजस्तो हुनलाई ‘मेरो’ भनियो भन्ने कुरा आयो, जुन गलत हो ।

राजाहरू मेरो होइन हाम्रो शब्द प्रयोग गर्छन् । यता, कम्युनिस्टहरूको त झनै मेरो भन्ने खासै केही हुँदैन भन्ने मान्यता हुन्छ जस्तो लाग्छ । मूल्य, मान्यता र व्यवहारबीच फरक आइसकेको अवस्थामा ‘हामी’बाट ‘म’मा हुँदै गएको रूपान्तरणलाई पार्टीगत तहमा भए खासै आश्चर्य नमाने हुन्थ्यो होला, तर सरकारकै कुरा भएकाले असहज लागेको हो ।