विश्व ऱ्याफटिङ च्याम्पियनसिपमा नेपालले प्रतिस्पर्धा गर्ने

विश्व ऱ्याफटिङ च्याम्पियनसिपमा नेपालले प्रतिस्पर्धा गर्ने


विश्व ऱ्याफटिङ च्याम्पियनसिपमा सहभागी हुन सात खेलाडीसहित आठ सदस्यीय नेपाली टोली वैशाख २४ गते मंगलबार अस्ट्रेलियाको क्विन्सल्यान्ड प्रस्थान गरेका छन् । मे १३ देखि २० तारिखसम्म हुने प्रतियोगितामा शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ, सुनिल गुरुङ र रबिल मियाँले पुरुष खुला टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा सुरज गुरुङ रहेका छन् ।

टिममा २५० मिटरको स्प्रिन्ट, ३५० मिटरको हेड टु हेड, ४५० मिटरको स्लालम र २१–२५ मिटरको डाउन रिभर रेसमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । नेपालले मे १६ तारिखमा स्प्रिन्ट, मे १७ मा हेड टु हेड, मे १८ मा स्लालम र मे १९ मा डाउन रिभर रेसमा सहभागिता जनाउनेछ ।

नेपालले विश्व च्याम्पियनसिपमा दोस्रोपटक सहभागिता जनाउन लागेको हो । २०१७ मा जापानमा भएको विश्व च्याम्पियनसिपमा नेपालले पहिलोपटक सहभागिता जनाएको थियो । त्यति बेला खेलेका कुनै पनि खेलाडी अहिलेको टिममा छैनन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले बिदाइ गरे । प्रतियोगितामा २९ राष्ट्रको सहभागिता रहने बताइएको छ ।