समृद्धशाली भेनेजुएला ‘खरानी’मा परिणत

समृद्धशाली भेनेजुएला ‘खरानी’मा परिणत


  • छत्र मैनाली

सन् २०१३ मार्च ५ तारिखमा निवर्तमान राष्ट्रपति हुगो राफाएल चाभेजको निधनपश्चात् भेनेजुएलाको राजनीतिक सङ्कट इतिहासमै नाजुक बन्न पुगेको छ । हुगो चाभेजको उत्तराधिकारीको रूपमा उदाएका राष्ट्रपति निकोलस मादुरोको अनुभवहीन कार्यशैलीले मुलुक टाट पल्टिएको घोषणा हुन मात्र बाँकी छ ।

सन् २०१४ को फेब्रुअरी ०४ तारिखका दिन ताचिरा राज्यको सदरमुकाम सान क्रिस्टोबलस्थित आन्देस विश्वविद्यालयमा अध्यनरत एक छात्रामाथि बलात्कार प्रयासको विषयलाई लिएर विद्यार्थी आन्दोलन शुरु भएको थियो । ताचिरा राज्यको सदरमुकाम सान–क्रिस्टोबल र मेरिदा राज्यबाट एकसाथ शुरु गरिएको विद्यार्थी आन्दोलनले देशव्यापी आकार लियो । विद्यार्थी आन्दोलन शुरु भएको २ दिनमै लाखौँको सङ्ख्यामा सर्वसाधारणहरू सहभागी बनेर आन्दोलनप्रति ऐक्यबद्धता जनाए । आन्दोलन शुरुवातीको छोटो समयमै सरकारीपक्ष स्तब्ध हुँदै आन्दोलनकारीमाथि व्यापक धरकपट, गिरफ्तारी, बेपत्ता बनाउँदै आन्दोलन दबाउने प्रयासमा राज्य शक्तिको हदैसम्मको दुरुपयोग भयो । फेब्रुअरी ८ र ९ मा भएको देशव्यापी प्रदर्शनमा सरकार पक्षले बलजफ्ती पक्राउ गरेर झुटो अभियोग लगाएर थुनामा राखिएका आन्दोलनकारीलाई बिनासर्त रिहा गरिनुपर्ने माग थियो । तर, सरकार पक्षले आन्दोलनकारीको कुरा सुन्नुभन्दा दमनकारी बाटो अख्तियार गरेर तानाशाही चरित्र प्रस्ट पारेको थियो । सरकारी पक्षको यस्तो तानाशाही चरित्रको घोर विरोध गर्दै विपक्षी दलहरूसमेत विद्यार्थी आन्दोलनमा सहभागी भएका थिए ।

सन् २०१४ फेब्रुअरी १२ तारिख राजधानी काराकासमा विपक्षी दलसहितको प्रदर्शनमा राष्ट्रपति निकोलस मादुरोले पूर्वराष्ट्रपति हुगो राफाएल चाभेजले गठन गरेको तुपामारो रिभोलसनरी मोभमेन्ट (एमआरटी) का सशस्त्र समूहलाई आह्वान गरेर प्रदर्शनकारीविरुद्ध लड्न निर्देशन दिए । राष्ट्रपति मादुरोको आह्वानलाई शिरोपर गर्दै तुपामारो समूहका गुरिल्लाहरू आन्दोलनकारीमाथि हातहतियारसहित अरिँगाल खनिएजसरी खनिए । किनकि सरकार हिंसात्मक घटना घटाएर त्यसको दोष विपक्षी दलको टाउकामा थोपर्न चाहन्थ्यो । तुपामारो रिभोलसनरी मोभमेन्ट (एमआरटी) सन् १९९२ मा हुगो राफाएल चाभेजले पूर्वराष्ट्रपति कार्लोस आन्द्रेस पेरेजको सत्ताच्युत गराउन गठित हतियारधारी समूहको अराजनीतिक अवैध सङ्गठन हो । उक्त हतियारधारी समूहलाई वर्तमान राष्ट्रपति निकोलस मादुरोले निरन्तर अदृश्य वैधता दिएर सरकारी कोषको समेत दुरुपयोग गरेको छ । तुपामारो सङ्गठनलाई सरकारी आर्थिक सहयोग निरन्तर रहेको कारण सरकारको पक्षमा लड्दै आएको छ ।

साथै राज्य नियन्त्रित सेना, प्रहरीले समेत राज्य शक्तिको दुरुपयोग गर्दै आन्दोलनकारीमाथि ताकी–ताकी गोली हान्ने, अश्रुग्यास, हवाईफायर गरेर आन्दोलन जसरी हुन्छ दबाउने प्रयत्न गरेका थिए । फेब्रुअरी १२ तारिखकै दिन एमआरटीका गुरिल्लाहरूले खोलेको पहिलो फायरले एकजना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको थियो भने उक्त दिन कम्तीमा अन्य पाँचजनाको मृत्यु भएको थियो । तर, सरकार पक्षले भने अवैध भिजिलान्तेको घुसपैठको कारण ६ जनाले ज्यान गुमाउनुपरेको भन्दै सरकारी पक्षको बचाऊ गरेको थियो । तर, तमाम सबुत प्रमाणले भने सरकारको दाबीलाई पत्याउन सकिने आधार थिएन ।

उक्त दिनको आन्दोलनमा सरकार पक्षबाट सेना, प्रहरी, एमआरटी, चाभेजका समर्थक, भाडाका समूहलाई समेत परिचालन गरेर आन्दोलनकारीलाई तहसनहस बनाउने योजनामा मादुरो सरकार रहे पनि दिन प्रतिदिन आन्दोलनले उचाइ लिँदै गएको थियो ।

संयुक्त राष्ट्रसङ्घ, एमनेस्टी इन्टरनेसनल, इन्टरनेसनल हुमन राइट्स वाचलगायतका अन्तर्राष्ट्रिय सङ्घसंस्थाले भेनेजुएलमा सरकार पक्षले जारी राखेको मानवताविरोधी कार्यको घोर भत्र्सना गरेका थिए । नागरिकको जनधनको सुरक्षा, मानवअधिकार हननको विषयलाई लिएर सरकारको ध्यानाकर्षण गराएका थिए । तर, सरकार भने अन्तर्राष्ट्रिय सङ्घसंस्था, सञ्चारमाध्यमलाई नियन्त्रण गर्दै प्रवेशमा समेत प्रतिबन्ध लगाउने योजनामा लागेको थियो । भेनेजुएला सङ्कटलाई लिएर सरकारमाथि विश्वव्यापी दबाब सिर्जना हुँदा मादुरो सरकारलाई दबाब झेल्न हम्मेहम्मे परेको थियो ।

भेनेजुएला सरकारले निकटतम मित्र मान्दै आएको मुलुक क्युवाबाट सैन्य सहयोग लिएको समाचारले केही दक्षिण अमेरिकी मुलुकबाहेकका अधिकांश दक्षिण अमेरिकी मुलुकहरू झस्केका थिए । यसैबीच छिमेकी मुलुक पानामासँगको दौत्यसम्बन्धको अन्त्यले भेनेजुएला सरकार झनै अप्ठ्यारो अवस्थामा पुगेको थियो । भेनेजुएला सरकारको अवैध हर्कतले छिमेकी मुलुकहरू तनावमा मात्र थिएनन् । जसरी हुन्छ भेनेजुएला सङ्कटको शान्तिपूर्ण तरिकाले समाधान खोजिनुपर्नेमा एकमत थिए ।

वास्तवमा भेनेजुएलामा जारी राजनीतिक सङ्कट निवारण हुन नसक्नुको कारणमध्ये विश्व शक्ति राष्ट्रहरूको स्वार्थ पनि एककारण हो । विशेष गरेर रुस, चीन, क्युवालगायतका मुलुक भेनेजुएला सरकारको पक्षमा उभिएका छन् । भेनेजुएलाको स्वाधीनता, स्वतन्त्र सार्वभौम सत्तामाथिको बाह्य हस्तक्षेप सह्य नहुने चेतावनी दिँदै आएका छन् । यही विषयमा नेकपाका अध्यक्ष प्रचण्डले समेत भेनेजुएला सरकारको समर्थन साम्राज्यवादी शक्तिको घोर विरोध गर्दै विज्ञप्ति जारी गरिसकेका छन् । अमेरिका, क्यानडा, युरोपियन युनियनलगायतका मुलुकहरू भेनेजुएलामा जारी राजनीतिक सङ्कटको अन्त्य एक मात्र विकल्प प्रजातन्त्र स्थापनामार्फत जनताको जिउधनको सुरक्षा, मानवअधिकारको सुनिश्चितता, प्रेस स्वतन्त्रता, दण्डहीनताको अन्त्य, विकासले स्थायित्व लिन सक्नेमा एकमत छन् । विश्व शक्ति राष्ट्रहरू दुई ध्रुवमा विभाजन हुनुको कारण पनि निरन्तर चलिरहेको आन्दोलनले बिट मार्न नसकेको हो ।

यदि शक्तिराष्ट्रहरूको आ–आफ्नै निहित स्वार्थ रहिरहने हो भने भेनेजुएलमा प्रजातन्त्र स्थापनाको विषय शङ्काकै घेरामा रहन्छ ।

यो स्तम्भकारले सन् २०१३ को डिसेम्बर महिनामा पहिलोपटक भेनेजुएलाको लामो स्थलगत भ्रमण गरेको थियो । पारिवारिक सम्बन्ध गाँसिएको मुलुक हुनाले भ्रमण अवधिभर त्यहाँका स्थानीय समुदाय, धर्म–संस्कृति, शासन–व्यवस्था, वस्तुस्थितिलाई नजिकबाट बुझ्ने, हेर्ने मौका मिलेको थियो । भौगोलिक बनावट, हावापानी, प्राकृतिक सम्पदा, असाध्यै लोभलाग्दा थिए । स्थानीयहरूको सद्भाव, सहिष्णुता बिर्सिन नसक्नुको थियो । पेट्रोलियम, ग्यास, सुन, आल्मुनियमको भण्डार रहेको भेनेजुएला आन्देस पर्वतमालाले ढाकिएको, पर्यटकीय क्षेत्रका लागि समेत प्रख्यात मुलुक हो । यति हुँदाहुँदै पनि उग्र राष्ट्रवादको नाममा मुलुक टाट पल्टिने अवस्थामा पुग्नु ठूलो दुर्भाग्य हो । हाम्रो भ्रमण अवधिभर जो जति स्थानीयहरूसँग संवाद भयो । प्रायः सबैले सरकारको रवैयाप्रति असन्तुष्टि जनाएका थिए । पूर्वराष्ट्रपति हुगो राफाएल चाभेजप्रति भने सहनाभूति प्रकट गर्दथे । कम्तीमा हुगो चाभेजले अमेरिकालगायत साम्राज्यवादी शक्तिको विरोध गरे पनि जनतालाई न्यूनतम आधारभूत सुविधाबाट वञ्चित गरेको थिएन भन्दै स्मरण गर्दथे ।

हुगो चाभेज समग्र भेनेजुएलन जनताको मनमा बस्न सफल राजनेता थिए । जब हुगो चाभेजको अप्रत्यासित मृत्यु भएको घोषणा भयो । भेनेजुएलन जनता चाभेजको मृत्युलाई सहजै स्वीकार गर्न तयार थिएनन् । चाभेजको मृत्यु कालगतिले भन्दा पनि षड्यन्त्र गरेर मारिएको विश्वास गर्नेको सङ्ख्या अहिले पनि कमी छैन । कारण आमभेनेजुएलन जनताको मनमनमा, ल्याटिन अमेरिकी मुलुकलगायतमा हुगो चाभेजको बढ्दो लोकप्रियता तिनकै निकटतमहरूलाई पाच्य भइरहेको थिएन । जब क्युवाबाट हुगो चाभेजको लास राखिएको भनिएको काठको बाकस काराकस उतारे । जसरी लोकप्रिय राजा वीरेन्द्रको शवयात्रामा मानव सागर उर्लेको थियो त्यसै प्रकृतिको मानव सागर उर्लेको थियो चाभेजको मृत्युशोकमा ।

तर, उक्त काठको बाकसमा हुगो चाभेजको वास्तविक मृत शरीर थियो वा थिएन भन्नेमा अहिलेसम्म स्पष्ट छैन । चाभेजको अनुहारसँग मिल्दोजुल्दो कृत्रिम आकृति बाकसमा सजाएर सर्वसाधारणलाई देखाउने काम भएको थियो भन्ने गर्छन् चाभेजका समर्थकहरू । २०१३ को फेब्रुवरी महिनामै चाभेजको निधन भएको विश्वास गर्ने चाभेजका समर्थकहरू सरकारले औपचारिक घोषणा नगरेको कारण पर्खेर बसेका थिए । देश र जनतालाई केन्द्रमा राखेर शासन गरेका कारण बिपक्षीहरू समेत चाभेजको भित्रि समर्थक थिए । चाभेज सरकारकै पालामा न्यून आय भएकाहरूको निम्ति टोलटोलमा मेर्काल (सरकारी स्वामित्वमा खुलेका सुपथमूल्य पसल) खुलेका थिए । लाइन बसेर भए पनि नियमानुसार दैनिक उपभोग्य वस्तु उपलब्ध हुन्थ्यो । जसले न्यून आय भएकाहरूको निम्ति बरदान साबित थियो ती मेर्कालहरू । तर, अहिले ती मेर्कालहरू रित्ता खण्डहरझैँ लाग्दछन् ।

आमस्थानीयहरूको गुनासो सोसलिस्टको नाममा सरकारले मानवताविरुद्धको अपराध गरेर देश डुबाउने काम गरेको छ । आँखैअगाडिको समृद्धशाली भेनेजुएला खरानीमा परिणत गरायो । निवर्तमान राष्ट्रपति हुगो चाभेजको सबैभन्दा ठूलो कमजोरी मुलुकलाई यथास्थितिमा राखेर प्रजातन्त्र स्थापना गर्नबाट चुकेको बताउँछन् । हुगो चाभेजले चाहेको भए भेनेजुएला समृद्धशाली नै रहन्थ्यो । पुरातन सोच र मान्यतालाई तोड्न नसक्नु नै कमजोरीको रूपमा रह्यो । चाभेजले चाहेको भए अमेरिकी महादेशमा भेनेजुएलाको पहिचान अग्रस्थानमा रहन्थ्यो । चाभेजपछिको उत्तराधिकारी खासै लोकप्रिय हासिल गर्न सक्ने किसिमका थिएनन् । मजदुर आन्दोलनमा सहभागी बनेर उदाएका निकोलस मादुरो सार्वजनिक गाडी चलाउने अनुभवभन्दा राजनीतिक क्षेत्रमा अनुभवविहीन थिए । हुगो चाभेजको विश्वास जित्न सफल भएका कारण राजनीतिक अनुभवहीन भए पनि अनुभवीको बिल्ला लगाउन पुगे जसको कारण भेनेजुएलाको राजनीतिक अवस्था लथालिङ्ग हुन पुगेको छ ।

पछिल्लो समय तेल र ग्यासको भण्डार रहेको मुलुकमा चरम लोडसेडिङ, खानेपानीको अभाव, खाना पकाउन ग्यासको अभावले दाउराको सहारा, असुरक्षा, दिनप्रतिदिन मुलुक छाडेर सुरक्षाको खोजीमा बाहिरिनेको सङ्ख्या करोडको हाराहारीमा, पेट्रोलियम उत्पादनको कच्चापदार्थ अफ्रिकी मुलुक नाइजेरियाबाट आयात गर्दै गरेको दृश्य देख्दा लाग्दछ एउटा सन्की, विवेकहीन, अनुभवविहीन विदेशी कठपुतली तानाशाहले समृद्ध मुलुकलाई कसरी सहजै टाट पल्टाउँदो रहेछ भन्ने विश्वले पाठ सिक्न सक्नुपर्दछ, हिजोको समृद्ध भेनेजुएला र आजको भेनेजुएली शासकबाट । सरकार पक्षको अत्याचारविरुद्ध विश्व समुदायलाई जानकारी भए पनि जनताको मौलिक हक, मानवअधिकार, प्रजातन्त्र, शान्ति, राजनीतिक स्थायित्व, प्रेस स्वतन्त्रताजस्ता प्रजातान्त्रिक मूल्य र मान्यताका न्यूनतम आधारस्तम्भ कायम हुन सकेको छैन । प्रजातन्त्रप्रति आस्था राख्नेहरूका निम्ति दुःखदायी क्षण हो ।