कर्णाली प्रदेशस्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी हुँदै

कर्णाली प्रदेशस्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी हुँदै


नेपाल प्रज्ञा–प्रतिष्ठान र सुर्खेती कल्याण समाज, काठमाडौंको संयुक्त आयोजना तथा सुर्खेतस्थित विभिन्न साहित्यिक सङ्घ–संस्थाको सहकार्यमा यही सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी हुँदैछ ।

सोमबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा सङ्गोष्ठीको सबै तयारी पूरा भएको र आगामी शुक्रबार र शनिबार गोष्ठी आयोजना हुने समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक प्राडा जीवेन्द्रदेव गिरीले जानकारी दिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्ने सङ्गोष्ठीमा कर्णाली प्रदेशका लोकवार्ता विषयमा प्रा.डा. चूडामणि बन्धु, कर्णाली प्रदेशमा गद्यसाहित्यको वर्तमान अवस्था र भावी दिशा विषयमा डा. दीपक गौतम, कर्णाली प्रदेशमा प्रचलित शैव, वोन र बौद्ध धर्म–दर्शनको परम्परा विषयमा विष्णुप्रसाद पराजुली, नेपाली कवितामा कर्णाली प्रदेशको योगदान विषयमा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव एवम् दर्शन विभाग प्रमुख प्रा. जगतप्रसाद उपाध्याय र कर्णाली प्रज्ञा–प्रतिष्ठानको आवश्यकता र सम्भावना विषयमा प्रा.डा. जीवेन्द्रदेव गिरीले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सङ्गोष्ठीमा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. उपाध्याय, काव्य विभाग प्रमुख प्राज्ञ डा. हेमनाथ पौडेल, निबन्ध तथा समालोचना विभाग प्रमुख प्राज्ञ प्रा.डा. गोपिन्द्र पौडेल र बालसाहित्य तथा लोकवार्ता विभाग प्रमुख प्राज्ञ डा। देवी नेपालको सहभागिता रहने प्रज्ञा–प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रम संयोजक प्रा.डा. गिरीका अनुसार सुर्खेत शिक्षा क्याम्पसको ठूलो हलमा हुने सङ्गोष्ठीमा गजल सन्ध्या, काव्य प्रस्तुतिका साथै विविध सांस्कृतिक कार्यक्रम हुनेछन् ।