विश्वभरका एनआरएन सिड्नीमा भेला हुँदै

विश्वभरका एनआरएन सिड्नीमा भेला हुँदै


  • राजन घिमिरे, अष्ट्रेलिया

गैरआवासीय नेपालीहरूको वृहत सम्मेलन अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको छ । यही मे ११ (आगामी शनिबार) मा उदघाटन भई दुई दिन चल्ने गैरआवासीय नेपाली संघको उक्त ओसिनिया क्षेत्रीय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका संयोजक तथा एनआरएन ओसेनिया संयोजक धर्मराज अधिकारीले जानकारी दिएका छन् ।

गैरआवासीय नेपालीहरू माझ निकै चासो र विशेष महत्वका साथ हेरिएको यो सम्मेलनमा विभिन्न क्षेत्र र पेशासँग आवद्ध ब्यक्ति–ब्यक्तित्वहरूको सहभागिता रहने बताइएको छ । ‘समृद्ध नेपालको लागि एनआरएन सदैव र सबैको लागि’ भन्ने मूल नारामाथि सम्मेलन आधारित रहने छ ।

सम्मेलनमा सहभागिताका लागि नेपालबाट कानुनमन्त्री भानुभक्त ढकाल, अस्ट्रेलियाको संघीय सरकारका अध्यागमन मन्त्री डेबिड कोलम्यान, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसी, सह–कोषाध्यक्ष सोम सापकोटालगायत विदेशी प्रतिनिधिहरू पनि उपस्थिति हुने बताइएको छ । सम्मेलनमा न्युजिल्याण्ड, भानुवातुलगायतका देशबाट पनि प्रतिनिधि आउनेछन् ।

‘इन्भेस्टमेन्ट, इनोभेसन र टुरिजम’ भन्ने विषयमा केन्द्रित हुने सम्मेलनमा यस क्षेत्रका बुद्धिजीवीले कार्यपत्रहरू पेश गर्ने र त्यसमाथि ब्यापक बौद्धिक तथा ब्यबहारिक बहस हुने आयोजक समितिका संयोजक तथा एनआरएन ओसेनिया संयोजक अधिकारीले बताए ।

सम्मेलनमा क्यानाडाबाट डा. प्रमोद ढकाल, अमेरिकाबाट डा. अम्बिका अधिकारी, अस्ट्रेलियामा क्रियाशील डा. राजु अधिकारी, डा. कुश श्रेष्ठ, डा. कृष्ण हमाललगायतले विभिन्न विषयमा कार्यपत्र पेश गर्नेछन् । सम्मेलनका निष्कर्षहरू नेपालको विकास निमार्णका लागि निकै उपयोगी हुने दाबी गरिएको छ ।

सम्मेलनको पहिलो दिन बिहानदेखि बेलुकासम्म लगानी, पर्यटन प्रवर्द्धन अनि विदेशमा सिकेको सिप र ज्ञानलाई नेपालको विकासमा कसरी लान सकिन्छ भन्ने विषयमा छलफल हुने कार्यक्रम रहेको छ भने दोस्रो दिन कार्यक्रमको समापन र सिड्नी घोषणापत्र सार्वजनिक गरी अतिथिलाई सिड्नी भ्रमणको ब्यवस्था समेत गरिएको जनाइएको छ ।