इजरायलसँग युद्धविराम गर्न प्यालेस्टीनी सहमत





प्यालेस्टाइनी नेताहरु इजरायलसँग युद्धविरामको लागि सहमत भएका छन् । दुई दिनसम्म जारी भीषण हिंसापछि युद्धविराम सम्झौताको लागि सोमबार सहमति भएको जनाइएको छ ।

सो युद्धविरामको शर्तमा गाजातर्फबाट रकेट आक्रमण र इजरायलतर्फबाट हवाई आक्रमण रोकिनुपर्ने रहेको एएफपीले जनाएको छ ।

इजिप्टको नेतृत्वमा भएको यस युद्धविराम सम्झौता स्थानीय समयअनुसार सोमबार बिहान ४ः३० बजेबाट लागू हुने भनिएको छ । इजरायल र प्यालेस्टाइनबीच भएका सन् २०१४ पछिका द्वन्द्वहरुमा हाल जारी यो हिंसा नै भीषण रुपमा देखिएपछि युद्धविराम सम्झौता भएको बताइएको छ ।

इजरायल र प्यालेस्टाइनबीच दुई दिनसम्म जारी यस हिंसामा कम्तीमा २३ प्यालेस्टिनी मारिएका छन् । हवाई आक्रमणको क्रममा मारिएका ती प्यालेस्टाइनीहरुमा नौ जना आतङ्ककारी रहेका बताइएको छ । त्यसगरी इजरायलतर्फ पनि कम्तीमा चार व्यक्ति मारिएका र तीमध्ये तीन इजरायली रहेका थिए ।

इजरायलले दुई दिनसम्म जारी राखेको हवाई आक्रमणमा परी गर्भवती प्यालेस्टाइनी महिला र उनको बच्चा मारिएको भनी प्यालेस्टाइनका स्वास्थ्यमन्त्रीले दाबी गरेका थिए ।

प्यालेस्टाइनी आतङ्ककारी समूहले गाजातर्फबाट ४३० भन्दा बढी रकेट प्रहार गरेको इजरायली सेनाको दाबी रहेको थियो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार गाजापट्टिका आतङ्ककारीलक्षित थप हवाई आक्रमण गर्न सेनालाई आदेश दिएका थिए ।

प्रतिक्रिया