सिड्नीमा अनुभव बाँड्दै कुलमान, श्वेता र सविता

सिड्नीमा अनुभव बाँड्दै कुलमान, श्वेता र सविता


  • राजन घिमिरे, अष्ट्रेलिया

आफ्ना सुकर्मका कारण तमाम नेपालीको मन–मष्तिष्कमा बस्न सफल व्यक्तित्वहरू हुन् नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, सिने अभिनेत्री एवम् सवाजसेवी श्वेता खड्का र सविता उप्रेती । वर्षौंदेखिको लोडसेडिङबाट पीडित बनेका नेपालीलाई उज्यालो दिएर कुलमान, सिङ्गै माझीबस्तीलाई जीवन दिएर श्वेता र विकलाङ्ग बालबालिकाहरूको सहारा बन्दै शिक्षाको उज्यालो घाम प्रदान गरिदिएर सविताले नेपालीजनको मन जितेका हुन् ।

उदाहरणीय काम गरेर सबैको मन जितेका यी तीन व्यक्तित्वसँग साक्षात्कार गरी उनीहरूका प्रेरणादायी अनुभव प्रत्यक्ष सुन्ने चाहना कसलाई पो नहोला र ? हो, अष्ट्रेलियावासी नेपालीको यो चाहना पूरा हुने भएको छ । एनआरएनए अष्ट्रेलिया न्यू साउथ राज्यले यी तीन ब्यक्तित्वलाई सिड्नीमा प्रत्यक्ष भेट्ने अवसर जुटाइदिएको छ ।
सिड्नीको रगडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा यही मे महिनाको २६ तारिखमा यी तीन पात्रसँग साक्षात्कार एवम् अन्तरक्रिया गर्न पाइने छ । सो कार्यक्रममा यी ‘सेलिब्रेटी’हरूले आ–आफ्नो अनुभवमा आधारित प्रेरणादायी एवम् उर्जाशील प्रवचन दिने छन् ।

कार्यक्रमबारे एनआरएनए न्यु साउथ वेल्सका संयोजक नन्द गुरुङले भने– ‘उहाँहरूको जीवन–संघर्ष र लगनशीलताका पाटाहरू हामी सबैका लागि प्रेरणा बन्न सक्छ । जीवनमा यस्तो अवसर सधैं कहाँ प्राप्त हुन्छ र ?’

कार्यक्रममा नायिका श्वेता खड्काले चलचित्र र समाजसेवाका बारेमा आफ्ना अनुभूति पस्किने संयोजक सन्ध्या साहले जानकारी दिइन् । ‘यी ब्यक्तित्वहरूको अनुभव–विचार अष्ट्रेलियामा रहेका हामी नेपालीका लागि साँचै हौसलायुक्त हुने छन्’– कार्यक्रमका उपसंयोजक दीपक पहारीले थपे ।

सो कार्यक्रमबाट उठेको रकमको आधा हिस्सा नेपालमा आपाङ्गता भएका बालबालिकाको विद्यालयलाई सहयोग गरिने र बाँकी रकम गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको सामाजिक कल्याणकारी कोषमा जम्मा गरिने छ । हाल कोषमा ५० हजार डलरभन्दा कम रकम मात्र मौजुद रहेको जनाइएको छ ।

कोषका संयोजक दिनेश पोखरेलले गाला डिनरबाट कम्तीमा पनि २५ हजार डलर कोषमा जम्मा गरिने दाबी गरे । सबै मिलेर उदार हृदय दर्शाएमा यो असम्भव नभएको उनको भनाई छ ।

यसबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एनआरएनए ओसियानाका संयोजक धर्मराज अधिकारीले सबै मिलेर काम गरे सफलता हासिल गर्न समस्या नहुने धारणा राखे ।

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका संरक्षक इन्द्रा वन, सचिव देव गुरुङ, प्रवक्ता डिला खरेल, दिनेश जोशी लगायतले सफलताको शुभकामना दिनुभयो ।

यस गाला डिनरका प्रायोजक बाबा एजुकेशन कन्सल्टेनसीका संचालक रविन्द्रकुमार शर्माले यस्तो समाजिक कार्यमा साथ दिन पाउँदा खुसी लागेको र पवित्र कर्ममा जोडिन पाउनु गौरवको कुरा भएको बताए ।