ब्रुमर चले पनि हटेन धुलो

ब्रुमर चले पनि हटेन धुलो


काठमाडौं महानगरपालिकाको सडकमा विगत एक महिनादेखि ब्रुमर सञ्चालन हुँदै आए पनि सडकको धुलो नियन्त्रणमा आउन सकेको छैन । काठमाडौं उपत्यकामा प्रायः सधैंजस्तो पानी परेकाले ब्रुमरले नियमित रूपमा सडक सफा गर्न नसक्दा जनअपेक्षाअनुसार धुलो कम हुन नसकेको काठमाडौं महानगरपालिका वातावरण विभागले जनाएको छ ।

‘एकातिर पानी परिरहेको छ भने अर्कातिर पानीका कारण हुने हिलो माटो यातायातका साधनसँग आउने हुँदा पनि समस्या भएको छ,’ विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने, ‘सञ्चालनमा रहेका पाँच ब्रुमरबाट अहिलेसम्ममा दुई सय २० टन धुलो संकलन गरिसकिएको छ ।’ संकलित धुलो टेकुमा व्यवस्थापन गरिएको छ ।

महानगरको सडकमा ब्रुमर सञ्चालन भएको यही वैशाख २८ गते एक महिना पुग्दै छ । गत फागुन २८ गते इटालीबाट ल्याइएका ब्रुमर सञ्चालनका लागि कामपाले पाँचवटा रुट निर्धारण गरेको छ । सोही रुटअनुरूप काम गरिरहेको भए पनि सबै दिनमा काम गर्ने वातावरण नहुँदा समस्या भएको बताइएको छ ।

प्रमुख श्रेष्ठका अनुसार अर्को प्रमुख समस्याको रूपमा सडकमा रहेका खाल्डाखुल्डी छ । यसको समाधानका लागि सडक विभागलाई पनि आग्रह गरेको छ । नियमित पर्ने पानी र खाल्डाखुल्डीका कारण ब्रुमर सञ्चालनमा समस्या देखिएको छ ।

रु. १० करोड ८० लाखको लगानीमा ल्याइएका पाँच ब्रुमरमध्ये चारवटा १६ टन क्षमता र एउटा ६ टन क्षमताको छ । दैनिक १० किलोमिटरसम्मको धुलो संकलन गर्न सक्ने क्षमता रहेको सो ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् ।

खाल्डाखुल्डी र भूकम्पका कारण भत्किएका संरचना पुनर्निर्माणको कामले पनि समस्या भएको विभागले जनाएको छ । मुख्य सडक सुन्धारास्थित धरहरा, दरबार हाइस्कुल, रानीपोखरी, काठमाडौं भ्युटावर र बसपार्कमा विभिन्न स्थानबाट आएका सवारीसाधनले ल्याएका हिलो माटोका कारण सफा गर्न समस्या भएको महानगर वातावरण विभागले जनाएको छ ।

कानुनी रूपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र महानगरकोे जिम्मेवारीमा पर्दछन् भने अरू सडक विभागको मातहतमा रहेका छन् ।

स्थानीयवासीको गुनासो

ब्रुमर प्रयोगमा आए पनि सडक सफा नभएको नगरवासीको गुनासो छ । कालिमाटीका स्थानीयवासी विष्णु कँडेलका अनुसार ब्रुमर सञ्चालनमा आएको पनि एक महिना बित्नै लागिसक्यो, धुलो कम हुन सकेको छैन । उक्त समस्या जस्ताको तस्तै रहेको छ ।

‘यही अवस्था रहिरहने हो भने महँगो रकम खर्च गरेर ब्रुमर खरिद गर्नुको कुनै अर्थ छैन,’ कँडेलले भने । त्यसैगरी बागबजार, पुतलीसडक, भद्रकाली बालाजुलगायतका स्थानमा पनि धुलो कम नभएको स्थानीयवासीको गुनासो छ ।