प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट जेठमा

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट जेठमा


राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा तेस्रो प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता जेठमा पहिलो साता हुने भएको छ । प्रतियोगिता जेठ १ देखि २४ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने वैशाख २२ गते आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा हरेक दिन एक खेल हुनेछ । प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरी १० टिमको सहभागिता हुनेछ । १० टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको कुल बजेट एक करोड ७५ लाख रुपैयाँ रहेको छ । त्यसमा परिषदले ८० लाख रुपैयाँ उपलब्ध गराउनेछ भने बाँकी रकम नेपालय इन्टरनेसनलले जुटाउनेछ ।

प्रतियोगिताको पुरस्कारका लागि मात्र करिब ५० लाख रुपैयाँ खर्च हुनेछ । विजेताले २० लाख पाउनेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक मोटरसाइकल प्राप्त गर्नेछ भने उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान ५०–५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी खेल हेर्न पुग्ने दर्शकलाई ‘सिंगल ह्यान्डेड’ क्याच लिएमा ५० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिता सञ्चालन गर्ने सम्बन्धमा नेपालय इन्टरनेसनल र राखेपबीच पत्रकार सम्मेलनमै सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ । सम्झौतापत्रमा राखेपका सदस्यसचिव केशवकुमार विष्ट र नेपालय इन्टरनेसनलका तर्फबाट सुवासचन्द्र प्रधानले हस्ताक्षर गरे । सम्झौता यसै प्रतियोगिता आयोजना गर्नका लागि रहेको सदस्यसचिव विष्टले बताए । सदस्यसचिव विष्टले ५० ओभरको खेल नभइरहेका बेला यस्तो प्रतियोगिताले नेपाली क्रिकेटको विकासमा योगदान पुग्ने धारणा व्यक्त गर्दै पुरस्कारको रकम र मैदानको खर्च राखेपले व्यहोर्न पनि प्रस्ट पारे ।

नेपालय इन्टरनेसनका प्रधानले नेपालले एकदिवसीय मान्यता पाए पनि ५० ओभरको खेल हुन नसकिरहेको अवस्थामा यस्तो प्रतियोगिताले खेलाडीलाई फाइदा पुग्ने बताए । अब नेपालले टेस्ट मान्यता प्राप्त गर्नेतर्फ तयारी गर्नुपर्ने बेला भएकाले नेपालय इन्टरनेसनलले प्रतियोगिताको सुरुवात गरेको पनि बताए ।