अमेरिकामा बिमान चिप्लिएर नदीमा खस्यो

अमेरिकामा बिमान चिप्लिएर नदीमा खस्यो


संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा एक यात्रुबाहक बोइङ शनिबार धावन मार्गमा चिप्लिएर नदीमा खसेको छ । आँधी तुफानबीच अवतरण गर्ने क्रममा बोइङ ७३७ चिप्लिएको हो।

विमानमा सवार १४३ यात्रु सबै सकुशल रहेका तर केही यात्रुलाई भने तत्काल उद्धार गरी अस्पताल भर्ना गरिएको एएफपीले जनाएको छ ।

यो चार्टर्ड विमानको सञ्चालन मियामी एयर इन्टरनेसनलले गरेको थियो । उक्त बिमान क्युबाको ग्वान्तानामो बेबाट अमेरिकाको ज्याक्सनभिल्लतर्फ उडिररहेको थियो ।

बिमानका एक यात्रु एवं वकील शेरिल बोरम्यानले सिएनएनसँग बिमान जमिनमा बेस्सरी ठोक्किएको र त्यसपछि उछिट्टिएर नजिकैको नदीमा खसेको बताए । उनले आफूहरु पानीमा भए पनि कहाँ झरेको हो थाहा नभएको उल्लेख गरे। एकछिन त बिमान समुद्रमा खसेको हो वा नदीमा भन्ने थाहा पाउन नसकिएको अनुभव उनको थियो ।

नदीमा बिमान खस्नासाथ अक्सिजन मास्क लगाइएको र ढोका तुरुन्तै खुलेको पनि उनले जानकारी दिए ।ज्याक्सनभिल्ले नौसैनिक हवाई अड्डाका कमान्डिङ अधिकेत क्याप्टेन मिसेल कोन्नोरले बिमान दुर्घटनामा कसैको ज्यान जोखिममा नपरेकामा चमत्कार नै भएको प्रतिक्रिया दिए ।

उक्त ७३७–८०० विमान १८ वर्ष पुरानो हो । अमेरिकी बिमान कम्पनी बोइङ पछिल्ला दिनहरुमा ७३७ म्याक्स सिरिजका बिमानहरु दुर्घटनाका कारण ठूलो सङ्कटमा छ ।