गुरुङ समुदायमा घाँटु नाचको रौनक

गुरुङ समुदायमा घाँटु नाचको रौनक


  • छविलाल बगाले

गुरुङ समुदायमा घाँटु नाच लोकप्रिय छ । मादलको ताल र गितको टुक्कामा नाचिने घाँटु नाँच राजा परशुराम र रानी यम्फावतीको कथामा आधारित छ । गीत र मादलको तालमा नाच्दै गर्दा घाँटुसरीहरु बेहोस पनि हुन्छन् । बेहोस भएकाहरुलाई गीत र मादलको तालले ब्युँझाउने गरिन्छ ।

बसन्त पञ्चमीबाट शुरु भएको घाँटु नाच बैशाख पुर्णिमापछिको पञ्चमीमा समापन गरिने प्रचलन गुरुङ बस्तीमा छ । सती र बाह्रमासे गरी घाँटु नाँच दुई प्रकारको हुन्छ । सतिघाँटु श्रीपञ्चमीमा शुरु भई बैशाख पूणिमामा अन्त्य गरिन्छ भने बाह्रमासे घाँटु जुनसुकै समयमा पनि नाच्ने र गाउने गरिन्छ । यी दुवै थरीको आकर्षण भनेको कुसुन्डा घाँटु हो ।

कुसुन्डा विनाको घाँटु नै हुँदैन । नाचमा कम्तिमा दुई र बढीमा तीन जना किशोरीहरु सहभागी हुन्छन् । शीरमा लाहाको मुकुट, गुन्यु र चोली लगाएर नाच्ने दुई घाँटुसरी एउटालाई राजा र अर्कोलाई रानीको प्रतिकको रुपमा लिने गरिन्छ ।

गुरुङ समुदायमा प्रचलित घाँटु नाँच राजा परशुराम र रानी यम्फावतीको कथामा आधारित छ । राजा रानीको विवाह, उनीहरुको प्रेम कहानी, शिकार खेल्न गएको प्रसंग, विभिन्न राज्यसंगको लडाइँ, राज्यको रक्षाका लागि राजाले दिएको बलीदानी र रानी सती गएको प्रसंग घाँटुको कथा सारांश हो । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाईमा परेको घाँटु नाँच लोप हुने अवस्थामा छ ।

घाँटु शुरु हुनुपूर्व देवता बोलाइन्छ । देवता चढेपछि घाटुसरीहरु बेहोसमै नाच्ने गर्छन् । यही अवस्थालाई कुुसुण्डा भनिन्छ । मादलको ताल र गुरुहरुले गाउने गीतको आधारमा घाटुसरीहरु नाच्ने गर्छन् । मादलको ताल बिग्रियो वा गीतमा कुनै टुक्का छुटेमा घाटुसरीहरु बेहोस हुने जनविश्वास छ ।

घाँटु नाच्नेहरु रजश्वला भएका, अपाङ्गता तथा अशक्त हुनु हुँदैन भन्ने मान्यता पनि छ । विशेष गरेर घाँटुु नाच पश्चिमाञ्चलको लमजुङ, गोरखा, तनहँ, कास्की, स्याङ्जाका गुरुङ गाउँहरुमा बढी प्रचलित छ ।