३९ वर्ष उमेरमा जसले जन्माइन् ३८ सन्तान

३९ वर्ष उमेरमा जसले जन्माइन् ३८ सन्तान


३९ वर्षीया महिला ३८ सन्तानकी आमा बनेकी कुरा पत्याउन गाह्रै पर्छ । तर, युगान्डाकी एक महिलाले यो अपत्यारिलो कुरालाई यथार्थमा रूपान्तरण गरिदिएकी छिन् । उनको नाम मरियम नवातान्जी हो जसको विवाह बाह्र वर्षकै उमेरमा भएको थियो ।

विवाह भएको वर्षदिनमै उनले जुम्ल्याहा सन्तानलाई जन्म दिइन् । त्यसपछि गर्भनिरोधको उपाय अपनाउन चिकित्सककहाँ पुग्दा उनको अण्डाशय असामान्य आकारको रहेको र गर्भनिरोधक औषधि उनको निम्ति अत्यन्त हानिकारक हुन सक्ने चिकित्सकीय सुझाव प्राप्त भयो । त्यसपछि उनले गर्भनिरोधको सोच सदाका निम्ति त्यागिदिइन् । फलतः ३९ वर्षकै उमेरमा ३८ सन्तान जन्माउन विवश भइन् ।

मरियमले पाँचपटक चार–चारवटा र चारपटक तीन–तीनवटा सन्तानलाई जन्म दिएकी थिइन् भने ६ पटकचाहिँ एक–एकवटा बच्चा जन्मिएका थिए । अझ रोचक त के छ भने उनको एक गर्भमा ६ सन्तान हुर्किंदै थिए, तीमध्ये एकको गर्भमै मृत्यु भयो । त्यसरी एउटाको पेटमै मृत्यु भएपछि त्यसको असरबाट अन्य पाँच पनि जीवित रहन सकेनन् । अन्यथा यतिबेला उनी चवालीस सन्तानकी आमाको रूपमा चिनिने थिइन् ।

हाल उनी हेयरड्रेसिङ र कवाडी सामानको व्यापार गरेर परिवारको डुङ्गा पार लगाइरहेकी छिन् । उनको जेठो सन्तान २३ वर्षको भइसकेको छ । राजधानी कम्पालाबाट ५१ किलोमिटर उत्तरमा रहेको एक गाउँमा गुजारा गर्दै आएकी मरियमलाई सबै सन्तान आ–आफ्नै बलबुतामा खडा भएको हेर्ने ठूलो रहर छ ।