नेपालीमाथि मडारिँदै छ निरङ्कुशताको बादल

नेपालीमाथि मडारिँदै छ निरङ्कुशताको बादल


  • इन्द्रबहादुर बराल

इतिहासको विभिन्न कालखण्ड पार गर्दै नेपाली अहिले नागरिकको हैसियतमा देखिएका छन् । नेपालको प्रथम जनक्रान्ति २००७ सालभन्दा पहिले नेपाली ‘रैती’ थिए । उनीहरू एकप्रकारले बिर्तावालको नोकरजस्तै थिए, जस्तो २०५८ सालभन्दा पहिला पश्चिम तराईमा कमैया प्रथा । कमैयाहरूलाई कमैया प्रथा उन्मूलन नगर्दासम्म सामान्य जनताको हैसियत पनि थिएन, उनीहरू केवल रैतीकै अवस्थामा थिए । रैती भनेका त्यस्ता मानिस हुन् जसको न सम्पत्तिमाथिको स्वामित्व हुन्छ न अन्य मौलिक अधिकारको उपभोग नै पाउँछन् ।

यसर्थ रैतीबाट मालिक बनाउन एक मात्र उद्देश्यले नेपाली काङ्ग्रेसले जहानियाँ राणाशासनविरुद्धको आन्दोलन गऱ्यो । राणाशासनविरुद्धको जनक्रान्तिले जब आफ्नो सफलता प्राप्त गऱ्यो, तब मात्र नेपालीले स्वतन्त्रताको सास फेर्ने मौका पाए । त्यसैले नेपालको जनक्रान्ति २००७ सालको विशेष महत्व छ ।

त्यसपछि पनि धेरै उतारचढाव आए । नेपाली जनता रैतीबाट नागरिक बन्ने अभियान तीव्रतर रूपमा अघि बढिरहेको अवस्थामा राजा महेन्द्रले ०१७ सालको घटना घटाइदिए । संविधानभन्दा माथि राजा भएकाले पहिलो जनक्रान्तिदेखि जनआन्दोलन २०४६ सम्मको अवधिभर नेपालीका दिन ‘प्रजा’कै रूपमा बित्यो ।

दोस्रो जनआन्दोलन २०४६ ले नेपाली प्रजाबाट जनता बन्न पुगे । प्रजा र जनता सामान्यतया उस्तैउस्तै लागे पनि विशेष भिन्नता पाइन्छ । प्रजा अवैधानिक राजतन्त्रमा भनिन्थ्यो भने संवैधानिक राजतन्त्रमा एक कदम परिस्कृत रूप जनता हो । प्रजातन्त्रको पुनर्स्थापनापश्चात् राजाप्रजा नभनी राजा र जनता भन्ने प्रचलन आयो । यस प्रचलनले नेपालीको हैसियत अलि बढेको ठानियो । तर, नेपालीलाई रैती र प्रजाको दृष्टिले हेर्नेहरूले जनता बनेको देखिसकेनन् र शाही घोषणामार्फत निरङ्कुशता लाद्ने काम भयो । जेनतेन जनतासम्म बनेका नेपालीलाई पुनः रैती र प्रजाको अवस्थामा फर्काउने कोशिस गरियो । राजा ज्ञानेन्द्रको अदूरदर्शी कदमले अन्ततः लगभग २४० वर्ष लामो राजतन्त्रीय व्यवस्थाको समापन गरायो ।

नेपालमा नेपालीको चेतनाको स्तर तीव्र गतिमा अघि बढेको छ । यो चेतनाको गतिलाई रोक्न खोज्ने जो-कोही पनि बढारिने निश्चित छ । वर्तमान सरकार पनि असीमित अधिकारको दम्भमा अन्धो बन्दै गरेको अनुभव नेपालीले गरिरहेका छन् । जनआन्दोलन २०६२/०६३ ले स्थापित गरेको राजनीतिक पद्धति र त्यही पद्धतिमार्फत जारी संविधानले अब कसैले आफूलाई राजा–महाराजा बनेको सपना नदेखे हुन्छ ।

हालै राष्ट्रपतिको भ्रमणले नागरिकको स्वतन्त्रपूर्वक आवतजावत गर्ने अधिकारमाथि भएको अवरोध र त्यस्तो अवरोधको अवज्ञाले स्वयम् राष्ट्रप्रमुखको कद छोट्याएको अनुभूति गरिएको छ । राष्ट्रप्रमुखको कद घट्नु किमार्थ खुसीको कुरा होइन । तसर्थ राष्ट्रप्रमुख बाहिर घुमफिर वा कुनै औपचारिक कार्यक्रम निस्कँदा सुरक्षा–प्रबन्ध चुस्तदुरुस्त हुन जरुरी हुन्छ, तर समयको ख्याल नगर्दा १० मिनेटमा सकिने सवारीलाई घन्टौँ लाग्दा नागरिकलाई पर्न जाने असुविधाप्रति राज्य जवाफदेही हुने कि नहुने ?

अर्को कुरा, जनताका प्रतिनिधिहरू जनतासँगै यतिविधि किन त्रसित हुन्छन् भन्ने प्रश्न पनि अनुत्तरित नै छ । जनताका प्रतिनिधि आफैँ जनतासँगको सम्बन्धमा टाढिन खोज्नु पद्धतिको दोष होइन, व्यक्तिभित्रको कमजोरी हो । सरकार जनतासँग किन तर्सिन्छ भने जब उसले जनतासँग गरेका वाचा–कवुल पूरा गर्दैन । बाहिरी मुखले जेसुकै भने पनि अर्थात् ढाँटे पनि सारमा आफैँलाई ढाँट्न सक्दैन । त्यसैले जनतासँग तर्सिराख्छन् । तर्सने अवस्थाबाट पार पाउन कि त बल प्रयोग गर्छन् कि त भ्रमपूर्ण प्रचारको अलाप–विलापमा लाग्छन् ।

प्रथम जनक्रान्ति २००७ भन्दा पहिलेको अवस्था अत्यन्तै जर्जर र बर्बर थियो । राणाहरूको मुखमै कानुन थियो ता कि उनीहरूसँग किन भन्ने हैसियत कुनै नेपालीले राख्दैनथ्यो । त्यसैले उनीहरू अर्थात् सार्वसाधारण नेपाली रैती थिए । त्यसैले २००७ सालभन्दा पहिलेको कालखण्ड साँच्चैको काल थियो । र, त्यो रैतीकालबाट नेपाली काङ्ग्रेसले नेपालीलाई प्रथम क्रान्ति २००७ सालमार्फत प्रजाको हैसियत कायम गरायो । नेपाली रैतीबाट प्रजा बने २००७ सालको सफल जनक्रान्तिबाट ।

प्रजा भनेका त्यस्ता मानिस हुन् जसले राजनीतिक स्वतन्त्रता र सामाजिक न्यायको पक्षमा सङ्गठित आवाज मुखरित गर्ने अधिकार राख्दैनन् । २००७ को क्रान्तिपछि ०४६ को सफल जनआन्दोलनसम्म नेपाली प्रजा नै रहे । नेपालको संविधान, २०४७ जारीपछि मात्र नेपाली जनताको हैसियतमा एक खुड्किलो पार गरे भने विधिवत् रूपमा २०६५ साल जेठ १५ गते मात्र नेपालीले नागरिक बन्ने अवसर प्राप्त गरे । किनभने नेपालको राजतन्त्रको निरन्तरतामा २०६५ सालमा जेठ १५ गते मात्रै क्रमभङ्गता आएको हो । यसरी हेर्दा हामी नेपाली रैती, प्रजा, जनता हुँदै नागरिक बने पनि अझै पनि ढुक्क हुने अवस्था देखिँदैन ।

वर्तमान सत्तासीनहरूको नियत हेर्दा नागरिकका अधिकारहरूमाथि अनेक बहनाबाजी गर्दै कुण्ठित गर्ने सङ्केतहरू देखिँदै छन्, सामाजिक सञ्जाललाई मर्यादित बनाउने भन्दै । तर अब हामी रैती, प्रजा र जनता हुँदै नागरिक बनिसकेका छौँ । यसमा कहीँकतैबाट बाधा–व्यवधान नआओस्, खबरदारी रहिरहोस् ।