पूर्वी भारतमा सामुद्रिक आँधी सक्रिय

पूर्वी भारतमा सामुद्रिक आँधी सक्रिय


‘फानी’ नाम दिइएको शक्तिशाली समुद्री आँधी शुक्रबार बिहान भारतको पूर्वी तटवर्ती राज्य उडिसा प्रवेश गरेको छ । बंगालको खाडीबाट शुरु भएको समुद्री आँधी झन्डै १८० किलोमिटर प्रतिघन्टाको वेगले अघि बढिरहेको छ । आँधीको प्रभावले त्यहाँ बिहानदेखि नै वर्षा हुन थालेको छ ।

भारतको मौसम विभागका अनुसार फानी बिहान आठ बजे तटीय इलाकामा आइपुगेको थियो । यो उत्तर दिशातिर अघि बढ्ने र छ घन्टापछि शक्ति केही क्षीण हुँदा बलियो हावाहुरीको रूप लिन सक्ने मौसम विभाले जनाएको छ । भारतको पूर्वी तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी आउने आशंकामा त्यस क्षेत्रका करिब आठ लाख मानिसलाई बिहीबार नै सुरक्षित स्थलतर्फ सारिएको थियो । लाखौँ व्यक्तिलाई पश्चिम बंगाल राज्यबाट सुरक्षित स्थानमा सर्नका लागि भनिएको छ ।

उडिसामा सन् १९९९ मा आएको सामुद्रिक आँधीका कराण करिब १० हजार जनाको मृत्यु भएको थियो । त्यतिखेर करिब १० लाख व्यक्ति आँधी प्रभावित क्षेत्रबाट विस्थापित भएका थिए । नेपालको मौसम पूर्वानुमान महाशाखाले सो समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बंगलादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने बताएको छ ।

उडिसामा करिब एक हजार विद्यालय र सरकारी भवनमा १० लाखभन्दा बढी व्यक्तिलाई शरण दिइएको छ । छिमेकमा पर्ने राज्य आन्ध्र प्रदेश र तामिलनाडुलाई पनि यस आँधीले प्रभावित पार्न सक्ने अनुमान गरिएको छ । त्यसैले ती क्षेत्रमा उच्च सतर्कता राखिएको छ । भारतको पूर्वी र दक्षिणपूर्वी क्षेत्रमा अप्रिलबाट डिसेम्बरसम्म प्रायः आँधीले सताउने गर्दछ ।

सन् २०१७ मा तामिलनाडु र केरला राज्यमा आएको सामुद्रिक आँधी ओक्खीले करिब २५० जनाको ज्यान लिएको थियो । त्यस्तै ६ सय व्यक्ति बेपत्ता भएका थिए । गत अक्टोबरमा पनि सामुद्रिक आँधी टिल्लीका कारण उडिसा राज्यबाट करिब तीन लाख व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको थियो ।