सगरमाथा आरोही प्रथम ओमानीको निधन

सगरमाथा आरोही प्रथम ओमानीको निधन


  • आरके श्रीवास्तव, ओमान

विश्वको सर्वाेच्च शिखर सागरमाथाको सफल आरोहण गर्ने पहिलो ओमानी पर्वतारोही खालिद अल सियावीको निधन भएको छ । करिब ४६ वर्षका सियावीको हृदयाघातका कारण गत आइतबार (२८ अप्रिल) असामयिक निधन भएको ओमानी सञ्चारमाध्यमले जनाएका छन् ।

ओमानी नागरिकका तर्फबाट पहिलोपटक सन् २०१० मे २३ का दिन विश्वकै अग्लो शिखर माउन्ट एभरेस्ट आरोहण गर्न सियावी सफल भएका थिए । अरब देशबाट पहिलोपटक २००९ मा ७,१६१ मिटर अग्लो शिखर माउन्ट पुमोरी आरोहण गरेको रेकर्ड पनि उनकै नाममा रहेको बताइएको छ ।

आईटी एक्सपर्ट समेत रहेका सियावी ओमान आईटीएमा जनरल म्यानेजरको रुपमा काम गर्दै आएका टाइम्स अफ ओमानले जनाएको छ ।

आरोही सियावीको अल्पायुमै निधनका कारण ओमान–नेपाल पर्यटन क्षेत्रमा अपुरणीय क्षति पुगेको ओमानस्थित नेपाली राजदूतावास (मस्कट)ले जनाएको छ ।

दूतावासले एक ‘समवेदना सन्देश’मार्फत पर्वतारोही सियावीको निधनले दूतावास परिवारलाई स्तब्ध तुल्याएको भन्दै यस दुःखद घडीमा दिवंगत आत्माको चीरशान्तिको कामनाका साथ शोक संतप्त परिवारमा संमवेदना प्रकट गरेको छ ।