जेठ तेस्रो सातासम्ममा तातोपानी नाका खुलाउने प्रयास

जेठ तेस्रो सातासम्ममा तातोपानी नाका खुलाउने प्रयास


चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन तीव्र गतिमा काम भइरहेको छ । विसं २०७२ को भूकम्पपछि बन्द रहेको नाका आगामी जेठ तेस्रो सातासम्ममा खुलाउने कार्यक्रमअनुसार अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सडक तथा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिएका हुन् ।

बाह्रबिसे नगरपालिकाअन्तर्गत गातीको बसेरीदेखि सीमा पुलसम्मको सडक चिनियाँ पक्षले मर्मत सम्पन्न गरिसकेको छ । सीमा पुलको काम आउँदो एक महीनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ चौबिसैँ घण्टा मजदूर खटिएर काम भइरहेको उनले बताए ।

बन्द नाकासँगै लार्चामा निर्मित सुख्खा बन्दरगाह चाहिँ बुधबार (१८ वैशाख) नै हस्तान्तरण गरिने भनिए पनि काममा ढिलाइ भएकाले एक महिना पछि सरेको छ ।

तातोपानी नाका खुलाउन प्रधानमन्त्रीको निर्देशनअनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सांसद अग्नी सापकोटा, घनश्याम भुसाल, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायतको टोलीले गत चैत २६ गते स्थलगत निरीक्षण गरी चाँडै काम सकाउन सम्बन्धित सचिवलाई निर्देशन दिएका थिए । त्यसयता सडक तथा पुल निर्माण कार्यमा तीव्रता ल्याइएको बताइएको छ ।

गत वर्षको बर्खामा बाढीले बगाएको बाह्रबिसेको खुर्सानीबारीस्थित साँदी खोलाको पक्की पुलको ठाउँमा आगामी सातामा बेलिब्रिज जडान गरिने भएको छ । पक्की पुल निर्माणका लागि आवश्यक बजेट माग गरिए पनि अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा बजेट निकासा नदिएकाले विकल्पको रुपमा बेलिब्रिज राख्नुपरेको सडक डिभिजन कार्यालय दोलखाका इञ्जिनीयर प्रदीप निरौलाले जनाएका छन् ।

यस्तै, लार्चामा निर्माण भएको अत्याधुनिक सुख्खा बन्दरगाहको छिटफुटबाहेक सबै काम सम्पन्न भइसके पनि बाह्रबिसेदेखि बसेरी सडकमा पर्ने जग्गा दुई किलोमिटर भाग मात्र ग्राभेल गरिएको छ । तोकिएको समय (जेठ तेस्रो साता)सम्ममा काम सम्पन्न गरी नाका खुल्नेमा स्थानीयवासीले भने अझै आशंका प्रकट गर्दै आएका छन् ।