प्रचण्डका आठ सकारात्मक पक्ष

प्रचण्डका आठ सकारात्मक पक्ष


  • देवप्रकाश त्रिपाठी

नेपाली राजनीतिका सबैभन्दा विवादास्पद पात्र मानिने प्रचण्डका बारेमा धेरै लेखियो, अब उनका नाममा अर्को कुनै लेख लेख्ने चाहना नभए पनि कतिपय पाठकको आग्रहका कारण उनकैबारेमा केही शब्दहरू खर्च गर्नुपरेको छ । प्रचण्ड नेपाली राजनीतिका सकारात्मक पात्र होइनन् भनियो भने प्रचण्डका अविचलित समर्थकबाहेक सबैलाई जायज लाग्न सक्छ । तर, उनका समर्थकहरू नकारात्मक सुन्न खोज्दैनन्, कसैले प्रचण्डका बारेमा नकारात्मक टिप्पणी गरेछन् भने उनीहरू टिप्पणीकर्तालाई प्रतिगामी, प्रतिक्रियावादी र यथास्थितिवादीजस्ता विशेषण लगाइहाल्छन् । यीबाहेक अर्को त्यस्ता पक्ष पनि देखियो जो प्रचण्डको सकारात्मक पाटोबारे जानकारी पाउन चाहन्छन् । हो, यस्तै सोच राख्नेमध्येका केही पाठकहरूले प्रचण्डको सकारात्मक पक्ष उजागर गरिदिन पटकपटक आग्रह भएकोले सोहीबमोजिमको आलेख तयार गर्ने प्रयास यहाँ भएको छ ।

०५२ देखि ०६२ सम्मको हिंसात्मक सङ्घर्ष, त्यसपछिका शान्तिप्रक्रियालाई पूर्णता दिने नाममा बर्बाद भएको अर्को दश वर्ष (२०७२ सम्म) र त्यसपछि संविधान कार्यान्वयनका नाममा खर्च भएको समय तथा यस अवधिमा सामाजिक एवम् राष्ट्रिय एकता र सद्भाव बिथोल्न भएका प्रयासहरूलाई समेत योगमा स्मरण गरियो भने प्रचण्डका सकारात्मक पक्षबारे लेख्न कलम आफैँ नसर्न सक्छ । वैयक्तिक महत्वाकाङ्क्षा पूरा गर्न देशलाई दाउमा राखेको र मुलुकलाई पचासौँ वर्ष पछाडि धकेलिन बाध्यात्मक अवस्था पैदा गराएको स्मरण गरिँदा प्रचण्डको सकारात्मक पाटो नदेखिन सक्छ । उल्लिखित घटना, विषय र सन्दर्भलाई विस्मृतिमा राखेर वर्तमानमा हामीलाई उपलब्ध नेताहरूसँग तुलना गरेर हेर्दा भने प्रचण्डमा आठवटा त्यस्ता विशिष्ट गुण देखिन्छन्, जसलाई सकारात्मक मान्नुपर्ने हुन्छ ।

(क) गतिशीलता

प्रचण्ड मार्क्सवादीभन्दा बढी लेनिनवादी हुन् र लेनिनवादी तथा माओवादीहरू सत्ता प्राप्तिलाई सर्वाधिक उच्च महत्व दिने गर्दछन् । चालबाजी (ट्याक्टिस) मा अब्बल हुनु लेनिनवादीहरूको विशिष्ट गुण हो । सत्ता प्राप्तिलाई केन्द्र भागमा राख्ने या चालबाज बन्ने कुरालाई समाजले सकारात्मक रूपमा ग्रहण गर्दैन । तर, प्रचण्डमा स्मरणयोग्य गतिशीलता देखिन्छ । आफ्नो दीर्घकालिक रणनीतिक चालसमेत राम्रैसँग छोपिने गरी गतिशील व्यवहार प्रस्तुत गर्न सक्ने क्षमता प्रचण्डमा छ । माओवादी विचार समूहको मुख्य नेता रहेकै बेला २०४८ सालमा सम्पन्न संसदीय निर्वाचनमा (जनमोर्चाको नाममा) सहभागिता जनाउनु, चुनावी बाटोबाट सत्ताको शिखरमा पुग्ने सम्भावना नदेखिएपछि हिंसात्मक सङ्घर्षमा जानु र हिंसात्मक सङ्घर्षलाई सुरक्षित ढङ्गले आफूअनुकूल अवतरण गराउन सक्नुले प्रचण्डको गतिशीलता उजागर गरेको छ । सामान्यतया माओवादी कम्युनिस्टहरू जडसूत्रवादी हुन्छन्, तर प्रचण्ड क्रान्तिकारी आवरणमै बसेर जो कसैसँग सम्झौता या सङ्घर्ष गर्ने क्षमता राख्छन् । सिद्धान्त र दर्शनको फेर समातेर झुन्डिरहने नेतामा प्रचण्ड पर्दैनन् । कुन बत्ती बाल्न कहाँको स्विच थिच्नुपर्छ भन्ने राम्रो ज्ञान भएका नेतामा यिनी पर्दछन् ।

(ख) समय र पात्रको उपयोग गर्ने क्षमता

समय, परिस्थिति र पात्रलाई बुझ्न सक्ने क्षमताका दृष्टिले प्रचण्ड अग्रपङ्क्तिमा पर्छन् । परिस्थिति कसरी अघि बढ्दै छ र तात्कालिक परिस्थितिमा कुन पात्रलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने कुराको हेक्का प्रचण्ड राम्रैसँग राख्न सक्छन् । हिंसात्मक युद्ध कालमा दरबार, काङ्ग्रेसका नेता र भारतीय बुद्धिजीवी तथा सत्तासीनहरूलाई समेत आवश्यकताअनुरूप उपयोग गर्ने क्षमता प्रचण्डले दर्शाएका हुन् । ०७० सालको संविधानसभा निर्वाचनपश्चात् खस्किएको साख माथि उठाउन प्रचण्डले जे–जस्ता चाल चले त्यसबाट पात्र, परिस्थिति र समय बुझेर उपयोग गर्न सक्ने उनको क्षमता उजागर भएको छ ।

केपी ओली नेतृत्वको सरकार छोडेर शेरबहादुर देउवासँग गठबन्धन बनाउनु, देउवाको बुइचढेर आफू प्रधानमन्त्री बन्नु, स्थानीय निर्वाचनमा देउवालाई माओवादीको चुनाव प्रचारमा खटाउनु, संसदीय निर्वाचनको ठीक अगाडि देउवालाई छोडेर तात्कालिक एमालेसँग पार्टी एकीकरण गर्ने गरी चुनावी गठबन्धन बनाउनु र विसर्जनको दिशामा दौडिएको पार्टीलाई काङ्ग्रेसभन्दा ठूलो बनाएर संसदमा उभ्याउन सक्नु सामान्य क्षमताका मानिसको निम्ति असम्भव कुरा हुन् । पात्र, परिस्थिति र समयलाई बुझेर निश्चित परिणामका निम्ति उपयोग गर्न सक्ने अद्वितीय क्षमताको पुष्टि प्रचण्डबाट पटकपटक हुँदै आएको छ ।

कुनै खास प्रयोजनका निम्ति कुनै साधारण व्यक्तिको उपयोगिता देखियो भने ती मानिसकहाँ पुग्न प्रचण्ड हिचकिचाउँदैनन् । अन्य नेताहरू आफ्नो भाउ आफैँ तोकेर गजधम्म बसिरहन्छन् । ‘बरु काम नबनोस् फलानालाई चाहिँ भनिँदैन’ भन्ने अड्डी लिएर बस्ने चरित्र अन्य सबै नेपाली नेताहरूमा भेटिन्छ, प्रचण्डमा यसप्रकारको निरर्थक अड्डी भेटिँदैन ।

(ग) निर्णय लिने क्षमता

कुशल राजनीतिकर्मीमा निर्णय लिन सक्ने क्षमता अपरिहार्य मानिन्छ, जुन प्रचण्डमा अलिक बढी नै देखिन्छ । ०५२ सालमा हिंसात्मक सङ्घर्षमा जाने निर्णय, तात्कालिक राजदरबारसँग कुनै न कुनै प्रकारले संवाद र सम्पर्कमा रहने नीति, राजा वीरेन्द्रको वंशनाशपछि भारतका तत्कालीन प्रधानमन्त्री अटलबिहारी वाजपायीसमक्ष एकप्रकारले आत्मसमर्पण गर्ने कदम, भारतीय भूमिमा बाह्रबुँदे सम्झौता गरी सिंहदरबारसम्मको यात्रा तय गर्नेदेखि प्रधानसेनापति पदबाट रुक्माङ्गद कटवाललाई हटाउनेसम्मका निर्णयले प्रचण्डको निर्णय लिन सक्ने क्षमता दर्शाउँछ । कुनै पनि निर्णय लिन धेरै लामो समय र परामर्श नलिने तथा लिएको निर्णयको जिम्मेवारीबाट पन्छिन नखोज्ने विशेषता प्रचण्डमा रहेको देखिन्छ ।

प्रचण्डले उठाएको जोखिमका अनेकौँ दृष्टान्त छन् । समकालीन राजनीतिकर्मीहरूमा उच्चस्तरको जोखिम मोल्न सक्ने नेतामा प्रचण्ड एक्ला देखिएका छन् ।

(घ) जोखिम लिन सक्ने क्षमता

प्रचण्डको राजनीतिक जीवन जोखिम नै जोखिमहरूको पुलिन्दा हो भनियो भने सायद गलत हुनेछैन । पञ्चायतकालमा माओवादी विचार समूहको अगुवाइ गर्नु जति जोखिमपूर्ण थियो, त्योभन्दा ठूलो जोखिम उनले हिंसात्मक सङ्घर्ष शुरु गरेर मोलेका हुन् । सशस्त्र सङ्घर्षकै बीच सरकार र दरबारसँग वार्ता गर्न टोली खटाउनु तथा दिल्ली सम्झौता (वि.संं २००७) लाई धोखा मान्ने राजनीतिक विचारबाट निर्देशित प्रचण्ड आफैँ नयाँदिल्लीमा अर्को सम्झौता गर्न तयार हुनु सामान्य जोखिमयुक्त कदम थिएन । केपी नेतृत्वको सरकारलाई छोडेर (२०७३) शेरबहादुर देउवासँग गठबन्धन गर्ने प्रचण्डको निर्णय पनि वास्तवमा वैचारिक तथा राजनीतिक दृष्टिले समेत जोखिमयुक्त थियो । प्रचण्डले उठाएको जोखिमका यस्ता अनेकौँ दृष्टान्त छन् । समकालीन राजनीतिकर्मीहरूमा उच्चस्तरको जोखिम मोल्न सक्ने नेतामा प्रचण्ड एक्ला देखिएका छन् ।

(ङ) उदारता

अभिव्यक्ति र विचारमा जतिसुकै क्रान्तिकारिता झल्किए पनि व्यवहारमा प्रचण्ड उदार छन् । आफ्नो खास निजी अभीष्टका विषयबाहेक बाँकी सबै कुरामा उनको व्यवहार उदारतापूर्ण देखिन्छ । साझेदारी, सहयात्रा र सहकार्यका निम्ति जुनसुकै बेला जोकसैसँग प्रचण्ड तयार हुन सक्छन् । व्यक्तिको पृष्ठभूमि, राजनीतिक आस्था र विचारसँग उनी अधिक असहमति राख्दैनन् । महत्वपूर्ण राजनीतिक नियुक्तिमा समेत प्रचण्डले व्यक्तिको पृष्ठभूमि र आस्थासँग सरोकार नराखेको अनेकौँ दृष्टान्त छन् ।

नेकपाभित्रको एमाले कित्ता कसैलाई कुनै अवसर या जिम्मेवारी दिनुपऱ्यो भने सम्बन्धित व्यक्तिको तीनपुस्ते अध्ययन गरेर मात्र निर्णयमा पुग्ने गर्दछ । आफ्नो ‘बिरादरी’का व्यक्ति होइनन् भने पनि राजनीतिक प्रतिबद्धता लिएर मात्र अवसर दिने परम्परा ‘एमाले’ नेतृत्वले बसाएको छ । नियुक्तिसहित अन्य कैयन विषयमा पनि पार्टीसमर्थकबाहेकलाई मौका नदिने संस्कृति नै ‘एमाले’ले बनाइसकेको छ र पार्टी एकीकरणपछि पनि यही सूत्र लागू हुने गरेको छ ।

ठूला अवसरको चर्चा नगरी मसिना विषयतिर आँखा लगाउँदा पनि ‘एमाले संस्कृति’ यत्रतत्र प्रकट भएको पाइन्छ । कुनै क्षेत्रमा खास योगदान पुऱ्याएकाहरूलाई मान, पदवी र पुरस्कार दिनुपऱ्यो भने पनि ‘एमाले’ समर्थकबाहेक अरूलाई उसले देख्दैन । तर, प्रचण्ड अपवाद छन्, शङ्का हुँदाहुँदै पनि एकपटक विश्वास गरेर हेर्ने सोच उनमा झल्कन्छ र पार्टीभन्दा बाहिर पनि जगत् छ भन्ने दृष्टिकोण र भावना प्रचण्डमा रहेको महसुस धेरैले गर्ने गरेका छन् । यसप्रकार अनेकौँ निर्णयमा उदारता प्रतीत हुने व्यवहार प्रचण्डबाट प्रकट हुँदै आएको छ ।

खुला राजनीतिमा आइसकेपछि आरोह-अवरोहको स्थितिबाट गुज्रिएको माओवादी ‘अब सकियो’ भन्ने धेरैलाई पटक–पटक लागेको हो । तर, हरेक प्रतिकूलता र असफलतालाई अनुकूलता र सफलतामा रूपान्तरण गर्न प्रचण्डको रणनीतिक चातुर्यले निर्णायक भूमिका निर्वाह गर्दै आएको छ ।

(च) कुशल रणनीतिकार

मुलुकमा प्रजातन्त्र स्थापना भएर आर्थिक विकासले उत्साहजनक गति लिँदै गरेको र जनताले स्वतन्त्रताको आनन्द अनुभूत गरेको सात वर्ष पनि बित्दानबित्दै मुलुकलाई अर्कै कोर्सतर्फ लैजानु सामान्य मानिसको बुताको विषय थिएन । माओवादीको हिंसात्मक सङ्घर्ष बीचमै तुहिने विश्वास हरकोहीमा थियो, यसस्तरको सफलता उनीहरूलाई प्राप्त हुने विश्वास माओवादीभन्दा बाहिरको संसारलाई किञ्चित थिएन । त्यसो त माओवादी सङ्घर्षमा सामेल भएकाहरूमा समेत सफलताको आशा पूर्ण रूपले थियो भन्न सकिँदैन । प्रचण्डको रणनीतिक कौशल नै माओवादी सङ्घर्ष सफलताको कडी बनेको भन्न पर्याप्त आधार छन् । खुला राजनीतिमा आइसकेपछि आरोह र अवरोहको स्थितिबाट गुज्रिएको ‘माओवादी अब सकियो’ भन्ने हामीमध्येका धेरैलाई पटक–पटक लागेको हो । तर, हरेक प्रतिकूलता र असफलतालाई अनुकूलता र सफलतामा रूपान्तरण गर्न प्रचण्डको रणनीतिक चातुर्यले निर्णायक भूमिका निर्वाह गर्दै आएको छ ।

(छ) मिलनसारिता

दश वर्षसम्म मुलुकमा हिंसा र आतङ्कको स्थिति पैदा गर्ने, कैयन अमानवीय तथा अशोभनीय घटनाको पक्षपोषण गर्ने समूहका मुख्य नेता प्रचण्ड नै हुन् भन्ने महसुस उनीसँग भेटेर कुराकानी गर्नेहरूमा हुँदैन । मित्रवत् प्रस्तुति र सहजै घुलमिल हुने शैलीले प्रचण्डको पृष्ठभूमिलाई पुष्टि गर्न खोज्दैन । बरु यति साधारण र सहज व्यक्तिले त्यसप्रकारको हिंसात्मक गतिविधिको नेतृत्व कसरी गर्न सके होलान् भन्ने प्रश्न उनीसँग भेट गर्नेहरूको मनमा उत्पन्न हुने गर्दछ । जोकसैलाई मित्रताको आभास दिलाउने क्षमता प्रचण्डमा छ ।

पार्टीका सहकर्मीदेखि पार्टीइतर राजनीतिक या अराजनीतिक व्यक्तिहरूसँग आवश्यकताअनुरूप मित्रवत् सम्बन्ध बनाउने क्षमता प्रचण्डले दर्शाउँदै आएका छन् । उनको मिलनसारिताले कहिलेकाहीँ उनीसम्बद्ध पार्टीभित्रको विवाद र तनाव शिथिलीकरणमा सहयोग पुऱ्याएको देखिन्छ भने राजनीतिक दलहरूबीच उत्पन्न तनावको समयमा प्रचण्डको मित्रवत् व्यवहार नै औषधि बन्ने गरेको पनि पाइन्छ । हृदयमा जे भए पनि बोली र व्यवहारले आफूसमक्ष आइपुगेका कसैलाई पनि नचिढ्याउने र मित्रताको आभास दिलाउने कार्य प्रचण्डबाट भइरहेको हुन्छ । त्यसैले उनीसँग भेटवार्ता गर्ने अधिकांश व्यक्ति प्रसन्न भएर फर्किएका हुन्छन् । जो-कोहीसँग मिलनसार व्यवहार गर्न सक्ने अर्का कुनै समकालीन नेता छैनन् भन्न नमिल्ला, तर प्रचण्डबराबर मिलनसार कमै मात्र रहेको महसुस भने धेरैले गरेको हुनुपर्छ ।

(ज) लचकता र कठोरता

प्रचण्डको अर्को विशिष्ट गुण भनेको आवश्यकताअनुसार कठोर बन्न र त्यसैगरी लचकता दर्शाउन सक्नु हो । आफ्नो सामर्थ्य, शक्ति, समय–परिस्थिति र मुद्दाको महत्व हेरेर हदैसम्म लचकता दर्शाउन सक्ने र कठोर बन्नुपऱ्यो भने निकै निर्मम महसुस हुने गरी कठोर ढङ्गले प्रस्तुत हुन सक्ने क्षमता प्रचण्डमा छ ।

मंगोलियाका चङ्गेज खाँ कर्म र व्यवहारका कारण आफ्नै मुलुकमा हजार वर्षसम्म घृणाका पात्र बने पनि अन्ततः राष्ट्र एकीकरणमा पुऱ्याएको योगदानलाई स्मरण गर्दै मंगोलियाले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । बाँकी जीवनमा राष्ट्रहितमा कुनै ठोस कमद चाल्न सके भने प्रचण्ड इतिहास स्मरणीय बन्न असम्भव छैन ।

युद्धकालमा समय र आवश्यकताले माग गर्दा आफ्नै सहकर्मी डा. बाबुराम भट्टराईलाई कारबाही गरी बन्दी बनाउने कार्य पनि प्रचण्डबाट भयो र, परिस्थिति तथा आवश्यकता बदलिँदा तिनै बाबुरामसँग एउटै रङका पोसाकमा सजिएर हिँड्न पनि उनी हिचकिचाएनन् । कुनै मुलुकविशेषसँग सुरुङयुद्ध लड्न तयार हुने र भिन्न परिस्थितिमा ‘स्वामीभक्त’झैँ प्रस्तुत हुन सक्ने क्षमता पनि प्रचण्डमा देखिएको हो । यसप्रकारको शैली, स्वभाव र चरित्रलाई ‘अस्थिर’ पनि भन्न सकिएला, तर प्रचण्ड जे गर्छन् जानाजान गर्छन् । उनको लचकता पनि रणनीतिक हुन्छ र कठोरता पनि । दुवै भूमिकाबाट उनले खोज्नेचाहिँ आफूले चाहेजस्तो परिणाम हो ।

प्रचण्ड व्यक्तिगत रूपमा विशिष्ट र क्षमतावान् छन् भन्न पर्याप्त आधारहरू छन् । अन्यमा नभेटिने विशिष्ट राजनीतिक क्षमता प्रचण्डमा भएको महसुस उनलाई जान्ने–बुझ्ने हरेकले गरेका छन् । तर, दुःखका साथ यो पनि बुझ्नुपर्छ कि अहिलेसम्म प्रचण्डको क्षमता केवल उनको हितका निम्ति मात्र उपयोग/प्रयोग भइरहेको छ । उनले आफ्नो विशिष्ट क्षमतालाई देशका निम्ति प्रयोग गर्न सकेको ठानिँदैन । प्रचण्डले आफूमा निहित विशिष्ट क्षमतालाई देशको हितमा केन्द्रीकृत गर्न सके भने उनीबाट विगतमा भएका पापकर्मलाई पनि आममानिसले क्रमशः भुल्दै जाने आशा गर्न सकिन्छ । मंगोलियाका चङ्गेज खाँ कर्म र व्यवहारका कारण आफ्नै मुलुकमा हजार वर्षसम्म घृणाका पात्र बने पनि अन्ततः राष्ट्र एकीकरणमा पुऱ्याएको योगदानलाई स्मरण गर्दै मंगोलियाले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । बाँकी जीवनमा राष्ट्रहितमा कुनै ठोस कमद चाल्न सके भने प्रचण्ड इतिहास स्मरणीय बन्न असम्भव छैन ।

राष्ट्रिय एकता, सामाजिक सद्भाव र समृद्धिका निम्ति सनातन वैदिक हिन्दूराष्ट्र, एकीकृत सार्वभौमिकता तथा गैरजातीय आरक्षणका पक्षमा उभिन सके भने देशमा एकता र सद्भावको वातावरण बन्ने र त्यसले राष्ट्रिय समृद्धिको ढोका खोल्ने विश्वास गर्न सकिन्छ । होइन भने ‘केटाकेटी आए गुलेली खेलाए, चराचुरुङ्गीको हत्या गरे र अलप भए’ भन्ने तहमा मात्र उनलाई इतिहासले बुझ्नेमा शङ्का गर्नुपर्दैन । विगतको भूल सुधार गर्ने हिम्मत दर्शाए भने प्रचण्ड साँचो अर्थका देशभक्त भएको पनि कालान्तरमा सिद्ध हुनेछ ।